काठमाडौं । युक्रेनले सरकारी प्रयोजनका लागि प्रयोग हुने डिभाइसमा मेसेजिङ एप टेलिग्राम प्रयोग गर्न रोक लगाएको छ । रुसबाट आक्रमणको जोखिम बढेको भन्दै सरकारले सरकारी डिभाइसमा टेलिग्राम प्रयोग गर्न रोक लगाएको हो ।
बीबीसीका अनुसार युक्रेनले सरकारी तथा सैन्य कर्मचारी र सुरक्षा क्षेत्रमा आवद्ध अन्य कर्मचारीको डिभाइसमा टेलिग्राममाथि प्रतिबन्ध लगाएको छ । रुसले सन् २०२२ देखि नै युक्रेनमाथि आक्रमण थालेको थियो । सो आक्रमण अहिलेपनि जारी छ । रुसबाट हुने खतरा न्यूनीकरण गर्नका लागि टेलिग्राममाथि प्रतिबन्ध लगाइएको देशको राष्ट्रिय सुरक्षा तथा रक्षा नियोग परिषद् (आरएनबीओ) ले जनाएको छ ।
“टेलिग्राम सक्रिय रूपमा साइबर-आक्रमण, फिशिङ र मालिसियस सफ्टवेयरको वितरण, प्रयोगकर्ता भौगोलिक स्थान पहिचान र मिसाइल स्ट्राइक सुधारको लागि दुश्मनद्वारा प्रयोग भइरहेको छ,” परिषद्ले विज्ञप्तिमा भनेको छ । बीबीसीसँगको कुराकानीमा टेलिग्रामले कुनै पनि देशलाई मेसेजिङ डेटा उपलब्ध नगराएको दाबी गरेको छ ।
रुस र युक्रेनमा सरकारी तथा सैन्य गतिविधिमा टेलिग्राम सबैभन्दा बढि प्रयोग हुने मेसेजिङ एप हो । देशका सुरक्षा अधिकारी, सांसद र सैन्य कर्मचारीसँग छलफल भएपछि उक्त एपमाथि प्रतिबन्ध लगाइएको परिषद्ले जनाएको छ ।
छलफलका क्रममा युक्रेनमा मिलिटरी इन्टेलिजेन्सका प्रमुख काइरालो बुडानोभले टेलिग्राम कसरी देशका लागि खतरा छ भन्ने विषयको प्रमाण पेस गरेका थिए । उनका अनुसार टेलिग्रामले रुसले प्रयोगकर्ताको सामान्यदेखि डिलिट गरेको मेसेजमा समेत पहुँच पाउन सक्छ ।
आफूहरू अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा कहिल्यै नभएको उनले सुनाए । टेलिग्राम अभिव्यक्ति स्वतन्त्रताभन्दा पनि यो देशको सुरक्षासँग जोडिने भएकाले प्रतिबन्ध लगाउनुपर्ने उनले धारणा राखेका थिए ।
युक्रेनमा ७२ प्रतिशत नागरिकले टेलिग्राम प्रयोग गर्ने गरेको यूएसएआईडीले गरेको एक अध्ययनले देखाएको छ । इन्ड-टु-इन्ड इन्क्रिप्सन (मेसज पठाउने र पाउनेबाहेक अर्को पक्षले मेसेज पहुँच पाउन नसक्ने प्रणाली) सुविधा उपलब्ध गराउने योजनासहित पावेल दुरोवले सन् २०१३ मा टेलिग्राम विकास गरेका थिए । त्यसको एक वर्षपछि रुसले विपक्षी समुदायका च्यानल बन्द गर्नुपर्ने अडान राखेको थियो । त्यसमा सम्झौता गर्न नसकिने भन्दै दुरोवले देश छोडे ।
गत महिना मात्र दुरोव फ्रान्समा पक्राउ परेका थिए । उनीमाथि अहिले अनुसन्धान भइरहेको छ । यस प्लेटफर्ममा ९५ करोड बढी सक्रिय मासिक प्रयोगकर्ता छन् ।