close

मेटाको एआईले देला त च्याटजीपीटीलाई टक्कर ?

टेकपाना टेकपाना

बैशाख ९, २०८१ १६:४५

मेटाको एआईले देला त च्याटजीपीटीलाई टक्कर ?

काठमाडौं । मेटाले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ संस्करण सार्वजनिक गरेको छ । कम्पनीका मालिक मार्क जुकरबर्गले हालै याे टुल सार्वजनिक भएको घोषणा गरेका हुन् । 

मेटाले यो टुल आफ्नो चर्चित सामाजिक सञ्जाल तथा मेसेजिङ प्लेटफर्ममा उपलब्ध गराउने छ । कम्पनीले केही समयअघि नै घोषणा गरेको एआईलाई १५ अप्रिलदेखि एपमा इन्टिग्रेट गर्न सुरु गरिएको थियो । बिहीबारदेखि भने कम्पनीले एपबाटै उपलब्ध गराउन थालेको छ । 

मार्क जुकरबर्गका अनुसार यी प्लेटफर्ममा उपलब्ध हुने एआई एललामा थ्री (Llama 3) माेडेलद्वारा सञ्चालित छ । यसलाई कम्पनीले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली एआई टुलका रूपमा चर्चा गरेको छ । यो एआई टुल सामाजिक सञ्जालमा मात्र नभई मेटाको स्मार्ट ग्लासमा समेत प्रयोग गर्न पाइनेछ । 

के हो मेटा एआई ?

मेटा एआई च्याटजीपीटीको प्रतिद्वन्द्वी टुल हो । प्रयोगकर्ताले यस टुललाई प्रश्न गर्न, तस्वीर तयार पार्न र त्यस्तै अन्य कामका लागि प्रयोग गर्न सक्नेछन् । अबको नयाँ अपडेटसँगै यो टुल निःशुल्क प्रयोग गर्न सकिने अहिलेसम्मकै शक्तिशाली एआई टुल हुने जुकरबर्गको दाबी छ । 

मेटाले एआई प्रयोग गर्नकै लागि नयाँ वेबसाइट पनि सार्वजनिक गरेको छ । तर, अहिलेलाई सो वेबसाइट नेपालमा चल्दैन । त्यसबाहेक मेसेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकमा भने छिट्टै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । 

मेटाका विभिन्न प्लेटफर्ममा मेटा एआई

जुकरबर्गका अनुसार अब मेटाका विभिन्न सामाजिक सञ्जाल तथा मेसेजिङ एपमा मेटा एआई समावेश हुँदैछ । मेसेन्जर, फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपका केही प्रयोगकर्तामाझ यो फिचर उपलब्ध भइसकेको छ । जसरी मेसेजिङ एपबाट कुनै व्यक्तिसँग च्याट गरिन्छ, त्यसरी नै मेटा एआईसँग कुरा गर्न सकिने बताइएको छ । 

मेटा एआईले सटीकताका साथ तपाईंको जवाफ दिनसक्ने कम्पनीले जनाएको छ । उक्त टुलले गुगल र बिङबाट रियल टाइम इन्फरमेसन प्रयोग गरी प्रयोगकर्तालाई जवाफ दिने जुकरबर्गको भनाइ छ ।

विशेषगरी यो टुल फेसबुक तथा इन्स्टाग्राम पोस्टका लागि आवश्यक पर्ने क्याप्सन तयार पार्न, उपयुक्त ह्याशट्याग खोज्न प्रयोग गर्न सकिन्छ । खासगरी तपाईंका अडियन्स कस्तो सामग्री रुचाउँछन् भन्ने मूल्याङ्कन गरी त्यही अनुसारको पोस्ट तयार पार्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८१ १६:४५