काठमाडौं । नेपालमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन स्थापना भएको छ । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडीसँगको सहकार्यमा उक्त फाउन्डेसन स्थापना गरेको हो ।
समाजलाई योगदान दिने प्रतिबद्धता अनुरूप अर्थपूर्ण र समुदाय केन्द्रित पहलको नयाँ अध्यायको रूपमा फाउन्डेसन स्थापनाको घोषणा गरिएको साइमेक्स इंकले जनाएको छ । जसमा साइमेक्सले एक करोड रुपैयाँ योगदान गर्नेछ भने प्रत्येक बीवाईडी गाडी बिक्री वापत १० हजार रुपैयाँ जम्मा गरिने छ ।
बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ स्वेलियाङले ग्राहकले किन्ने प्रत्येक बीवाईडी गाडीवापत १० हजार रुपैयाँ साइमेक्स बीवाईडी फाउन्डेसनलाई उपलब्ध गराउने घोषणा गरेका छन् । यो पहल कुनै पनि कार्यमा महत्वपूर्ण प्रभाव पार्ने गरी समुदायलाई संलग्न गराउने बीवाईडी र साइमेक्सको सामूहिक लक्ष्य अनुरूप अगाडि बढेको हो ।
उनले भने, "साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन एउटा सामान्य पहल मात्र होइन, यो सबैको सुन्दर भविष्यका लागि हाम्रो प्रतिबद्धता समेत हो । हामी व्यवसाय भन्दा पर रहेर समाजमा योगदान दिने कुरामा विश्वास गर्दछौ र यसका लागि स्थायी र सकारात्मक प्रभाव सिर्जना गर्न प्रतिबद्ध छौ ।"
साइमेक्सका अध्यक्ष अनिल श्रेष्ठले फाउन्डेसनका लागि एक करोड रुपैयाँ योगदान गर्ने घोषणा गरे । शिक्षा, स्वास्थ्य सेवा र दिगो विकास जस्ता समाजमा भएका सबैभन्दा ठूला चुनौतीलाई सम्बोधन गर्ने कार्यमा फाउन्डेसन केन्द्रित हुने बताइएको छ ।
फाउन्डेसनमा जम्मा गरिएको सहयोग रकम र अन्य सामूहिक प्रयासलाई नेपाली जनताको जीवनस्तर सुधार गर्न र राष्ट्रको प्रगतिमा योगदान पुर्याउने कार्यमा केन्द्रित गरिने उल्लेख छ । बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्यले साइमेक्स इंक र बीवाईडीले यसरी समुदायमा वास्तविक फरकपनको अनुभव गराउन थालेको अर्थपूर्ण पहलका लागि बधाई दिए । साइमेक्स र बीवाईडी च्यारिटी फाउन्डेसनले व्यावसायिक उद्यम मात्र नभई दिगो विकास र सकारात्मक परिवर्तनको संवाहक समेत बनाएको कम्पनीको भनाई छ ।