close

एप्पललाई उछिन्दै साओमी बन्यो धेरै फोन बिक्री गर्ने दोस्रो कम्पनी

टेकपाना टेकपाना

असोज ३, २०८१ १५:३६

एप्पललाई उछिन्दै साओमी बन्यो धेरै फोन बिक्री गर्ने दोस्रो कम्पनी

काठमाडौं । सामसङले आईफोनको डिजाइन नक्कल गर्‍यो । यता आईफोन निर्माता एप्पलले सामसङको ग्यालेक्सी फिचर कपी गर्‍यो । एक-अर्काका उत्कृष्ट फिचर प्रयोग गर्ने यी दुई कम्पनी स्मार्टफोन बिक्री गर्ने सन्दर्भमा लामो समयसम्म पहिलो र दोस्रो भइरहे । 

तर, गएको अगस्ट महिनामा भने चिनियाँ स्मार्टफोन निर्माता साओमी सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ ।

काउन्टरपोइन्ट रिसर्चले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०२१ पछि पहिलो पटक मासिक स्मार्टफोन बिक्रीमा साओमीले एप्पललाई पछि पारेर यो स्थान हासिल गरेको हो । 

पछिल्लो समय बजारमा आएको साओमीको फ्ल्यागशिप फोन साओमी १४ अल्ट्राले विश्वबजारमा राम्रो चर्चा पाइरहेको छ । यही फोनका कारण पहिले इन्ट्री र मिडरेन्ज फोन निर्माताको परिचय बनाएको साओमीले फ्ल्यागशिप फोनमा ध्यान दिएको छ । त्यस्तै साओमीका सहायक ब्रान्ड रेड्मी र पोकोका फोनमा पनि आकर्षण बढेको छ ।

किफायती मूल्यका साओमीका स्तरीय फोन भारतसहित दक्षिण एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका बजारमा बढी बिक्री हुने गर्छन् । विकासोन्मुख देशमा पनि साओमीले ठूलो बजार हिस्सा ओगटेको छ ।

 

 

पछिल्लो अध्यावधिक: असोज ३, २०८१ १५:५६