close

जब शिक्षकले एआईमार्फत आफ्नै विद्यार्थीको फोटो अश्लील बनाएर फेसबुकमा राखे…

हिक्मत आचार्य हिक्मत आचार्य

असार ४, २०८१ १५:१०

जब शिक्षकले एआईमार्फत आफ्नै विद्यार्थीको फोटो अश्लील बनाएर फेसबुकमा राखे…

काठमाडौं । ५ वैशाख २०८१ मा एक युवतीका अभिभावकले साइबर ब्युरोमा निवेदन दिए । कसैले आफ्नी छोरीको अनुहार अश्लील फोटोमा जोडेर बदनाम गरिरहेको निवेदनमा उल्लेख थियो । निवेदन परेपछि ब्युरोले घटनाको अनुसन्धान थाल्यो । 

अनुसन्धानका क्रममा युवतीको फोटो र अश्लील क्याप्सन फेसबुकमा राख्ने व्यक्ति भक्तपुरका २८ वर्षीय अतुल प्रजापति रहेको खुल्यो । थप अनुसन्धान गर्दा उनी युवतीलाई स्कुलमा विज्ञान पढाउने शिक्षक रहेको तथ्य फेला पर्‍यो । 

प्राविधिक विश्लेषण र अनुसन्धानबाट उनले नै त्यसरी अश्लील फोटो तयार पारेको प्रमाणित भयो । र, ब्युरोबाट खटिएको प्रहरी टोलीले २४ वैशाखमा प्रजापतिलाई पक्राउ गर्‍यो । 

किन राखे शिक्षकले आफ्नै विद्यार्थीको अश्लील फोटो ?

प्रतिवादी अतुल प्रजापति विगत छ वर्षदेखि भक्तपुरको सनसाइन नेसनल स्कुलमा पढाउँदै आएका थिए । ९ कक्षासम्म उनी विद्यार्थीलाई विज्ञान विषय पढाउँदै आएका थिए ।

“विद्यार्थीलाई पढाउनेबाहेक म आफ्नो फुर्सदको समयमा युट्युब, फेसबुक लगायत अन्य इन्टरनेटको माध्यमबाट एआईको बारेमा जानकारी लिन्थें,” प्रहरीलाई बयान दिने क्रममा प्रजापतिले भने, “एआईबाटै मैले साधारण फोटोलाई अन्य तस्वीरहरूसँग जोडी अश्लील तस्वीर समेत बनाउन सकिन्छ भन्ने कुरा सिकें ।”

त्यसपछि उनलाई त्यस्तै फोटो बनाउने उत्सुकता जाग्यो । उनीसँग कैयौं विद्यार्थीका फोटोहरू थिए । विशेषगरी विद्यालयले आयोजना गरेका कार्यक्रमहरूमा उनी विद्यार्थीको फोटो खिच्थे र ती फोटो ल्यापटपमा भण्डारण गरेर राख्थे । 

प्रजापतिले ‘फोटो मर्फ’ अर्थात् अश्लील फोटोमा कुनै अर्को व्यक्तिको अनुहार जोड्ने नियतका लागि आफ्नै पूर्वविद्यार्थीको फोटो दुरुप्रयोग गरे । अर्थात् पीडित युवती त्यस विद्यालयबाट एसईई दिएर छुट्टिएकी थिइन् ।

अश्लील फोटो राख् उनले फेसबुकमा ‘किलम्बु अमृता’ अकाउन्ट र ती विद्यार्थीको नाम राखेर अर्को एउटा नक्कली अकाउन्ट समेत बनाए । 

“मेरो डिभाइसमा सेभ गरी राखेका फोटोहरूलाई एआई लिङ्कमा गएर मर्फ गरी उनको (पीडित युवती) अनुहार देखिने तस्वीरमा एक अपरिचित महिलाको नग्न शरीर जोडेर त्यो फोटो ल्यापटपमा सुरक्षित साथ राखेको थिएँ,” उनले अगाडि भने, “अरू मान्छेले त्यस्तै फोटो अपलोड गरेको देखेपछि मलाई पनि त्यसरी नै ती फोटो अपलोड गर्न उत्सुकता लाग्यो र मैले नक्कली अकाउन्टबाट पोस्ट गरेँ ।”

“...साथै हु वान्ट्स टु फ* हर, आई वान्ट फ* हर, आई वान्ट फ*... हर बु** आर सो पर्फेक्ट । आई वान्न स* देम.. माई डि* गेट्स हार्ड एभ्री टाइम आई सी हर... आई वान्न फ* हर हार्ड’ भनेर क्याप्सन राखेको थिएँ ।”

उनले यसरी आफूले विद्यार्थीको अश्लील फोटो र क्याप्सन राख्नु गल्ती भएको ‍बयान दिएका छन् । साइबर ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार उनले ती पीडित विद्यार्थीबाहेक अन्य विद्यार्थीको पनि त्यस्तै अश्लील फोटो बनाएर ल्यापटपमा राखेका थिए ।

“उमेर र उत्सुकताले गर्दा नै उनले त्यसरी पूर्व विद्यार्थीको फोटो राखेको जस्तो बुझिन्छ,” प्रहरी उपरीक्षक अवस्थीले भने, “अरू ब्ल्याकमेल गर्ने वा केही रिस पोख्ने उद्देश्यले यस्तो गरेको देखिंदैन ।”

फोटो मर्फ गरेर सार्वजनिक गरिदिनुको कारण भने प्रजापतिले उत्सुकता मात्रै भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । 

कसरी पक्राउ परे अतुल प्रजापति ?

निवेदन परेपछि प्रहरीले फेसबुकको मातृ कम्पनी मेटासँग उक्त नक्कली अकाउन्टको आईपी एड्रेस माग्यो । सो आईपी एड्रेसबाट प्रहरीले इन्टरनेट कसको नाममा जडान छ भन्ने पत्ता लगाउन सम्बन्धित इन्टरनेट सेवाप्रदायक कम्पनीलाई पत्राचार गर्‍यो । त्यसपछि इन्टरनेट जसको नाममा छ, ती व्यक्तिलाई सम्पर्क गरेर त्यस्तो गर्ने व्यक्ति अतुल प्रजापति भएको अनुमान लगायो ।

यसपछि प्रजापतिको कोठामा रीतपूर्वक खानतलासी गर्दा फेला परेको ल्यापटपमा उक्त नक्कली अकाउन्ट लगइन भएको देखियो । त्यसबाहेक सो फेसबुक अकाउन्ट खोल्न प्रयोग भएको जिमेल अकाउन्ट पनि लगइन भएको देखिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।

पीडित पक्ष के भन्छ ?

पीडित युवतीका अनुसार ती शिक्षकले आफूसँग भएका बाहेक युवतीले आफ्नो फेसबुकमा राखेका फोटो पनि डाउनलोड गरेर प्रयोग गरेका थिए । त्यसरी अश्लील फोटो बनाएर अश्लील क्याप्सनसहित राखेको देखेपछि त्यस विद्यालयका शिक्षक, आफन्त र साथीभाइले त्यस विषयको जानकारी दिएका थिए । पछि उनले बुबालाई त्यस विषयमा जानकारी दिइन् । र, बुबाले ब्युरोमा उजुरी दिए । 

“अश्लील स्ट्याटस र फोटो पोस्ट गरी मेरो छोरीको सामाजिक सञ्जाल फेसबुकमार्फत चरित्रहत्या गर्ने लगायतको कार्य गरेको हुँदा उक्त अकाउन्टको प्रयोगकर्तालाई पत्ता लगाई कारबाही गरी पाउँ,” पीडित युवतीका बाबुले निवेदनमा उल्लेख गरेका छन् ।

प्रतिवादी प्रजापतिबाट जाहेरीवालाले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ७६ बमोजिम मनासिव क्षतिपूर्ति भराइदिने मागदाबी गरेका छन् । साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम कसूरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराइदिन समेत अनुरोध गरिएको थियो । 

त्यसबाहेक प्रजापतिले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि भएकाले उनलाई सोही दफा ४७ को उपदफा (१) बमोजिम सजाय दिन माग गरिएको छ । 

यही मागदाबी सहित ८ जेठ २०८१ मा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता युवराज शर्माले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेका थिए ।  

अदालतले यसका लागि ९ जेठ २०८१ पूरक पेसी तोकेको थियो । सो पेसीमा बहस गर्दै न्यायाधीश कमला पौडेलको इजलासले मुद्दा 'हेर्दाहेर्दै'मा राखेको थियो । त्यसपछि ११ जेठका लागि अर्को पेसी तोकियो । सो पेसीमा न्यायाधीश कमला पौडेलको इजलासले प्रतिवादी प्रजापतिलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । अहिले चालु अवस्थामा रहेको उक्त मुद्दा फाँट नं. १७ ले हेरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असार ४, २०८१ १६:५०