काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२ को फाइनल चरणको खेलमा डीआरएस गेमिङले दोस्रो चिकेन डिनर प्राप्त गर्न सफल भएको छ ।
शुक्रबार देखि सुरु भएको खेलमा डीआरएसले १० औँ खेलमा दोस्रो चिकेन डिनर पाएको हो । यसअघि डीआरएस गेमिङले पहिलो गेममा नै चिकेन डिनर निकाल्दै उत्कृष्ट सुरुवात गरेको थियो ।
डीआरएस गेमिङ अहिले सम्मको १० खेलबाट ४४ एलिमिनेसन पोइन्ट सहित अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको ब्राजिलको पब्जी टिम इन्को गेमिङले १० खेलबाट दुई चिकेन डिनर र ४३ एलिमिनेसन पोइन्ट सहित कुल ११० पोइन्ट बटुलेको छ ।
अर्को नेपाली टिम ट्रेन टु किल(टीटूके) भने १० खेल सकिदा सम्म सातौँ स्थानमा रहेको छ । टीटूकेले ३६ एलिमिनेसन पोइन्ट सहित कूल ८१ पोइन्ट ल्याएको छ, तर यो टिमले चिकेन डिनर भने गर्न सकेको छैन ।
यो प्रतियोगितामा कूल १८ खेल हुँदैछ । जसमा अन्तिम तथा निर्णायक दिनको छ खेल आइतबार हुनेछ ।