close

२४ घण्टामा एक करोड ९७ लाख सब्सक्राइबर पाएर रोनाल्डोले राखे गिनिज बुकमा नाम

टेकपाना टेकपाना

भदौ १२, २०८१ १३:४

२४ घण्टामा एक करोड ९७ लाख सब्सक्राइबर पाएर रोनाल्डोले राखे गिनिज बुकमा नाम

काठमाडौं । २४ घण्टाको अवधिमा सबैभन्दा बढी सब्सक्राइबर पाएपछि स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राखेका छन् । गत साताको मङ्गलवारदेखि युट्युब च्यानल सञ्चालनमा ल्याएका रोनाल्डोले २४ घण्टामा सर्वाधिक सब्सक्राइबर पाउने क्रियटरको रेकर्ड बनाएका हुन् ।

रोनाल्डोले २४ घण्टामा एक करोड ९७ लाख २९ हजार ८२७ सब्सक्राइबर पाएर सो रेकर्ड राखेका हुन् ।

हुन त सब्सक्राइबरका सन्दर्भमा रोनाल्डोले कैयन् रेकर्ड कायम गरिसकेका छन् । तर, गिनिज बुक अफ वर्ल्ड रेकर्डले २४ घण्टामा सबैभन्दा बढी सब्सक्राइबर पाउने युट्युब च्यानलका रूपमा 'यूआर क्रिस्टियानो' लाई मान्यता दिएको हो ।

गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार रोनाल्डोले रेकर्ड राखेको प्रमाणपत्र सार्वजनिक गरेको छ । प्रमाणपत्रमा फुटबल क्षेत्रका सुपरस्टार रोनाल्डो सामाजिक सञ्जालको पनि आइकन बनेको भन्दै प्रशंसा गरिएको छ ।

यो समाचार तयार पार्दासम्म उनको च्यानलमा चार करोड ९९ लाख बढी सब्सक्राइबर पुगिसकेका छन् ।

पोर्चुगलको राष्ट्रिय फुटबल टिम र साउदी अरेबियाको अल नासर फुटबल क्लबका कप्तान रोनाल्डो सामाजिक सञ्जालमा सबैभन्दा बढी फलोअर हुने व्यक्ति हुन् । इन्स्टाग्राममा उनका ६३ करोड ७० लाख फलोअर रहेका छन् । सन् २०२२ मा उनी इन्स्टाग्राममा ५० करोड फलोअर पूरा गर्ने पहिलो व्यक्ति बनेका थिए ।

त्यस्तै फेसबुकमा उनका १७ करोड र एक्समा उनका ११ करोड २० लाख बढी फलोअर रहेका छन् । सबै सामाजिक सञ्जालमा आएका फलोअरको सङ्ख्या जोड्ने हो भने झन्डै एक अर्ब पुग्छ ।

पछिल्लो अध्यावधिक: भदौ १२, २०८१ १४:१३