close

सेरेस मिनि चढ्ने प्रयास राजोपाध्याय भन्छन्- मलाई उपयुक्त ईभी खोज्न ८ महिना लाग्यो

प्रयास राजोपाध्याय प्रयास राजोपाध्याय

भदौ ४, २०८१ १८:५२

सेरेस मिनि चढ्ने प्रयास राजोपाध्याय भन्छन्- मलाई उपयुक्त ईभी खोज्न ८ महिना लाग्यो

सेकेन्ड ह्यान्ड पेट्रोलियम गाडी किन्ने सोचिरहेको थिएँ । पहिले बाइक किन्दा पनि सुरुमा सेकेन्ड ह्यान्ड र पछि मात्र नयाँ किनेका थिएँ । गाडीमा पनि त्यस्तै गर्ने सोच थियो । 

तर साथीहरूले सेकेन्ड ह्यान्ड नकिन्न सुझाव दिएँ । सल्लाह ठीकै पनि लाग्यो । बरु नयाँ नै भए पनि बिजुली गाडी किन्ने योजना बुनेँ ।

त्यसपछि आफ्नो बजेट अनुसार आउने र आफूलाई आवश्यक पर्ने फिचरहरू भएको बिजुली गाडीहरू हेर्न थालेँ । मेरो सोच ह्याचब्याक नै किन्ने थियो । घर वसन्तपुरमा छ । जाने बाटो साँघुरो । अनि अरू गाडी किन्नु राम्रो विकल्प थिएन । 

त्यसबेला मैले टाटाको टियागो र हेन्‍रीको मिनकार हेरेको थिएँ । त्यही समयताका नाडा अटो शो भयो । त्यहाँ मैले अन्य ब्रान्डका साना आकारका गाडीहरू पनि हेरेँ । तर, केही महँगो हुनु, मूल्यको तुलनामा कम फिचर पाइनु आदि कारणले ती गाडी चित्त बुझेन । 

अनि तालिका बनाएर कुन-कुन गाडी छन् ?, कति रेन्ज दिन्छ ?, के के फिचर छन् ?, मूल्य कति पर्छ ?, लगायतका कुराको आधारमा तुलना गरिहेरेँ । त्यसो गर्दा सेरेस मिनी नै मन पर्यो ।

त्यसपछि यो गाडी ठीकै हुन्छ भन्ने कुरामा ढुक्क भएँ । यो निर्णय गर्न मलाई कम्तीमा आठ महिना लागेको थियो ।

तर मैले यो गाडी नै छान्नुका केही आधार पनि बनाएको थिएँ । जस्तो, साँघुरो बाटोमा पनि गाडी छिर्न सक्नु, नयाँ गाडी किन्ने भएपछि बिजुली गाडी नै किन्ने सोच्नु, अनि लामो यात्रामा प्राय: नजाने भएकाले धेरै रेन्ज आवश्यक नपर्नु ।

यसरी गत जनवरीमा मात्रै सेरेस मिनी किनेँ । खासमा यो मेरो पहिलो कार पनि हो । गाडीमा विभिन्न फिचरहरू छन् । ती मध्ये मलाई आकार मन परेको छ । त्यसपछि रेन्जमा पनि मेरो गुनासो छैन । कम्पनीले गाडीमा २२० किलोमिटरको रेन्ज पाइने दाबी गरेको छ । मैले आफैं पनि गाडीमा २०० किलोमिटरमाथि नै रेन्ज पाइरहेको हुन्छु ।

त्यस्तै मैले तिरेको मूल्यमा पाइने अन्य ब्रान्डको बेस भेरियन्टको तुलनामा यस गाडीमा बढी फिचर छन् । उदाहरणका रूपमा, ती गाडीमा नपाइने क्लुज कन्ट्रोल, मल्टिमिडिया, कप होल्डर आदि यसमा छन् ।

अहिलेसम्म यो गाडीबाट करिब ५००० किलोमिटर गुडिसकेको छुँ । यो सिटी कार हो । यसो हुँदा काठमाडौं सहरभित्र मात्र गाडी गुडाएको छु । गाडीलाई मैले २० प्रतिशत भन्दा कम चार्ज हुँदा चलाउदिनँ । 

त्यसमाथि एसी प्राय: अफ नै हुन्छ । यसले गर्दा २०० किलोमिटरमाथिको रेन्ज पाउन भूमिका खेलेको छ । अहिलेसम्म गाडीलाई मैले त्यति टाढा लगेको छैन । सबैभन्दा टाढा लगेको भनेकै धुलिखेलसम्म हो । 

गाडीलाई ३.२ किलोवाटको एसी चार्जरले २० देखि १०० प्रतिशतसम्म चार्ज गर्न करिब पाँच घण्टा लाग्ने गरेको छ । गाडीमा डीसी चार्जिङको सपोर्ट भने छैन । यसमा ७.२ किलोवाटको एसी चार्ज पनि सपोर्ट हुँदैन । 

यो गाडीमा कमीकमजोरी पनि रहेका छन् । जस्तै: गाडीको एसी कुलिङ शक्तिशाली छैन । यसको उच्चतम विन्दुमा चलाए पनि त्यस्तो धेरै चिसो हुँदैन ।

कम्पनीले भने अनुसार यस गाडीमा एन्ड्रोइड अटो र कार प्ले पनि दिइएको छैन । त्यसो हुँदा गीत बजाउन अलि झन्झटिलो प्रक्रिया अपनाउनु पर्छ । 

सानो गाडी भएपनि यसको ढोकाहरू भने ठूला छन् । त्यही भएर सिट बेल्ट लगाउन हातलाई निकै पछाडि लानुपर्छ । त्यस्तो अप्ठ्यारो पनि छैन । तर, सिट बेल्ट अलि नजिक भएको भए सजिलो भने अवश्य थियो । 

त्यस्तै सर्भिसिङको चार्ज लाग्नु, वनर ह्यान्ड बुक नपाउनु, स्पेयर  की नहुनु, सेल्स र सर्भिसिङको कुरा तालमेल नहुनु नकारात्मक पाटो हुन् । यसले अलिकति निराश भने बनाउँछ ।

स्वभाविक रूपमा गाडीको बुट स्पेसमा त्यति धेरै सामान अट्दैनन् । पछाडिको सिट फोल्डेबल भएकाले त्यसमा केही थप सामान राख्न सकिन्छ ।

सुरक्षाका लागि गाडीमा एउटा मात्र एयर ब्याग दिइएको छ । तर पनि गाडीका सेन्सरहरू राम्रो भएकाले त्यस्तो डर छैन ।

गाडीमा टायर मोनिटरिङ सिस्टम छ । तर कुन टायरमा यति हावा छ भन्ने देखाउँदैन । टायरमा हावा कम भए सतर्क गराउँछ । अनि आफैंले प्रत्येक टायर जाँच्नु पर्ने हुन्छ । 

एक पटक कतै गइरहेका बेला गाडीको पछाडिको चक्कालाई किलाले घोचेछ । हावा पूरै निस्केको थियो । स्पेयर टायर यसमा हँदैन । कम्पनीले टायर रिपेयरिङ किट दिएको छैन ।

तर, लिक्विड भर्न एउटा क्यान भने दिएका थिए । त्यसले पङचर भएको चक्कालाई अस्थायी भए पनि काम चलाउ बनाएको थियो ।

गाडीको भित्री भाग सेतो छ । यो कम भएमा पनि केही दाग र फोहोर भने जमेका छन् । यति चाँडो त्यस्तो हुन्छ भनेर मैले सोचेको थिइँन । सर्भिसिङमा गएको बेला पूरै सफा गर्न गराउनु पर्ने हुन्छ ।

यस गाडीमा पक्कै पनि सीमितता छन् । दैनिक सहर चहार्न भने मज्जाले पुग्छ । मैले चलाइरहेको यो टप भेरियियन्ट हो । यसको मूल्य १९ लाख रुपैयाँ परेको थियो । समग्रमा सबै हेरेपछि १० मा आठ रेटिङ दिन सुहाउने कार हो यो । 

(राजोपाध्याय जब डाइनामिक्सका निर्देशक हुन् ।)

पछिल्लो अध्यावधिक: भदौ ४, २०८१ १९:११