close

सोचे जस्तो वाई-फाई चल्दैन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

साउन २३, २०८१ ९:५१

सोचे जस्तो वाई-फाई चल्दैन ? यसो गर्नुहोस्

काठमाडौं । चाहे अनलाइनबाट फिल्म हेर्दा होस् वा अनलाइन गेम खेल्दा हामी सबैलाई उच्च गतिको इन्टरनेट चाहिन्छ । केही गरी इन्टरनेट सुस्त भए पुरै काममा अवरोध पुग्छ । तर, कतिपय अवस्थामा राम्रो तथा गुणस्तरीय इन्टरनेट नहुनुमा तपाईं नै जिम्मेवार हुन सक्नुहुन्छ । आज हामी वाई-फाईको गुणस्तर कसरी सुधार गर्ने भन्नेबारे चर्चा गर्ने छौं:

-राउटर सार्ने 

राउटरलाई लुकाएर राख्दा वाई-फाईको गतिमा पनि प्रभाव पार्छ । जस्तो कुनामा राख्ने, सामान मुनि राख्ने अथवा ड्रअर भित्र राख्दा राउटरको सिङ्नलमा अवरोध पुग्छ । फलस्वरुप इन्टरनेट ढिलो हुन जान्छ । यसकारण राउटरलाई अलि फराकिलो क्षेत्रमा राख्नु उत्तम हुन्छ । 

आफ्नो घर अथवा कोठाको बीच भागमा राउटर राख्दा सबै क्षेत्रतिर सिङ्नल पुग्छ । अझ भन्दा तपाईंको कम्प्युटर वा मोबाइल डिभाइसको स्थान अनुसार राउटर राख्नुपर्छ ।

उदाहरणका लागि, ल्यापटप अथवा डेस्कटप जस्तो बढी ब्यान्डविथ खपत गर्ने डिभाइसहरूलाई राउटर नजिकै राख्नुपर्छ । त्यसको तुलनामा स्मार्टफोन जस्ता कम ब्यान्डविथ खपत गर्ने डिभाइसलाई अलि टाढा राख्दा हुन्छ ।

त्यस्तै राउटरलाई छेकिने गरी राख्नुहुन्न । सकभर भित्तामा राख्दा पनि सबैभन्दा माथि अथवा तल राख्नु हुन्न । ठिक्क मध्य भागतिर राख्नु राम्रो हुन्छ । उसैगरी राउटर वरपर इलेक्ट्रोम्याग्नेटिक वेभ प्रयोग गर्ने डिभाइसहरू (बेबी मोनिटर, वायरलेस किबोर्ड, माइक्रोवेभ आदि) पनि राख्नुहुन्न ।

-इथरनेट केबल प्रयोग गर्ने 

वायरलेस कनेक्सनमा समस्या आइरहेको छ भने इथरनेट केबल प्रयोग गर्नु एक विकल्प हो । यो राउटरभन्दा चुस्त र स्थिर हुन्छ । अनि, राउटरलाई जसरी अन्य डिभाइसहरूले कुनै अवरोध पनि गर्दैन ।

यद्यपि यसको नकारात्मक पक्ष भनेको यसलाई निश्चित ठाउँमा मात्र चलाउनुपर्छ । इथरनेट जडान गरिएको डिभाइसहरूलाई एक ठाउँबाट अन्यत्र लैजान सकिँदैन । सामान्यतः राउटरमा इथरनेट पोर्ट हुन्छ । त्यसमा केबल कनेक्ट गरेर इन्टरनेट चलाउन सक्नुहुन्छ । त्यसलाई अलि व्यवस्थित बनाउन तारहरू मिलाएर राख्नुहाेस् । 

-च्यानल अथवा ब्यान्ड परिवर्तन गर्ने

वाई-फाई सिङ्नल च्यानलमा विभाजन गरिएको हुन्छ । तपाईंको डिभाइससँग सञ्चार गर्न राउटरले विशेष प्रकारको च्यानल प्रयोग गर्ने गर्छ । जुन तपाईंको छिमेकी राउटरसँग मिल्न जाँदा अवरोध हुन सक्छ । जसले वाई-फाईको गतिलाई सुस्त बनाउँछ ।

च्यानल परिवर्तन गर्न तपाईंलाई राउटरको सेटिङको पहुँच हुनु पर्छ । यो कुरा राउटरको मोडल अनुसार फरक फरक हुने गर्छ । यसो हुँदा राउटरसँग आउने कागजपत्र अथवा अनलाइनमा हेर्नुहोस् । तपाईंले १, ६ अथवा ११ च्यानल प्रयोग गर्न सक्नुहुन्छ । जुनमा कम अवरोध आउँछ । 

अहिलेका आधुनिक राउटरमा २.४ र ५ गिगाहर्ज गरी दुई ओटा फ्रिक्वेन्सी हुने गर्छ । यदि तपाईंको राउटरको सेटिङमा सपोर्ट हुन्छ भने निश्चित डिभाइसमा एउटा मात्र ब्यान्ड राख्नुहोस् ।

छोटोमा बुझ्दा, ५ गिगाहर्जको गति बढी हुन्छ । तर यसको रेन्ज कम हुन्छ । उसैगरी २.४ गिगाहर्जले ओगट्ने क्षेत्रफल बढी हुन्छ । तर, गति कम । त्यसमाथि कतिपय पुराना मोडेलका डिभाइसहरूले २.४ गिगाहर्जमात्र सपोर्ट गर्छन् । यसो हुँदा राउटरमा यी दुवै ब्यान्ड इनेबल गर्नु राम्रो हुन्छ । 

-राउटर अपग्रेड गर्ने

बजारमा विभिन्न मूल्य र फिचर अनुसारका राउटर पाइन्छन् । यदि घर अथवा कार्यालयमा वाई-फाई सुस्त हुने ठाउँहरू धेरै छन् भने राउटर राखेको स्थान परिवर्तन गर्नुपर्छ ।

अथवा मेस राउटर प्रणाली अपनाउन सक्नुहुन्छ । यसले उही इन्टरनेट प्रणालीलाई घरभर एकनास तरिकाले इन्टरनेट वितरण गर्न भूमिका खेल्छ । सानो क्षेत्रफलमा पनि यही तरिका अपनाउन सकिन्छ । 

-वाई-फाईको भर्सन

कतिपयले वाई-फाई भन्नासाथ एउटै बुझ्छन् । तर, वाई-फाईका पनि विभिन्न भर्सन हुने गर्छन् । जस्तै: वाई-फाई सिक्स, वाई-फाई सिक्स ई ।

हरेक वाई-फाई भर्सनको गति र क्षमता फरक फरक हुने गर्छ । सकेसम्म वाई-फाईको पछिल्लो भर्सन प्रयोग गर्नु राम्रो हुन्छ । तर सो भर्सनको वाई-फाई सपोर्ट गर्ने डिभाइस पनि हुनु पर्छ । 

-वाई-फाई एक्सटेन्डर 

राउटर राखेको स्थान ठीक भएर पनि इन्टरनेट चलिरहेको छैन भने तपाईंले यसको समाधानमा वाई-फाई एक्सटेन्डर प्रयोग गर्न सक्नुहुन्छ । यसले वाई-फाई कनेक्सन अझ फैलाउँछ ।

सामान्यतः यी डिभाइस भित्तामा राखिन्छन् र पहिल्यै भएको वाई-फाईमा कनेक्ट हुन्छ । यसपछि घरभर वाई-फाईको रेन्ज विस्तार गर्न सहयोग गर्छ । विशेषगरी कम ब्यान्डविथ खपत गर्ने डिभाइसका लागि यो एउटा राम्रो विकल्प हन सक्छ ।

-इलेक्ट्रिकल विङ प्रयोग गर्ने

वाई-फाईको रेन्जलाई सुधार गर्ने तपाईंले अन्य विकल्प खोजिरहनु भएको छ भने 'पावर लाइन किट' अथवा इलेक्ट्रकल विङ एउटा राम्रो विकल्प हुन सक्छ । यस प्रकारका डिभाइसले वाई-फाईको रेन्ज बढाउन घरको इलेक्ट्रिकल वाइरिङको सहायता लिने गर्छ ।

यसका लागि तपाईंले कुनै पनि वाल सकेटमा एउटा एडाप्टर प्लगइन गर्नु पर्ने हुन्छ । जसलाई इथरनेटबाट राउटरसँग कनेक्ट गर्नुपर्ने हुन्छ । त्यसपछि अर्को एडाप्टरलाई अर्को कोठाको वाल सकेटमा प्लगइन गर्न सक्नुहुन्छ ।

यसपछि वायर्ड अथवा वायरलेस दुवै तरिकाले त्यस कोठामा वाई-फाई प्रयोग गर्न सक्नुहुन्छ । तर, परम्परागत तरिकाले वायरिङ गरिएको घरमा यस प्रकारको डिभाइसले काम नगर्न सक्छ । 

-सुरक्षित पासवर्ड राख्ने

कमजोर पासवर्ड राख्दा अथवा पासवर्ड नराख्दा तपाईंको वाई-फाईमा अन्य व्यक्तिहरूले कनेक्ट गरेका हुनसक्छन् । त्यसले तपाईंको इन्टरनेटको गति स्वतः: सुस्त बनाउन भूमिका खेल्छ ।

यसकारण सजिलै अन्य व्यक्तिले अनुमान गर्न नसक्ने गरी पासवर्ड राख्नुहोस् । तपाईंले आफ्नो वाई-फाईमा 'एईएस इन्क्रिप्सन' पनि प्रयोग गर्न सक्नुहुन्छ । जुन सुरक्षित हुनुका साथै प्रभावकारी पनि हुन्छ । 

-प्रयोग नभएका डिभाइस डिस्कनेक्ट गर्ने 

सीमित क्षमता भएको वाई-फाईमा धेरै डिभाइस कनेक्ट गर्दा इन्टरनेटको गतिमा सोझै प्रभाव पर्छ । यसो हुँदा प्रयोगमा नहुने अथवा आवश्यक नपर्ने डिभाइसमा वाई-फाई डिस्कनेक्ट गर्नुहोस् ।

अनि सम्भव भए स्थिर कनेक्सन चाहिने डिभाइसहरूमा इथरनेट प्रयोग गर्नुहोस् । यसले तपाईंको इन्टरनेको गति बढाउन भूमिका खेल्छ ।

-राउटर रिस्टार्ट गर्ने

कतिपय अवस्थामा राउटर रिस्टार्ट गर्दा कनेक्सन सम्बन्धी केही समस्या समाधान हुने गर्छ । तर नियमित रूपमा रिस्टार्ट गरिरहनु पर्दैन ।

विशेषगरी ब्यान्डविथ अथवा कनेक्सनमा अवरोध आइरहेको छ भने तपाईंले यसो गर्न सक्नुहुन्छ । तर आजकलका धेरैजसो राउटरले त्यस्तो अवरोध आए स्वतः रिबुट गर्छन् ।

-डिभाइस चेक गर्ने

कम्प्युटर डिभाइसमा समस्या हुँदा पनि इन्टरनेटको गति कम हुन्छ । यदि कम्प्युटरमा धेरै प्रोग्राम खुलेका छन् भने त्यसमा ओभरलोड हुन्छ ।

ती मध्ये कतिपय प्रोग्रामले बढी ब्यान्डविथ खपत गर्छन् । यसले पनि तपाईंको कम्प्युटरमा इन्टरनेटको गतिमा प्रभाव पारिरहेको हुन्छ । यसो हुँदा अनावश्यक अथवा बढी ब्यान्डविथ खपत गर्ने प्रोग्राम बन्द गर्नुहोस् । 

-आईएसपीलाई कल गर्ने 

तपाईँले कुनै न कुनै इन्टरनेट सेवाप्रदायक (आईएसपी)को सेवा लिएर वाई-फाई चलाइरहनु भएको हुन्छ । तर, आफ्नो तर्फबाट जति प्रयास गरे पनि वाई-फाईमा देखिएको समस्या समाधान भएन आईएसपीलाई सम्पर्क गर्नुहोस् । उनीहरूले तपाईंलाई थप सल्लाह सुझाव दिनुका साथै घरमै प्राविधिक पठाउन सक्छन् ।

पछिल्लो अध्यावधिक: साउन २३, २०८१ १०:८