close

न्यास आईटीमा सन्तोष कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति

टेकपाना टेकपाना

भदौ २२, २०८१ १४:३२

न्यास आईटीमा सन्तोष कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (न्यास आईटी)को अध्यक्षमा सन्तोष कोइराला चयन भएका छन् । हालै भएको संस्थाको दोस्रो वार्षिक साधारणसभाले टेकक्राफ्टका कार्यकारी निर्देशक कोइरालालाई नेतृत्वमा चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा एक सोलुसन्सका सीईओ गौरवराज पाण्डे, महासचिवमा लगप्वाइन्टका राष्ट्र निर्देशक दिपेन चापागाईं र कोषाध्यक्षमा गोक्यो ल्याब्सका सह-संस्थापक अभय पौडेलले जिम्मेवारी पाएका छन् ।

त्यस्तै कार्यकारी समिति सदस्यहरूमा अम्निल टेक्नोलोजिजकी सीओओ अलिशा श्रेष्ठ, एमिनेन्स वेजका प्रबन्ध निर्देशक नारायण कोइराला, लिपफ्रग टेक्नोलोजिजका एसभीपी कैलाश राज विजयानन्द र बीआईसी टेक्नोलोजिजकी सह-संस्थापक प्रार्थना साख: चयन भएका छन् ।

सोल्टी होटलमा आयोजित कार्यक्रममा संस्थापक एवं निवर्तमान अध्यक्ष रिचन श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सन्तोष कोइरालालाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

सो अवसरमा अध्यक्ष कोइरालाले नेपालको प्रविधि क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने लक्ष्यसहित न्यास आईटीको नवनिर्वाचित कार्यसमितिले काम गर्ने प्रतिबद्धता जनाए । 

उनले भने, “हामी आईटी स्रोतहरूको अधिकतम उपयोग, बजार पहुँचको विस्तार र उद्योगको वृद्धिलाई समर्थन गर्न केन्द्रित हुने छौं । हामी जनशक्ति विकासमा लगानी गर्नेछौं, घरेलु आईटी समाधानहरूलाई प्रवर्द्धन गर्नेछौं र अन्तर्राष्ट्रिय विस्तारलाई सहज बनाउनेछौं । यसले आईटी उद्योगमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ र नेपाललाई लाभान्वित गर्नेछ ।” 

गत वर्षमा संस्थाले एसिया प्यासिफिक आईसीटी एलायन्समा सामेल हुने र लण्डन टेक विकमा नेपालको आईटी क्षमताहरू प्रदर्शन गरेको थियो । न्यास आईटीले भविष्यमा पनि नवीनता अभिवृद्धि गर्ने र देशको आईटी क्षेत्रको वृद्धिलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

न्यास आईटीले वार्षिक साधारणसभा पछिको कार्यक्रममा अर्किड इन्टरनेसनल कलेजसँग दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । यस सहकार्यले न्यास आईटीको दिगो विकास कोषलाई बलियो बनाउने अपेक्षा गरिएको छ । 

पछिल्लो अध्यावधिक: भदौ २२, २०८१ १४:५०