काठमाडौं । ‘मोबाइल लेजेन्ड विश्वकप’ अर्थात् ‘मोबाइल लेजेन्ड ब्याङ ब्याङ मिड सिजन कप २०२४’ खेल्न नेपाली टिम ‘ट्रेन टु किल’ (टीटूके) साउदी अरेबिया प्रस्थान गरेको छ । करिब ४० करोड रुपैयाँ पुरस्कार राशि भएको यो प्रतियोगिता खेल्न टीटूके बुधवार साउदी अरेबियाको रियाद उडेको हो ।
विश्वकपमा कुल २३ टिम खेल्दैछन् । टीटूकेले वाइल्डकार्ड चरणबाट आफ्नो यात्रा सुरु गर्नेछ । यस चरणमा आठ टिम रहेका छन् । टीटूकेको समूहमा ‘ब्रुट फोर्स’, ‘होमबोइज’ र ‘आईएचसी ई-स्पोर्ट्स’ छन् । यो चरणमा टीटूकेले तीन टिमसँग एक-एक खेल खेल्नेछ ।
त्यस्तै डिसाइडर चरणमा दुई समूहका शीर्ष दुई टिमबीच पाँच खेलसम्म (BO5) खेलाइने र विजेता टिम समूह चरणमा प्रवेश गर्नेछ ।
समूह चरणमा १६ टिमलाई चार समूहमा विभाजन गरी खेल सञ्चालन हुनेछ । जहाँबाट हरेक समूहका शीर्ष दुई टिम गरी कुल आठ टिम प्लेअफमा पुग्नेछन् ।
प्लेअफबाट सबै खेल नकआउट शैलीमा हुनेछन् । प्लेअफमा एक टिमले अर्को एक प्रतिद्वन्द्वी टिमसँग खेल्नेछ । हार्ने टिम प्रतियोगिताबाट बाहिरिने छ ।
प्लेअफका चारै समूह विजेता सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलका विजेता दुई टिमबीच फाइनल खेल हुनेछ ।
सेमिफाइनलका खेलहरू बेस्ट अफ फाइभ (BO5) हुनेछन् भने फाइनल खेल बेस्ट अफ सेभेन (BO7) हुनेछ । मतलब सेमिफाइनलमा एक टिमले प्रतिद्वन्द्वी टिमसँग कुल पाँच खेलसम्म खेल्न पाउनेछ भने फाइनलमा सात खेलसम्म खेल्न पाउनेछ । जसमध्ये जुन टिमले धेरै खेल जित्छ त्यही टिम विजेता हुनेछ ।
यो प्रतियोगिताको विजेताले १० लाख अमेरिकी डलर (करिब १३ करोड ३८ लाख रुपैयाँ) जित्नेछ भने दोस्रो हुने टिमले पाँच लाख डलर (करिब छ करोड ६९ लाख रुपैयाँ) र तेस्रो हुने टिमले दुई लाख डलर (करिब दुई करोड ६७ लाख ६० हजार रुपैयाँ) हात पार्नेछ । त्यस्तै विश्वकप खेल्ने हरेक टिमले ३६ हजार डलर (करिब ४८ लाख १७ हजार रुपैयाँ ) हात पार्नेछन् ।