close

मेरो निर्वाचन क्षेत्रका विद्यार्थीलाई अनलाइन शिक्षण सेवा उपलब्ध गराएको छुः प्रधानमन्त्री

टेकपाना टेकपाना

भदौ ६, २०८१ १८:२२

मेरो निर्वाचन क्षेत्रका विद्यार्थीलाई अनलाइन शिक्षण सेवा उपलब्ध गराएको छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रका विद्यार्थीहरूलाई अनलाइन शिक्षण सेवा उपलब्ध गराएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा अनलाइन कक्षाको सेवा सञ्चालनमा ल्याएको र त्यसलाई देशैभर विस्तार गर्ने योजना रहेको सुनाए । 

"मेरो निर्वाचन क्षेत्रका विद्यार्थीहरूलाई मैले अनलाइन शिक्षण सेवा उपलब्ध गराएको छु । त्यसकारण त्यो कुरालाई अब म सरकारमा आइसकेपछि देशैभरि फैलाउन सकिने ठान्दछु । देशभरि यसलाई फैलाइने छ," उनले भने ।

पछिल्लो एसईई परीक्षामा ५२ प्रतिशत विद्यार्थी फेल भएको उल्लेख गर्दै उनले यो अवस्था स्वीकार्य नहुने बताए ।

“यो बाध्यता हो, विवशता हो भनेर यत्तिकै बस्न सकिने विषय होइन,” उनले भने, “हामी तुरुन्तै कदम चाल्नेछौं र अर्को वर्ष फेल हुने विद्यार्थीको सङ्ख्या घटाएर ३० प्रतिशतभन्दा कममा झार्ने लक्ष्य राखेका छौं ।”

यसका लागि काठमाडौं र विभिन्न प्रादेशिक केन्द्रहरूबाट अनलाइन शिक्षामार्फत गणित, अङ्ग्रेजी, विज्ञान र सामाजिक अध्ययन विषयहरूमा गुणस्तरीय शिक्षा प्रदान गरिने उनले बताए ।

गुणस्तरीय शिक्षा नपाउँदा विद्यार्थीहरू फेल हुने गरेको भन्दै उनले अनलाइन शिक्षाको माध्यमबाट गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउने योजना अघि सारे ।

पछिल्लो अध्यावधिक: भदौ ६, २०८१ १८:३६