close

अश्नीर ग्रोभरको नयाँ फिनटेक कम्पनी ‘जेरो पे’, औषधोपचारका लागि ५ लाखसम्म ऋण दिने

टेकपाना टेकपाना

बैशाख २, २०८१ १३:४७

अश्नीर ग्रोभरको नयाँ फिनटेक कम्पनी ‘जेरो पे’, औषधोपचारका लागि ५ लाखसम्म ऋण दिने

काठमाडौं । भारतपेका सहसंस्थापक एवं पूर्व शार्क ट्याङ्क इन्डिया अश्निर ग्रोबरले नयाँ स्टार्टअप सुरु गरेका छन् । सर्वसाधारणलाई ‘स्वास्थ्य कर्जा’ उपलब्ध गराउने उद्देश्यले ग्रोभरले फिनटेक स्टार्टअप ‘जेरोपे’ सुरु गरेका हुन् ।

इन्डियन स्टार्टअप न्युजका अनुसार अहिले जेरोपे परीक्षणकाे चरणमा छ । ग्रोभरले भारतपेमा आफ्नो कार्यकालपछि सुरु गरेको ‘थर्ड युनिकर्न’ अन्तर्गत नयाँ स्टार्टअप सुरु गरेका हुन् ।

भारतपेबाट बाहिरिएपछि अश्निर, उनकी श्रीमती माधुरी जैन ग्रोभर र उद्यमी असीम घव्रीले जनवरी २०२३ मा थर्ड युनिकर्न स्थापना गरेका थिए । सबैभन्दा पहिले यस भेन्चरले फ्यान्टासी गेमिङ प्लेटफर्म ‘क्रिक पे’ सञ्चालन गरेको थियो ।

विशेषगरी भारतीय बजारमा दबदबा भएको ड्रिम ११, मोबाइल प्रिमियर लिग जस्ता प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न सञ्चालन गरेका थिए । अहिलेसम्म थर्ड युनिकर्नले ३५ लाख डलर फन्ड सङ्कलन गरेको छ ।

जेरोपेको मुख्य उद्देश्य भनेको औषधी-उपचारका लागि आवश्यक पर्ने रकम तत्कालै उपलब्ध गराउनु हो । यसका लागि कम्पनीले सुरुमै पाँच लाख ऋण उपलब्ध गराउने बताइएको छ ।

कम्पनीले यसका लागि एनबीएफसी मुकुट फिनभेस्टसँग सहकार्य गरेको छ । र, यो सेवा जेरोपेले सहकार्य गरेको अस्पतालमा पाइन्छ । भारतमा खासगरी स्वास्थ्य क्षेत्रमा केन्द्रित प्लेटफर्मको प्रचुर सम्भावना छ । सन् २०३० सम्म यसको बजार ३७ अर्ब बराबरको हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८१ १४:२३