काठमाडौं । डिजिटल वालेट माईपेको सञ्चालक कम्पनी स्मार्ट कार्ड नेपालले महागफाडी नामक रियालिटी शोका आयोजक ढाका टोपी फिल्म्स प्रालिका सञ्चालकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । शुक्रवार एक सूचना प्रकाशित गर्दै कम्पनीले ढाका टोपी फिल्म्स प्रालिका सञ्चालक दीपक बिकलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।
सूचना अनुसार २३ जेठ २०८० मा स्मार्ट कार्ड नेपालले ढाका टोपी फिल्म्ससँग महागफाडी कार्यक्रम गर्ने सम्झौता गरेको थियो । सोही बमोजिम विभिन्न मितिमा अग्रिम रकम पनि प्रदान गरेको स्मार्ट कार्ड नेपालको दाबी छ । तर, सम्झौतामा उल्लिखित दायित्व पूरा नगरी आयोजक पक्ष हालसम्म सम्पर्कमा नआएको सूचनामार्फत गुनासो गरिएको छ ।
ढाका टोपी फिल्म्स प्रालि र दीपक बिकलाई बारम्बार प्रयास गर्दा पनि सम्पर्क हुन नसकेपछि स्मार्ट कार्ड नेपालले सूचना जारी गरेको छ । सूचनामा आयोजक पक्षलाई सात दिनभित्र सम्झौतामा उल्लिखित सम्पूर्ण रकमको हिसाब गर्न र रकम फिर्ता गर्न आग्रह गरिएको छ ।
महागफाडी कार्यक्रमको उद्देश्य बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्न चाहने व्यक्तिहरूलाई एउटा गतिलो प्लेटफर्म उपलब्ध गराउनु थियो । कार्यक्रमका विजेताले नगद १५ लाख र सवारी साधन पुरस्कार पाउने घोषणा गरिएको थियो ।
यस सूचनापछि पनि सम्पर्कमा नआए कानूनी कारवाही अगाडि बढाइने स्मार्ट कार्ड नेपालले चेतावनी दिएको छ ।