close

स्वास्थ्य र आईटीको मिश्रित कोर्स ‘ब्याचलर्स इन हेल्थ इन्फरम्याटिक्स’, कसले पाउँछन् पढ्न ?

टेकपाना टेकपाना

साउन २६, २०८१ १८:९

स्वास्थ्य र आईटीको मिश्रित कोर्स ‘ब्याचलर्स इन हेल्थ इन्फरम्याटिक्स’, कसले पाउँछन् पढ्न ?

काठमाडौं । नेपालमा उच्च शिक्षाको क्षेत्रमा थप विविधता ल्याउँदै काठमाडौं विश्वविद्यालयले पहिलो पटक स्वास्थ्य सूचना विज्ञान (हेल्थ इन्फरम्याटिक्स) मा स्नातक डिग्री कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।

कार्यक्रमका संयोजक उपप्राध्यापक सन्तोष खनालले स्नातकोत्तर तहमा अध्यापन भइरहेको यो कार्यक्रम स्नातक तहमा पनि सेप्टेम्बर इन्टेकबाट सुरु गर्न लागेको जानकारी दिए । उनका अनुसार यो कार्यक्रममा स्वास्थ्य विज्ञान र सूचना प्रविधिका विषयहरूकाे सम्मिश्रित कोर्स छ । "ब्याचलर्समा पनि हेल्थ इन्फरम्याटिक्स अध्यापन गराउन तयारी भइरहेको छ । अब चाँडै भर्ना खुलाइने छ," उनले टेकपानासँग भने ।

वि.सं. २०७९ मा विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपालमा नै पहिलो पटक यस कोर्स सुरु गरेको थियो । उसैगरी स्नातक तहमा पनि नेपालका लागि यो कोर्स पहिलो हुनेछ ।

काठमाडौं विश्वविद्यालयले आफ्नो कलेज अफ मेडिकल साइन्सेज (COMS), भरतपुर, मणिपाल कलेज अफ मेडिकल साइन्सेज (MCOMS), पोखरा, र चौककोट क्याम्पस गरी तीन स्थानमा यो कार्यक्रम सुरु गर्दैछ । स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ मेडिकल साइन्स, केयूको सहयोगमा उक्त कार्यक्रम चौककोटमा सञ्चालन हुनेछ ।

पाठ्यक्रम स्वास्थ्य सूचना विभाग, इन्जिनियरिङ संकाय, कम्प्युटर विज्ञान इन्जिनियरिङ संकाय तथा चिकित्सा विज्ञान स्कुलका संकायहरूद्वारा कोर्स पढाइनेछ । साथै, कार्यक्रममा नेपालभित्र र विश्वभरका विषय विज्ञहरूको सहभागिता रहने बताइएको छ ।

यो चार वर्षको (आठ-सेमेस्टर) कोर्स हो, जसमा अन्तिम इन्टर्नशिप, क्यापस्टोन प्रोजेक्ट र सेमिनारहरू सहित कुल १२७ क्रेडिटहरू समावेश हुनेछन् । विद्यार्थीहरूले अन्तरक्रियात्मक प्रयोगशाला, डाटाबेस प्रयोगशाला, नेटवर्क ल्याब आदि जस्ता धेरै प्रयोगशाला वातावरणहरू मार्फत व्यावहारिक ज्ञान प्राप्त गर्नेछन् ।​​

प्रत्येक कलेजमा ३० विद्यार्थीले यसमा भर्ना पाउनेछन् ।

स्वास्थ्य र प्रविधिको मिश्रण

स्वास्थ्य सूचना विज्ञान (हेल्थ इन्फरम्याटिक्स) स्वास्थ्य विज्ञान र सूचना तथा सञ्चार प्रविधिहरूको संयोजन हो । यस कार्यक्रमको उद्देश्य स्वास्थ्य डाटा एनालिटिक्सलाई प्रवर्द्धन गर्नु, स्वास्थ्य सूचना प्रणालीको विकास गर्न, र स्वास्थ्य विज्ञानको क्षेत्रमा अनुसन्धान र नवीनतालाई बढावा दिनु रहेको खनालले बताए । यो अध्ययनले स्वास्थ्य सेवा क्षेत्रलाई थप सशक्त बनाउन, रोग निदानमा सुधार ल्याउन र बिरामीहरूको उपचारमा सहजीकरण गर्न मद्दत पुर्‍याउने उनको भनाइ छ । 

भर्ना प्रक्रिया र योग्यताको मापदण्ड

यस कार्यक्रमका लागि +२ विज्ञान वा सो बराबरको ५० प्रतिशत अंक वा समग्रमा सीजीपीए २.० भएका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् । त्यस्तै, इन्जिनियरिङ्, विज्ञान, प्रविधि, स्वास्थ्य विज्ञान (नर्सिङ, स्वास्थ्य सहायक, फार्मेसी, र ल्याब टेक्नोलोजी) मा तीन वर्षे डिप्लोमा गरेका वा ५० प्रतिशत अंक भएका विद्यार्थीहरूले पनि आवेदन दिन सक्नेछन् । 

अध्ययनपछिको अवसर

काठमाडौं विश्वविद्यालयको यो नयाँ कार्यक्रमले नेपालमा स्वास्थ्य सेवा र सूचना प्रविधि क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास गरिएको छ । यसअन्तर्गत अस्पतालहरू, सार्वजनिक स्वास्थ्य संस्थाहरू, स्वास्थ्य आईटी विक्रेता, अनुसन्धान संस्था, बीमा कम्पनी टेलि-स्वास्थ्य प्रदायकहरू लगायतमा रोजगारी पाउन सकिने छ ।

यस कार्यक्रमले विद्यार्थीहरूलाई स्वास्थ्य सेवा डेटा व्यवस्थापन, इलेक्ट्रोनिक स्वास्थ्य रेकर्ड (EHR) प्रणालीहरूको कार्यान्वयन र सूचना सुरक्षामा दक्ष बनाउने खनालको भनाइ छ ।

पछिल्लो अध्यावधिक: साउन २६, २०८१ २१:५२