close

१३ लाखमा इजरायली कम्पनीले किन्यो झापामा बीसीए पढ्दै गरेका ३ विद्यार्थीले बनाएको एप

टेकपाना टेकपाना

भदौ २४, २०८१ २१:२४

१३ लाखमा इजरायली कम्पनीले किन्यो झापामा बीसीए पढ्दै गरेका ३ विद्यार्थीले बनाएको एप

काठमाडौं । झापाका तीन जना विद्यार्थीहरूले बनाएको एन्ड्रोइड एप  वाई-फाई थिफ डिटेक्टर (WiFi Thief Detector) १३ लाख रुपैयाँमा बिक्री भएको छ । झापामा अवस्थित मेची बहुमुखी क्याम्पसमा ब्याचलर्स इन कम्प्युटर एप्लिकेसन (बीसीए) अध्ययनरत विद्यार्थीहरूले हालै इजरायली कम्पनी राउन्ड्स एआई लिमिटेडलाई आफ्नो एप बिक्री गरेका हुन् ।

एप बनाउने तीन जना विद्यार्थी तेज मगर (२२), उत्सव दाहाल (२२) र राहुल विष्ट (२१) हुन् । तीनै जना झापाकै स्थानीय हुन् । उनीहरूमध्ये समूहमा तेज नेतृत्वदायी भूमिकामा छन् । एप बनाउन पनि सुरुमा तेजले नै अग्रसरता देखाएका थिए ।

उनले ११ कक्षा पढ्दै गर्दा एप तथा वेबसाइट डेभलप गर्न लागिपरेका थिए । त्यसयता उनी एक्लैले केही अन्य एप पनि बनाए । जो अहिले नचल्ने अवस्था पुगिसकेका छन् ।  

यो एप बनाउन भने उनले तीन वर्ष अघि काम थालेका थिए । नेटवर्क सम्बन्धी रुचि भएकाले वाई-फाई थिफ डिटेक्टर एप बनाउन सुरु गरेको उनी बताउँछन् ।

“एप बनाउन सिक्दै गर्दा नेटवर्कले कसरी काम गर्छ, एउटा डिभाइसमा कनेक्ट भएपछि आईपी एड्रेस जस्ता विवरण कसरी निकाल्न सकिन्छ भनेर खोज्दै जाँदा एप बनाउन मन लाग्यो, त्यसपछि एप बनाएँ,” उनी सुनाउँछन् । 

अहिले उनीहरूले यो एप बनाएको साढे दुई वर्षजति भइसकेको छ । कलेज भर्ना पछि लगत्तै एप विकासको काम थालेका उनीहरू अहिले पाचौँ सेमेस्टरमा अध्ययनरत छन् । 

उनीहरूको चिनजान पनि त्यही कलेजमै भएको हो, २०७८ साल तिर भर्ना भएपछि मात्रै । उनीहरूले फ्रिल्यान्सिङ तरिकाले एप बनाउने गरेका छन् । उनीहरू आफूलाई इन्डी डेभलपर भनेर चिनाउन रुचाउँछन् । यो भनेको कतैबाट पैसा नलिई स्वस्फूर्त रूपमा एप डेभलप गर्नु हो । 

यो एप विकासपछि मात्र जोडिएका उत्सव र राहुलको भूमिका पनि उल्लेखनीय छ । उनीहरूले एपको अपडेटपछि काम थालेका थिए । एपमा यूआई तथा यूएक्स, एड म्यानेजर आदिमा उनीहरूको योगदान रहेको छ ।

राउन्ड्स एआई लिमिटेडलाई एप बिक्री गर्नुअघि पनि उनीहरूले सो एपबाट कमाई भने गरिरहेकै थिए । तेजका अनुसार विगत दुई वर्षदेखि नै मासिक ३०० डलरसम्म कमाई भइरहेको थियो । 

एप बिक्री गर्दा चार लाख ३० हजार बढी डाउनलोड भइसकेको थियो भने फिलिपिन्स, इन्डोनेसिया, इजिप्टका प्रयोगकर्ता बढी थिए । यस एप उनीहरूले एन्ड्रोइड स्टुडिओमा जाभा प्रोग्रामिङ ल्याङ्ग्वेज प्रयोग गरेर बनाएका थिए ।

यसअघि उक्त इजरायली कम्पनी बाहेक अन्यले पनि उनीहरूलाई एप खरिद गर्ने प्रस्ताव नपठाएका होइनन् । त्यस मध्ये राउन्ड्स एआई लिमिटेडले उनीहरूलाई राम्रै मूल्यमा प्रस्ताव पठायो ।

सो कम्पनीले केही समयअघि बर्दिया बाँसगढी-५ का कर्णबहादुर बुढा क्षेत्रीले बनाएकाे एन्ड्राेइड एप पिक अप लाइन्स - फ्लट मेसेजेज् (Pickup Lines- Flirt Messages) पनि करिब ७० लाख रुपैयाँमा खरिद गरेको थियो ।

कर्ण र उनीहरूबिच पहिल्यैदेखि चिनजान पनि थियो । यसले गर्दा उक्त कम्पनीप्रति विश्वास भएको र एप बिक्री गर्न राजी भएको तेज सुनाउँछन् । 

एपबाट कमाइ भइरहेको भए पनि बेचेर आएको पैसाले फेरि अरू एप बनाउन लागौँ भनेर त्यस्तो निर्णय लिइएको उनको भनाई छ । उनीहरूले करिब एक महिनाको छलफलपछि एप बिक्री गरेका हुन् । 

डाउनलोड धेरै भएको र एपको फिचर उपयोगी समेत रहेकाले उक्त कम्पनीले एप खरिद गरेको उनीहरू सुनाउँछन् ।

कस्तो छ एप ?

एपले स्क्यानर जस्तै गरी काम गर्छ । अर्थात् वाईफाईमा कुनकुन डिभाइस जोडिएका छन् भनेर यो एपबाट हेर्न सकिन्छ । अलि सामान्य रूपमा भन्नु पर्दा वाईफाईमा कति ओटा डिभाइस कनेक्ट छन् भनेर देखाउने एप हो, यो । 

तर यसमा इन्टरनेट स्पिड टेस्ट, ट्रेस रुट (आफ्नो डेटा कसरी इन्टरनेटमा प्रवाह हुन्छ भनेर हेर्ने), डेटा युसेस जस्ता फिचर रहेका छन् ।

यसका साथै एपको सशुल्क भर्सन पनि उपलब्ध छ । सो भर्सनलाई समेत उनीहरूले बिक्री गरिसकेका छन् । प्रो भर्सन चलाउन पहिले ३.९९ डलर शुल्क रहेको थियो । अहिले भने ४.०१ डलर बनाइएको छ । जुन बिक्रीपछि इजरायली कम्पनीले बनाएको तेजले बताए । सशुल्क भर्सन चलाउन त्यति तिरेपछि भने सधैँभर विज्ञापन रहित रूपमा एप चलाउन पाइन्छ ।

अहिले भने उनिहरूले एज बिजी नामक वेबसाइट चलाइरहेका छन् । यसबाट कुनै पनि फोटोको पृष्ठभुमि एक क्लिकमै हटाउन सकिन्छ । अब एप बिक्रीबाट आएको रकमले थप एप बनाउने उनीहरूको योजना छ ।

 

पछिल्लो अध्यावधिक: भदौ २४, २०८१ २१:२४