close

एलन मस्कको नाममा नक्कली ‘रोमान्स स्क्याम’, एक युवतीको डुब्यो झन्डै ६६ लाख रुपैयाँ

टेकपाना टेकपाना

बैशाख १७, २०८१ १५:१३

एलन मस्कको नाममा नक्कली ‘रोमान्स स्क्याम’, एक युवतीको डुब्यो झन्डै ६६ लाख रुपैयाँ

काठमाडौं । नक्कली एलन मस्कको फन्दामा पर्दा दक्षिण कोरियाकी एक महिलाले लाखौं रकम गुमाएकी छन् । अर्बपति उद्यमी मस्कको अनुहार र हाउभाउ प्रयोग गरी बनाइएको डिपफेक भिडिओका कारण ती महिलाले सात करोड वन अर्थात् करिब ६६ लाख नेपाली रुपैयाँ गुमाएकी हुन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार जेओङ जि सन नामकी महिलासँग एक व्यक्ति आफूलाई एलन मस्क भन्दै इन्स्टाग्राममा जोडिएका थिए । ती महिला पनि आफ्नो सपना पूरा भएको भन्दै उक्त अकाउन्टमा कुरा गर्न थालिन् ।

“मलाई त त्यो सबै सपना जस्तै लागेको थियो,” स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै ती महिलाले भनिन्, “१७ जुलाई २०२२ मा मस्कले मलाई साथीका रूपमा इन्स्टाग्राममा जोडेका थिए । उनको बायोग्राफी पढेर म ठूलो फ्यान भएकी थिएँ ।”

उनले अगाडि भनिन्, “ त्यतिबेला मलाई सुरुमा शंका लागेकै हो । त्यो अकाउन्टबाट उनले आईडी कार्ड र काम गर्ने ठाउँको विवरण पठाएपछि ढुक्क भएँ । आफ्ना बालबच्चाबारे कुरा गर्थे । टेस्ला वा स्पेसएक्समा काम गर्न पनि हेलिकोप्टरमा जान्छु भन्थे । एउटा कुनै फ्यानसँग उनी जोडिन चाहेको र त्यही क्रममा मलाई फेला पारेको उनले बताएका थिए ।”

कुराकानीकै क्रममा सो अकाउन्टबाट मस्कको भेटघाट दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलसँग अप्रिल २०२३ मा हुने भनिएको थियो । मस्कले कोरियामा टेस्लाको गिगाफ्याक्ट्री सञ्चालन गर्न लागेकाे समेत ती महिलाको भनाइ छ । 

ती महिलालाई एलन मस्कले यसरी बोल्छन् भन्ने लागेकै थिएन । त्यसैले पनि उक्त अकाउन्ट मस्ककाे हाेइन कि भनेर शंका गरिरहन्थिन् । तर, एक दिन भिडिओ कल नै गरेपछि उनी सो अकाउन्ट मस्ककै हो भन्नेमा विश्वस्त भइन् । “भिडिओ कलमा उनले मलाई ‘आई लभ यू’ पनि भनेका थिए,” ती महिलाले भनिन् ।

एलन मस्कबाटै प्रस्ताव आएपछि उनी दङ्ग थिइन् । मस्कको नक्कली अकाउन्ट बनाउने व्यक्तिले आफूले ती महिलाको रकम राम्रो ठाउँमा लगानी गरिदिने र त्यसबाट छोटो समयमा राम्रो प्रतिफल पाउने प्रलोभन देखाएका थिए । 

​ती व्यक्तिले पठाएको कोरियाली बैंक अकाउन्टमा महिलाले रकम जम्मा गरिदिइन् । “मैले गर्दा मेरा फ्यानहरू धनी भए भने त्यसमा म खुसी हुन्छ,” मस्कको नक्कली इन्स्टाग्रामबाट भनिएको थियो । त्यसपछि ती महिलाले उक्त अकाउन्टमा सात करोड जति कोरियाली वन पठाइन् । 

तर, पछि उक्त अकाउन्ट नक्कली भएको तथ्य बाहिर आयाे । ती व्यक्तिले मस्कको परिचयको दुरुपयोग गरी वर्षौंदेखि मानिसहरूलाई ठगी गर्ने गरेको खुल्यो । र, ती महिलाले पनि आफू ठगिएको थाहा पाइन् । विशेषगरी यसमा ती युवकले मस्कको डिपफेक भिडिओ बनाउने र त्यसैको आधारमा मानिसहरूलाई ठगी गर्ने गरेको खुलेको छ । 

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८१ १८:३६