काठमाडौं । अहिलेको जमानामा एन्ड्रोइड फोनका लागि वालपेपर त्यो पनि निःशुल्क पाउन केही गाह्रो छैन । वालपेपर निःशुल्क उपलब्ध गराउने एप, वेबसाइट जति पनि छन् । त्यसमाथि एआईको सहायताले आफूलाई चाहिएको जस्तै वालपेपर बनाउन सकिने अवस्था आइसकेको छ ।
यस्तो अवस्थामा एमकेबीएचडी (mkbhd) नामले परिचित युट्युबर मर्किस ब्राउन्लीले हालै वालपेपर एप सार्वजनिक गरे । एप प्रयोग गर्नका लागि वार्षिक ५० डलर (करिब छ हजार ६५० रुपैया) सब्स्क्रिप्सन शुल्क तोकिएको छ ।
एप सार्वजनिक भए लगत्तै यसको पर्फमेन्स, मूल्य र यसले माग्ने पर्मिसनलाई लिएर चर्को आलोचना भइरहेको छ । ब्राउन्लीले सार्वजनिक गरेको ‘प्यानल्स’ (Panels) एप एन्ड्रोइड र आईओएस दुवैमा प्रयोग गर्न सकिन्छ ।
एप डाउनलोड गर्नका लागि शुल्क तिर्नु पर्दैन । तर, त्यसमा हुने एचडी फोटोमा पहुँच पाउन शुल्क तिर्नुपर्ने हुन्छ । यदि सामान्य क्वालिटीको फोटो पनि डाउनलोड गरेर वालपेपरमा राख्नु छ भने कम्तीमा दुई ओटा विज्ञापन हेर्नुपर्ने हुन्छ । यसमा देखिने अत्यधिक विज्ञापन र एपले माग्ने पर्मिसनलाई लिएर आलोचना भइरहेको छ ।
एप्पल एपस्टोरमा उक्त एपले के कस्ता पर्मिसन माग्छ भन्ने उल्लेख गरिएको छ । एप डाउनलोड गरिसकेपछि त्यसलाई प्रयोग गर्न लोकेसनको पर्मिसन दिनुपर्ने हुन्छ । यो र अन्य पर्मिसन दिएको खण्डमा एपले प्रयोगकर्ताको अन्य गतिविधि पनि ट्रयाक गर्न सक्छ ।
अत्यधिक आलोचना भएपछि युट्युबर ब्राउन्लीले एक्समा पोस्ट राख्दै एपले वास्तवमा पर्मिसन नमाग्ने उल्लेख गरेका छन् । सङ्कलन गरिएका डेटा कसरी प्रयोग हुन्छन् भन्ने विषयमा उनले छिट्टै जानकारी उपलब्ध गराउने बताएका छन् । साथै निःशुल्क एप प्रयोग गर्नेहरूका लागि विज्ञापनको सङ्ख्या घटाउने जनाएका छन् ।
प्रिमियम भर्सनका वालपेपर बनाउने कलाकारलाई शुल्क तिर्नुपर्ने भएकाले भएकाले रकम केही महँगो भएको उनले उल्लेख गरेका छन् । यद्यपि शुल्क घटाउने विषयमा भने उनले केही धारणा दिएका छैनन् ।