close

किन केही मानिसहरू सामाजिक सञ्जालमा ‘लुकेर’ बस्छन् ?

सापेक्ष सापेक्ष

भदौ २२, २०८१ १८:३८

किन केही मानिसहरू सामाजिक सञ्जालमा ‘लुकेर’ बस्छन् ?

सामाजिक सञ्जालमा देखा नपर्ने व्यक्तिहरू करिब-करिब अनजान जस्तो हुन थालिसकेका छन् । मैले त्यसै भनिरहेको छैन । तपाईंलाई नै सोधौं, आफ्नो फेसबुक/इन्स्टाग्राम अकाउन्टमा फोटो आइरहने व्यक्तिहरू तपाईंलाई चिने जस्तो लाग्दैन ? छैन भनेर जवाफ दिनुअघि एकैक्षण गम्नुस् । ती व्यक्तिहरूलाई तपाईंलाई प्रत्यक्ष भेट गरेकै हुनुहुन्न, तर पनि तपाईं चिन्नुहुन्छ । अब ती तमाम अनजानलाई सम्झनुस् । हो, दिमागमा केही दृश्य आएन नि ।

ठ्याक्कै सामाजिक सञ्जालमा लुकेर बस्नेहरू त्यस्तै हुन्छन् । बरु उनीहरूले तपाईंलाई चिन्न सक्छन् । (यदि आफ्नो फोटो राखिरहनु हुन्छ भने) तर उनीहरूलाई तपाईंले अनुमान पनि गर्न सक्नुहुन्न ।

सामाजिक सञ्जालमा यस्तो जमातको संख्या धेरै ठूलो छ भनेर अध्ययनहरूले देखाएका छन् । जसलाई 'Lurker' भन्ने गरिन्छ । अर्थात् उनीहरू अरूको कन्टेन्ट उपभोग गर्छन्, तर आफूले पोस्ट गर्दैनन् ।

प्यू रिसर्च सेन्टरका अनुसार सामाजिक सञ्जालका कुल प्रयोगकर्तामध्ये करिब ६० देखि ७० प्रतिशत व्यक्तिहरू 'Lurker' हुन्छन् । कतिपयले उनीहरूको प्रवृत्तिलाई डिजिटल दुनियाँको एक प्रकारको व्यवहारको रूपमा लिने गरेका छन् ।

अनलाइनमा यसरी लुकेर बस्नुका अनेकन् कारण हुन सक्छन् । तर, कतै जानसाथ फेसबुक, इन्स्टाग्राम, टिकटक जानकारी दिने युगमा कोही किन त्यस्ता हुन्छन् ? जानकारी, सम्बन्ध, अवसर जस्ता कुराहरू सामाजिक सञ्जालमा हावी भइरहँदा किन उनीहरू यस गतिबाट पछि हटिरहेका छन् ?

यस लेखमा सामाजिक सञ्जालमा लुकेर बस्ने वा चलाउँदै नचलाउने प्रवृत्तिको सामाजिक, मानसिक, र सांस्कृतिक पक्षलाई खोतल्ने प्रयास गरिनेछ ।

निजी जीवन
कतिपय मानिसहरूलाई आफ्नो व्यक्तिगत जीवनको गोपनीयता अत्यन्त महत्त्वपूर्ण लाग्छ । सामाजिक सञ्जालमा सक्रिय हुँदा आफ्नो निजी जीवन सार्वजनिक हुने डरले उनीहरू सञ्जालबाट टाढै बस्न चाहन्छन् ।

एउटा सामान्य पोस्टबाट पनि अरूले आफ्नो जीवनको विभिन्न पक्षहरूको आकलन गर्न सक्छन् भन्ने डर उनीहरूमा हुने गर्छ । सामाजिक सञ्जालमा आफ्नो निजी जीवनबारे जानकारी गराउनु गोपनीयताको हनन भएको उनीहरू महसुस गर्छन् ।

छोटोमा बुझ्दा गोपनीयता संरक्षणका लागि कतिपय मानिसहरू सामाजिक सञ्जालमा कम सक्रिय हुने गर्छन् ।

मानसिक स्वास्थ्य
'फर्फेक्ट', 'शेप अफ यू', 'फोटोग्राफ' जस्ता चर्चित गीतका गायक एड शीरन (प्यासेन्जर) ले धेरै पटक सामाजिक सञ्जालबाट ब्रेक लिएका छन् । 'पुअर थिङ्स', 'द अमेजिङ स्पाइडर म्यान' जस्ता चलचित्रका नायिका एमा स्टोन पनि सामाजिक सञ्जालबाट टाढै रहन्छिन् ।

उनीहरू राम्रा प्रतिनिधि उदाहरण हुन् । किनकि सामाजिक सञ्जालमा खासै देखा नपर्नुको कारणमा उनीहरूले मानसिक स्वास्थ्य र निजी जीवन बताएका थिए । हुन पनि हो, सामाजिक सञ्जालले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ । चलाउँदा पनि त्यस्तै, नचलाउँदा पनि त्यस्तै (यदि बानी पर्नु भएको छ भने) ।
लाइक, फोलोअर्स, शेयर, कमेन्टको संख्याले निरन्तर दबाब सिर्जना गर्ने गर्छन् । ‘मेरो पोस्टमा त सय लाइक पनि कट्दैन’ सामाजिक सञ्जाल चलाउनुहुन्छ भने सायद तपाईंले सोचेकै हुनु पर्छ । हो, यस्तै कुराले कतिपयलाई तनाव, चिन्ता, डर हुने गर्छ ।

आत्मसंकोच
कतिपय मानिसहरू आफ्नो पोस्टमा कसैले केही नराम्रो भनिहाल्छ कि भनेर डर वा संकोच मान्ने गर्छन् । त्यस्ता नकारात्मक प्रतिक्रियाको डरले गर्दा उनीहरू सञ्जाल कन्टेन्ट पोस्ट गर्नबाट डराउँछन् । उनीहरूलाई यस्तो लाग्छ कि आफ्नो कन्टेन्टले पर्याप्त ध्यान वा सकारात्मक प्रतिक्रिया पाउँदैन । अनि व्यर्थमा किन हाल्ने भनेर उनीहरू पछि हट्छन् ।

अन्तर्मुखी स्वभाव
अन्तर्मुखी व्यक्तिहरू (इन्ट्रोभर्ट्स) सामाजिक सञ्जालमा खुला भएर आफ्ना विचार र जीवनका अनुभवहरू साझा गर्न अप्ठ्यारो महसुस गर्न सक्छन् । यसरी बुझौं उनीहरू वास्तविक जीवनमा जस्तै अनलाइन जीवनमा पनि आफ्नो सीमित सामाजिक बबलमा बस्न रुचाउँछन् । यसले गर्दा उनीहरू सामाजिक सञ्जालमा लुकेर बस्न मन पराउँछन् ।

निष्क्रिय उपभोक्ता
सामाजिक सञ्जालमा अपलोड हुने सामग्रीहरू उपभोग गर्ने (कन्टेन्ट कन्जुमसन) शैलीले पनि कतिपय सञ्जालमा लुकेर बस्ने गर्छन् । धेरैले जानकारी, मनोरञ्जन र समाचारको स्रोतका रूपमा सामाजिक सञ्जाललाई प्रयोग गर्छन् ।
उनीहरूको प्राथमिकता नयाँ कन्टेन्ट हेर्न, ट्रेन्ड बुझ्न, अरूको विचार र अनुभवहरू पढ्नमा हुन्छ । कन्टेन्ट बनाउनेभन्दा उपभोग गर्न उनीहरूलाई सरल र सहज लाग्न सक्छ । उनीहरू कन्टेन्ट कन्जुमसनको निष्क्रिय उपभोक्ता हुन्छन् ।

डिजिटल थकान
निरन्तर अनलाइन हुँदा पनि मानिसहरू थाक्ने गर्छन् । भारी बोकेर थाकेझैं यो अलि भिन्न हुन्छ । यसलाई छोटोमा बुझ्दा डिजिटल थकान (डिजिटल फटिग) पनि भन्ने गरिन्छ । यो भनेको अत्यधिक डिजिटल सामग्रीको उपभोग गर्दा मानसिक रूपमा थकित हुनु हो । सामाजिक सञ्जालको स्वभाव व्यक्तिलाई अनवरत रूपमा आफूमा राखिराख्नु हुन्छ । हो, त्यही स्वभावले मान्छे डिजिटल थकानमा पर्छन् । यस्तो हुँदा पनि मानिसहरू जानाजानी सामाजिक सञ्जालबाट टाढा बस्ने गर्छन् ।

डिजिटल डिटक्स
सामाजिक सञ्जाल अहिले सबैभन्दा खतरनाक लत मध्येको एक हो । मान्छे डिजिटल थकानमा परेर अति भएपछि त्यसमा छुटकारा खोज्छन् । त्यही कुरा नै डिजिटल डिटक्स हो । डिजिटल डिटक्स त्यस्तो समयावधि हो, जसमा मान्छेहरूले कुनै पनि डिजिटल उपकरण वा सामाजिक सञ्जालको प्रयोग नगर्ने निर्णय गरेर कार्यान्वयन गर्छन् । डिजिटल डिटक्सले मान्छेलाई सामाजिक सञ्जालबाट लुकेर बस्न पनि प्रेरित गर्ने गर्छ ।

मिथ्या सूचनाको बाढी
सामाजिक सञ्जालमार्फत कोहीले आफ्नै मृत्युको खबर पढेको, हुँदै नभएको घटनाको प्रचार गरिएको उदाहरण अनगिन्ती भेटिन्छन् । छोटोमा बुझ्दा सामाजिक सञ्जालमा मिथ्या सूचनाको बाढी हुन्छ । त्यस्ता सूचना फैलिन पनि फेरि समय लाग्दैन । केही मानिसहरू यसबाट बच्नका लागि सञ्जालबाट टाढा रहन खोज्छन् ।

समयको व्यवस्थापन
मान्नुस्, नमान्नुस्, टिकटक चलाउन थाल्नु भयो भने तपाईंलाई समय बितेको पत्तै हुँदैन । किन ? किनकि टिकटक चलाउँदा तपाईंलाई रमाइलो लागिरहेको हुन्छ । र समय बितिरहेको थाहै हुँदैन । यसअर्थमा सामाजिक सञ्जालमा समय खर्च गर्नु भनेको व्यक्तिगत, व्यावसायिक र सिर्जनात्मक कामहरूमा समय कटौती गर्नु हो । किन ? अघिकै उदाहरण मनन गर्नुहोस् ।

अनलाइन ट्र्याकिङ र डेटा सुरक्षा
सामाजिक सञ्जालमा गरिएको प्रत्येक क्रियाकलापलाई सम्बन्धित कम्पनीहरूले ट्र्याक गर्ने र व्यक्तिगत डेटा संकलन गर्ने गर्छन् । यो प्रक्रियाबाट बँच्न कतिपयले सामाजिक सञ्जालमा लुकेर बस्ने गर्छन् । डेटा सुरक्षामा महत्त्व दिनेहरू आफ्नो जानकारी सार्वजनिक हुनबाट जोगाउन सामाजिक सञ्जालबाट टाढा बस्न चाहन्छन् ।

तर लुकेर बस्नु अथवा सञ्जालै नचलाउनु ठीक हो त ? अहिलेको समयमा सायद यो प्रश्नको उत्तर छैन नै हो । किन ? अहिले सामाजिक सञ्जाल जानकारीको स्रोत बनेको छ । सञ्जाल नचलाउँदा धेरै जानकारी छुट्ने निश्चित छ । 

टाढा भएका साथीभाइ र परिवारका सदस्यहरूसँग जोडिरहन सञ्जालले सजिलो बनाएको छ । अहिले नमानेपनि सम्बन्धहरूलाई जोगाइ राख्न सञ्जाल एक प्रमुख माध्यम बनेको छ । त्यहीँ सञ्जाल नचलाउँदा पुराना सम्बन्धहरूमा दूरी बढ्न सक्छ । नयाँ त बन्ने कुरै भएन ।

कलाकार, लेखक जस्ता सिर्जना कर्ममा लागेका व्यक्तिहरूका लागि सामाजिक सञ्जाल आफ्ना सिर्जनाहरू प्रदर्शन गर्न, प्रशंसकहरू बढाउन र बजार विस्तार गर्न प्रमुख माध्यम हो । सञ्जाल नचलाउँदा अहिलेको अवस्थामा उनीहरूलाई आफ्ना सिर्जनाहरू प्रचार गर्न र बजार विस्तार गर्न गाह्रो पर्न सक्छ।

हुन पनि हो, सामाजिक सञ्जाललाई ‘भर्चुअल समाज’को रूपमा हेरिन्छ । हामी जहाँ हुन्छौं, त्यहाँ समाजको हिस्सा हुन्छौं । सामाजिक सञ्जालमार्फत समुदायको भावना जागृत गर्न सकिन्छ । उदाहरणका रूपमा एउटा निश्चित विचारका ग्रुपहरू हेरे पुग्छ । आपसमा जानकारी, विचार, र अनुभवहरू बाँडेर एउटा बलियो सामाजिक संरचना निर्माण गर्न सकिन्छ। यसले मानिसहरूलाई एकअर्कासँग जोड्न र आफ्नो आवाज उठाउन सहज बनाउँछ । 

त्यस्तै सञ्जाल व्यवसायका लागि एउटा शक्तिशाली उपकरण बनेकोमा दुई मत छैन । व्यापारिक ब्रान्ड, व्यक्तिगत व्यवसाय वा स्टार्टअपहरूको विस्तारमा सामाजिक सञ्जालले सशक्त भूमिका खेल्छ । अहिले तिनलाई वेवास्ता गर्न सकिन्न । 

सामाजिक सञ्जालको बढ्दो प्रभावलाई बेवास्ता गर्नु भनेको सूचनाको संसारबाट अलग हुनु सरह हो । तथापि मानसिक र व्यक्तिगत कारणहरूले गर्दा कतिपय मानिसहरू सामाजिक सञ्जालमा निष्क्रिय बस्न वा टाढै बस्न चाहन्छन् । तर अहिले सञ्जाल चलाउनु अनिवार्य र आवश्यकता दुवै भएको कुरालाई नकार्नु हुन्न । व्यक्तिगत लाभका लागि प्रयोग गर्न सकिने ठाउँ छँदै छ ।

अन्त्यमा, जबसम्म सन्तुलित तरिकाले यसको उपयोग गरिन्छ, तबसम्म सामाजिक सञ्जालले व्यक्तिगत र व्यावसायिक दुवै जीवनलाई समृद्ध बनाउँछ । 

मानिस वनको गुफाबाट निस्केको पनि त धेरै भइसक्यो, होइन ? 

पछिल्लो अध्यावधिक: भदौ २२, २०८१ १८:५१