close

आईओएस १८ उपलब्ध, अब आईफोनमा पनि कल रेकर्ड गर्न सकिने

टेकपाना टेकपाना

असोज १, २०८१ १३:५३

आईओएस १८ उपलब्ध, अब आईफोनमा पनि कल रेकर्ड गर्न सकिने

काठमाडौं । एप्पलले आधिकारिक रूपमा ​आईओएस १८ सार्वजनिक गरेको छ । आईफोन १६ सार्वजनिक गरेसँगै कम्पनीले सोमबार नयाँ अपरेटिङ सिस्टम आईओएस १८ को पूर्ण भर्सन उपलब्ध गराएको हो ।

कम्पनीका अनुसार यो अपडेट विश्वभरका आईफोन प्रयोगकर्ताको कम्प्याटिबल डिभाइसमा उपलब्ध भइसकेको छ । यससँगै प्रयोगकर्ताले अब एआईसहित अन्य विभिन्न आकर्षक फिचरहरू प्रयोग गर्न पाउनेछन् । केही विशेष फिचरहरू भने आईफोन १५ प्रो मोडेल र आईफोन १६ का नयाँ मोडेलमा मात्र उपलब्ध हुने बताइएको छ । 

कुन-कुन मोडेलले सपोर्ट गर्छन् आईओएस १८ अपडेट ?

  • आईफोन एसई (सेकेन्ड जेनेरेसन)

  • आईफोन एसई (थर्ड जेनेरेसन) 

  • आईफोन एक्सआर

  • आईफोन एक्सएस

  • आईफोन एक्सएस म्याक्स

  • आईफोन ११

  • आईफोन ११ प्रो

  • आईफोन ११ प्रो म्याक्स 

  • आईफोन १२

  • आईफोन १२ मिनी

  • आईफोन १२ प्रो

  • आईफोन १२ प्रो म्याक्स

  • आईफोन १३

  • आईफोन १३ मिनी

  • आईफोन १३ प्रो

  • आईफोन १३ प्रो म्याक्स

  • आईफोन १४

  • आईफोन १४ प्लस

  • आईफोन १४ प्रो

  • आईफोन १४ प्रो म्याक्स 

  • आईफोन १५

  • आईफोन १५ प्लस

  • आईफोन १५ प्रो

  • आईफोन १५ प्रो म्याक्स

  • आईफोन १६

  • आईफोन १६ प्लस 

  • आईफोन १६ प्रो 

  • आईफोन १६ प्रो म्याक्स

आईओएस १८ इन्स्टल गर्नका लागि सबैभन्दा पहिले सेटिङमा जानुहोस् । त्यसपछि जेनेरलको अप्सन छान्नुहोस् । अनि, सफ्टवेयर अपडेटको अप्सनमा गई इन्स्टल गर्नुहोस् । 

आईओएस १८ का मुख्य फिचरहरू 

कम्पनीले आईओएस १८ सँगै डिभाइसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार कस्टमाइज गर्न सक्नेछन् । यसमा नयाँ तरिकाले होमस्क्रिनमा एप र विजेट्स राख्न सकिन्छ । त्यस्तै यसमा भिन्नाभिन्नै एप आइकन पनि छान्न सकिनेछ । एपलाई आफूले चाहेको ठाउँमा राख्न सकिने फिचर यसअघि एन्ड्रोइडले उपलब्ध गराएको थियो । 

त्यस्तै फोटोज एपमा पनि ठूलो अपडेट उपलब्ध गराइएको छ । यससँगै फोटो सजिलै फेला पार्न सकिने जनाइएको छ । यसमा फोटोहरू रिसेन्ट डेज (पछिल्ला दिनका फोटो), पिपुल एन्ड पेट, ट्रिप आदि कुनको फोटो हो भन्ने पत्ता लगाई त्यही फोल्डरमा राखिदिने बताइएको छ । 

नयाँ अपडेटले आईमेसेजलाई पनि स्तरीय बनाएको छ । प्रयोगकर्ताले अब आईमेसेजबाट बोल्ड, इटालिक, अन्डरलाइन टेक्स्ट पठाउन सक्नेछन् । यसमा नयाँ टेक्स्ट इफेक्ट पनि समावेश गरेको छ । नेटवर्क नभएको अवस्थामा अब आईमेसेजबाटै एसओएस मेसेज पठाउन र पाउन सकिनेछ । एप्पल डिभाइस नहुने प्रयोगकर्तालाई एप्पल डिभाइसका प्रयोगकर्ता इन्टरनेटको सहायताले ‘आरसीएस’ मेसेज पठाउन सक्नेछन् । 

आईओएस १८ सँगै एप्पलले कल रेकर्डिङको फिचर पनि थपेको छ । तर, रेकर्ड गर्दा त्यसको जानकारी अर्को व्यक्तिले पनि थाहा पाउँछ । कलमा भएको कुराकानीलाई फोनले तत्कालै शब्दमा उतारिदिने कम्पनीले उल्लेख गरेको छ । तर, यस फिचरले कुन-कुन भाषा सपोर्ट गर्छ भन्ने खुलाइएको छैन । आवाजको भरमा उतारिएको शब्द नोट एपमा भण्डारण हुने कम्पनीले ब्लगमा उल्लेख गरेको छ । 

मेल एपले पनि विशेष फिचरहरू पाएको छ । नयाँ अपडेटसँगै अब प्रयोगकर्ताको इनबक्समा आएका मेल ट्रान्जेक्सन, अपडेट, र प्रोमोसन गरी विभिन्न ग्रुपमा रहनेछन् । सफारी एपलाई विश्वकै सबैभन्दा फास्ट ब्राउजर भएको दाबी एप्पलले गर्दै आएको छ । यसलाई थप स्तरीय बनाउन कम्पनीले एआई फिचर समावेश गरेको छ ।

यससँगै प्रयोगकर्ताले कुनै वेबपेज खोले भने त्यसको सारांश पेजमा देखिन्छ । अब आईओएस १८ सपोर्ट गर्ने डिभाइसमा पासवर्ड एप प्रयोग गर्न सकिनेछ । यसले प्रयोगकर्ताको पासवर्ड, पासकोड र भेरिफिकेसन कोड एकै ठाउँमा सुरक्षित रूपमा भण्डारण गरिदिनेछ । 

आईओएस १८ इन्स्टल गरे पनि एप्पल इन्टेलिजेन्सका फिचरहरू भने आगामी महिनादेखि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । एप्पल इन्टेलिजेन्सको सहायताले लेख्न, रिराइटिङ गर्न, प्रुफरिडिङ गर्न र साराशं तयार पार्न सक्नेछन् । यो फिचर मेल, नोट्स, पेज, र थर्ड पार्टी एपमा प्रयोग गर्न सकिनेछ । एप्पल इन्टेलिजेन्ससँगै उपलब्ध हुने क्लिनअप फिचरको सहायताले आईफोनमा फोटोको अनाश्यक ब्याकग्राउन्ड र न्वाइज हटाउन सकिनेछ । 

आईओएस १८ सँगै एप्पल प्रयोगकर्ताले सिरीको सबैभन्दा स्तरीय भर्सन प्रयोग गर्न पाउनेछन् । सिरीमा कम्पनीले नयाँ डिजाइन पनि उपलब्ध गराएको छ । सिरी एक्टिभ भएको समयमा फोनको कुनामा लाइट बलेको देख्न सकिन्छ । 

आईओएस १८ अपडेटमा कम्पनीले एसओएस लाइभ भिडिओको सुविधा पनि उपलब्ध गराएको छ । आपत्कालीन अवस्थामा टेक्स्ट पठाउन नसकिने अवस्था भए सोझै लाइभ भिडिओ पनि पटाउन सकिनेछ । यससँगै हेल्थ एप, फिटनेस एप र एक्सेसिबिलिटी फिचरलाई पनि कम्पनीले स्तरीय बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज १, २०८१ १३:५८