close

सेना र प्रहरीमा जागिर मिलाइदिने भन्दै फेसबुकमा नग्न फोटो मागेर ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

बैशाख १०, २०८१ १४:५४

साङ्केतिक तस्वीर साङ्केतिक तस्वीर

काठमाडौं । रोजगारीको प्रलोभन देखाई फेसबुकबाट अश्लील फोटो मागेर त्यसैको आडमा ब्ल्याकमेल गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली घर भइ काठमाडौं बस्दै आएका ३६ वर्षीय कमलप्रसाद अधिकारी छन् । 

साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले शनिबार आरोपित अधिकारीलाई काठमाडौंबाट पक्राउ गरेको हो । साइबर ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिपकराज अवस्थीका अनुसार आरोपित अधिकारीले ‘पाथीभरा माता’ नामको फेसबुक पेज सञ्चालन गरेका थिए । सोही पेजबाट उनी नेपाली सेना र नेपाल प्रहरीमा जागिर खुलेको भन्दै पोस्ट राख्थे । 

“पोस्ट राखेपछि सम्पर्कमा आएकाहरूको स्वास्थ्य परीक्षण गर्ने भन्दै अश्लील फोटो पठाउन लगाउने रहेछन्,” टेकपानासँग कुरा गर्दै प्रहरी उपरीक्षक अवस्थीले भने, “रोजगारको प्रलोभनमा परेर सोझा युवा युवतीहरूले फोटो तथा भिडिओ पठाउने रहेछन् । त्यही फोटो र भिडिओको आडमा पछि झनै अश्लील हर्कत गरेका भिडिओ पठाउ भन्दै ब्ल्याकमेल गर्ने रहेछन् ।”

अश्लील गतिविधि गरेको फोटो र भिडिओ नपठाए पहिले पठाएका फोटो भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै दुःख दिएको भन्ने उजुरी परेपछि ब्युरोको टोलीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट आरोपित अधिकारी पक्राउ परेको अवस्थीले सुनाए । प्रारम्भिक अनुसन्धानका क्रममा अधिकारीले महिलालाई लक्षित गरी ब्ल्याकमेल गर्ने गरेको देखिएको छ । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८१ १४:५५