काठमाडौं । बिहीबार बिहानदेखि नेपाल टेलिकमको वेबसाइट बारम्बार डाउन हुने समस्या देखिएको छ । प्राविधिक समस्या आएकाले वेबसाइटमा त्यस्तो समस्या देखिएको कम्पनीले जनाएको छ ।
टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार अहिले वेबसाइट मर्मत सम्भारको काम भइरहेको छ । एनटीसी डट नेट डट एनपी साइट ब्राउज गर्दा निलो ब्याकग्राउन्डमा पेज मेन्टेनेन्स भइरहेको जानकारी राखिएको छ ।
केही समय साधारण तरिकाले साइट चलेको देख्न सकिन्छ भने केही समयमा पेज मेन्टेनेन्स भइरहेको भन्ने जानकारी देखिन्छ ।
कम्पनीले दिने विभिन्न सेवाको जानकारी, ग्राहक प्रतिनिधिसँग कुरा, इन्टरनेट सेवा सम्बन्धी जानकारी लगायत अन्य सेवाका लागि वेबसाइट प्रयोग हुँदै आएको छ । सिमिलर साइटका अनुसार यो साइट मासिक छ लाख ८० हजार पटक भिजिट हुने गर्छ ।