close

चर्को गर्मीबाट ट्राफिक प्रहरीलाई बचाउन भारतमा एसीयुक्त हेल्मेटको प्रयोग

टेकपाना टेकपाना

बैशाख १०, २०८१ १७:१६

चर्को गर्मीबाट ट्राफिक प्रहरीलाई बचाउन भारतमा एसीयुक्त हेल्मेटको प्रयोग

काठमाडौं । अत्यधिक गर्मीबाट ट्राफिक प्रहरीलाई बचाउन भारतमा एयर कन्डिसन्ड (एसी) युक्त हेल्मेट प्रयोगमा ल्याइएको छ । भारतको गुजरातमा बडोदरा (Vadodara) ट्राफिक प्रहरीका लागि एसी भएको हेल्मेट प्रयोगमा ल्याइएको हो ।

अहिले गुजरातमा दिनको समयमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । त्यस्तोमा सडकबीचमा बसेर ट्राफिक प्रहरीलाई काम गर्न निकै सास्ती हुने गर्छ । यही कुराको समाधान गर्न इन्डिया इन्स्टिच्युट म्यानेजमेन्ट (आईआईएम) का विद्यार्थीहरूले एसी हेल्मेट बनाएका हुन् । 

एसी सहितको उक्त हेल्मेटलाई सामान्य हेलमेटको रुपमा टाउकोमा सजिलै प्रयोग गर्न सकिन्छ । ब्याट्रीबाट चल्ने यो हेलमेट एक पटकको चार्जमा लगातार आठ घण्टासम्म चलाउन सकिने उल्लेख गरिएको छ । ५०० ग्राम तौल रहेको हेल्मेटले शरीरको तापक्रमलाई १५ डिग्री सेल्सियससम्म चिस्याउन सक्ने छ । हेल्मेट एसीको फिचर बाहेक कडा प्लास्टिकबाट बनाइएको चस्मा पनि सँगै जोडेर राखिएको छ । यसले कडा प्रकाशबाट ‍प्रहरीलाई बचाउने अपेक्षा गरिएको छ ।

भारतीय प्रहरीका अनुसार अहिले एसीयुक्त हेल्मेटको प्रयोग परीक्षण कालमा छ । यदि यसले सकारात्मक नजिता दिए आगामी दिनमा यसलाई पूर्ण रुपमा प्रयोगमा ल्याइने छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८१ १७:१६