close

पुराना ट्याब्लेट थन्क्याएर राख्नुभएको छ ? नयाँ जीवन दिएर यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

भदौ १६, २०८१ १४:९

पुराना ट्याब्लेट थन्क्याएर राख्नुभएको छ ? नयाँ जीवन दिएर यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । तपाईंको घरमा पुराना एन्ड्रोइड वा एप्पल ट्याब्लेट थन्किएका छन् ? तिनलाई त्यसै राख्नुको सट्टा फरक तरिकाले प्रयोग गरेर नयाँ जीवन दिन सक्नुहुन्छ । पुराना ट्याब्लेट पनि दिनचर्याका लागि निकै उपयोगी हुन सक्छन् । यहाँ हामी पुराना ट्याब्लेटलाई उपयोग गर्न सकिने पाँच उपयोगी उपाय प्रस्तुत गर्दैछौं:

ईबुक रिडरका रूपमा प्रयोग गर्नु

पुराना ट्याब्लेटलाई नयाँ एपका लागि प्रयोग गर्न गाह्रो भए तापनि ईबुक रिडरका रूपमा प्रयोग गर्न सजिलो छ । यदि तपाईंलाई पुस्तक पढ्न मनपर्छ भने पुरानो ट्याब्लेटमा ईबुक पढ्न सकिन्छ । ट्याब्लेटको ब्याट्री ठीक अवस्थामा भएमा यो विधि लाभदायक हुन सक्छ, र सानो फोनको तुलनामा ठूलो स्क्रिनमा पढ्नुको अनुभव धेरै राम्रो हुन्छ ।

बालबालिकाका लागि उपयोगी

घरमा बालबालिका छन् भने पुराना ट्याब्लेट उनीहरूलाई दिनु एक राम्रो विकल्प हो । नयाँ फोन किन्नुको सट्टा तपाईंको पुरानो ट्याब्लेटलाई युट्युब किड्स, गुगल किड्स स्पेस जस्ता एपसँग चलाउन सकिन्छ । यसरी, ट्याब्लेटलाई बालबालिकामैत्री बनाई सुरक्षित मनोरञ्जन प्रदान गर्न सकिन्छ ।

स्मार्ट स्पिकर वा फोटो फ्रेमका रूपमा प्रयोग गर्नु

पुराना ट्याब्लेटहरूमा गुगल एसिस्टेन्ट वा सिरी भ्वाइस असिस्टेन्ट सपोर्ट हुन्छ । यसलाई स्मार्ट स्पिकर वा डिजिटल फोटो फ्रेमका रूपमा प्रयोग गर्न सकिन्छ । एन्ड्रोइड ट्याब्लेटमा गुगल एसिस्टेन्टको रुटिन फिचर प्रयोग गरेर समाचार बजाउने वा अन्य स्मार्ट डिभाइसहरू कन्ट्रोल गर्न सकिन्छ । डिजिटल फोटो फ्रेमका रूपमा प्रयोग गर्नको लागि फोटो (fotoo) जस्ता एप वा आईक्लाउड/गुगल फोटोज मार्फत स्लाइड शो बनाउन सकिन्छ ।

सेकेन्डरी स्क्रिन बनाउनु

यदि तपाईं मल्टिटास्किङ गर्न चाहनुहुन्छ भने पुरानो ट्याब्लेटलाई आफ्नो ल्यापटप वा कम्प्युटरको सेकेन्डरी स्क्रिनका रूपमा प्रयोग गर्न सक्नुहुन्छ । केही ट्याब्लेटहरूमा यो फिचर बिल्ट-इन हुन्छ भने अन्यमा एयरड्रोइड कास्ट, स्पेस डेस्क वा सुपर डिस्प्ले जस्ता थर्ड पार्टी एपहरू प्रयोग गर्नुपर्छ ।

टूएफए ब्याकअप कोड स्टोर गर्न प्रयोग गर्नु

अनलाइन अकाउन्टहरूको सुरक्षाका लागि टू फ्याक्टर अथेन्टिकेसन इनेबल गर्नु भएको छ भने पुराना ट्याब्लेटलाई ब्याकअप कोड स्टोर गर्न प्रयोग गर्न सकिन्छ । यसरी तपाईंको फोन हराइहाल्यो भने समस्या हुँदैन । तर, यसका लागि प्रयोग गरिरहेको अथेन्टिकेटर एपमा ब्याकअप र रिस्टोरको सुविधा इनेबल गरेको हुनुपर्छ । माइक्रोसफ्ट अथेन्टिकेटर, गुगल अथेन्टिकेटर जस्ता एपले एकभन्दा बढी डिभाइसमा ब्याकअप कोड स्टोर गर्ने सुविधा उपलब्ध गराउँछन् ।

पछिल्लो अध्यावधिक: भदौ १६, २०८१ १४:१७