close

फेसबुकमा तपाईँले कसैलाई ‘पोक’ गर्नु भएको छ ? के होला यसको अर्थ ?

टेकपाना टेकपाना

असोज ९, २०८१ १८:४५

फेसबुकमा तपाईँले कसैलाई ‘पोक’ गर्नु भएको छ ? के होला यसको अर्थ ?

 

काठमाडौं । फेसबुकमा अनेकन् फिचर आउने/जाने भइरहन्छन् । हेर्दा लाग्छ कि फेसबुकका कतिपय फिचर समानान्तर रेखामा नभई बक्र रेखामा हिँडेका छन् । जस्तो; पोक । 

दुई दशकअघि नै सार्वजनिक भएको यो फिचर त्यसबेला निकै लोकप्रिय बनेको थियो । त्यसपछि अनेकन् फिचर आइरहँदा पोक सुस्तायो । धेरैले बिर्से । तर गएको ६ महिनादेखि यसले पुन: चर्चा पाइरहेको छ । 

अहिले पनि बेलाबेला तपाईंले आफ्नो फेसबुकको नोटिफिकेसनमा कसैले पोक गरेको सूचना पाइरहनु भएको हुन सक्छ । खासमा के हो त पोक ? के यसको अर्थ जिस्काएको, सम्झेको भन्ने हुन्छ ?

खासमा पोकले यी सबै अर्थ समेट्छ । तर यी मात्र अर्थ होइनन् । हुन त फेसबुक आफैंले पोक के हो भनेर बताएको छैन । वास्तविक जीवनमा कसैलाई केही भन्न हातले कोट्याउने अनुभव सायद तपाईंसँग हुन सक्छ । पोकको आधारभूत भाव यही हो । त्यसका आधारमा फेसबुकको पोकको अर्थ कसैलाई आफूतिर ध्यानाकर्षण गराउनु हो ।

फेसबुकले यो फिचर सन् २००४ देखि नै सुरु गरेको हो । तर त्यसबेला ठ्याक्कै यसले के गर्छ, केका लागि बनाइएको हो भन्ने स्पष्ट थिएन । जुन आजपर्यन्त कायम छ । यसकारण पनि मानिसहरू आफूअनुकूल बुझ्ने गर्छन् । त्यसो हुँदा कतिपयले यसलाई राम्रो मान्छन् त, कतिपयले नराम्रो ।

यसको नराम्रो पक्ष भनेको झर्को लाग्ने गरी आउने नोटिफिकेसन हुन सक्छ ।

तर पोक गर्ने फिचर फेसबुकमा जोडिएका साथीहरूबीच मात्र सीमित छ । अर्थात् फेसबुकमा नजोडिएका व्यक्तिलाई पोक गर्न सकिँदैन । यदि तपाईंले कसैलाई पोक गरे उनीहरूहरूले “(तपाईंको नाम) पोक्ड यू’ भन्ने सूचना प्राप्त गर्छन् । त्यसपछि उनीहरूले पोक ब्याक गर्न अथवा बेवास्ता गर्न सक्छन् ।

यी सबैका आधारमा भन्दा पोक भन्नाले सामान्यतया कसैको ध्याना तान्न वा उनीहरूसँग कुराकानी सुरु गर्न प्रयोग गरिने इसारा हो । 

यसको अर्थ शारीरिक रूपमा औँलाले कसैलाई हल्का कोट्याए झैं हुन्छ । ताकि उक्त मान्छेले आफूलाई हेरोस् । फेसबुकमा पोक गर्नुको अर्थ ‘तिमीलाई सम्झिएँ’ भन्ने सङ्केत दिनु पनि हो ।

जे होस् फेसबुकले आधिकारिक रूपमा यसको अर्थ नबताए पनि यसको अर्थ हल्का वा अनौपचारिक इसारा हो ।

पछिल्लो अध्यावधिक: असोज ९, २०८१ १८:४६