काठमाडौं । शुक्रबार बिहानदेखि सामाजिक सञ्जालमा मुग्लिनको पहिरो भन्दै एउटा फोटो निकै भाइरल भइरहेको छ । अनेकौं फेसबुक पेज र एक्स ह्यान्डलमा उक्त फोटो मुग्लिनको भन्दै फैलाइएको छ ।
शुक्रबार बिहान तीन बजे नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गएको लेदोसहितको पहिरोले दुई ओटा गाडी बगाएको थियो । सोही विषयको समाचार तथा सामाजिक सञ्जाल पोस्ट गर्ने क्रममा गलत फोटो प्रयोग भएको हो ।
भाइरल भएको सो फोटोमा हरियाली डाँडामा ठूलो पहिरो गएको देख्न सकिन्छ । घुम्तीमा पहिरो जाँदा यात्रा पूर्ण रूपमा अवरुद्ध देखिन्छ । केही यात्रुहरू पहिरो गइरहेको ठाउँतिरै गइरहेका देखिन्छन् ।
गुगलमा ‘पहिरो’ सर्च गरी पछिल्लो २४ घण्टामा प्रकाशित भएका समाचार हेर्दा उक्त फोटो सुरुमा रातोपाटी डटकमको वेबसाइटमा प्रकाशित भएको देखिन्छ । ‘मुग्लिङ पहिरो अपडेट : कालीखोलाको पहिरोमा अड्किए गोताखोर, ६५ यात्रु बेपत्ता’ शीर्षकको समाचारमा सो फोटो प्रयोग गरिएको छ । तर, समाचार हेर्दा भित्र भने अहिले परिवर्तन गरेर अर्कै फोटो राखिएको देख्न सकिन्छ । यही समाचारको शीर्षक फेसबुकमा सर्च गर्ने हो भने रातोपाटीले फोटो डिबग गरिसकेको छ ।
केही फेसबुक पेज र अकाउन्टले पनि रातोपाटीले नै प्रयोग गरेको सो फोटो राखेको देखिन्छ ।
के हो फोटोको वास्तविकता ?
रातोपाटी लगायत अन्य केही फेसबुक अकाउन्ट र पेजले मुग्लिनको भन्दै राखेको फोटो रिभर्स इमेज सर्च गरी हेर्दा गुगल, बिङ र यानडेक्समा यो फोटो बढी नै प्रयोग भएको देखिन्छ । वास्तवमा यो फोटो दुई वर्षअघि अर्थात् ५ डिसेम्बर २०२२ मा कोलम्बियाको एक राजमार्ग अन्तर्गतको पहिरोको हो । त्यो, पुएब्लो रिको जिल्लाको रिसाराल्डा सहरमा पर्ने राजमार्गको हो । तत्कालीन सो पहिरोमा परी ३४ जनाले ज्यान गुमाएको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले छापेका थिए ।
यी सबै पक्ष विश्लेषण गर्दा सामाजिक सञ्जालमा मुग्लिनमा गएको पहिरो भन्दै भाइरल भएको उक्त फोटो झुटो रहेको पाइएको हो ।