close

जस्ताको तस्तै मिलाउन सक्ने गरी कसरी हुन थाल्यो नेपालको मौसम पूर्वानुमान ?

हिक्मत आचार्य हिक्मत आचार्य

असोज १४, २०८१ १८:४६

जस्ताको तस्तै मिलाउन सक्ने गरी कसरी हुन थाल्यो नेपालको मौसम पूर्वानुमान ?

काठमाडौं । गएको बिहीबार जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले एक सूचना निकाल्दै राजधानीसहित देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको पूर्व जानकारी दियो । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले चार दिन देशैभरका नदीहरूको बहाव बढ्ने विभागको पूर्वानुमान थियो । 

“असोज ११, १२ र १३ गते देशका अधिकांश नदीहरुको बहाव सतर्कता तह आसपास रहने पूर्वानुमान रहेको र नारायणी नदी देवघाट, कन्काई नदी मैनाचुली, कमला नदी वेलसोत, बागमती पधेरादोभान, पूर्वी राप्ती रजैया, पश्चिम राप्ती कुसुम, बबई चेपाङ नदी र यसका सहायक नदीमा जलसतह खतरा तह आसपास रहने तथा केहीमा खतरा तह पार गर्ने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउनुहुन अनुरोध छ,” विभागले सूचनामा भनेको थियो । 

उक्त सूचनालाई आधार बनाएर विभिन्न सञ्चार माध्यमले समाचार पनि प्रकाशन र प्रसारण ‍गरे । नभन्दै विभागले अनुमान गरेको जस्तै देशका विभिन्न स्थानमा डुबान, बाढी र पहिरोको प्रकोप निम्तियो । जनधनको ठूलो क्षति भयो । 

सरकारी निकायले विभागको पूर्वानुमानलाई बेवास्ता गरेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । आखिर विभागले कसरी गर्छ यति सटीक मौसम पूर्वानुमान ? पहिलेका वर्षको तुलनामा  पछिल्ला वर्षहरूमा कसरी मेल खाइरहेको छ विभागको अनुमान ? आज हामी त्यही विषयमा चर्चा गर्दैछौं:

के‍ तपाईंलाई थाहा छ, मौसम पूर्वानुमानका लागि लाखौं रुपैयाँ खर्च हुन्छ । नागरिक र हवाई उड्डयन क्षेत्रलाई मौसम सम्बन्धी जानकारी दिनु मौसम पूर्वानुमान महाशाखाको मुख्य काम हो । 

मौसम पूर्वानुमान कसरी मिल्छ ?

केही समय अघिसम्म पनि नेपालमा मौसम पूर्वानुमान मिल्दैन भन्ने भाष्य थियो । तर, पछिल्ला केही वर्षदेखि मौसमविद्ले गरेका पूर्वानुमान धेरै हदसम्म मेल खाइरहेका हुन्छन् । “मौसम पूर्वानुमान भनेको मसिनले तापक्रम नापेको जस्तो ठ्याक्कै आउने भन्ने हुँदैन,” जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेल भन्छन्, “यसमा तापक्रम हेर्नुपर्छ, वायुमण्डल हेर्नुपर्छ । यसमा मल्टिप्यारामिटर हुन्छन् । ती पक्षलाई विश्लेषण गरेर अनुमान गरिन्छ ।”

यी पक्षलाई विश्लेषण गरी तत्काल कस्तो मौसम हुँदैछ भन्ने र पछि मौसम कस्तो हुन्छ भन्ने जानकारी दिइन्छ ।

“रियल टाइम अब्जरभेसनमा नाप्दा जे परिणाम आयो, त्यही भन्नुपर्ने हुन्छ,” पौडेल अगाडि भन्छन्, “त्यही अब्जरभेसन र त्यसबेलाको चापलाई लिएर अबको तीन दिनमा कस्तो मौसम हुन्छ भन्ने न्युमेरिकल प्रेडिक्सन (मोडलिङ फोरकास्ट) गरिन्छ ।”

अर्थात् तत्काल जे परिणाम निस्किएको छ, त्यही डेटा मोडलिङ फोरकास्टमा राख्दा त्यसको ६ घण्टा, १२ घण्टा, २४ घण्टा, ४८ र  ७२ घण्टासम्म मौसम कस्तो हुन्छ भन्ने जानकारी त्यहाँ देखिन्छ । त्यस्तो जानकारी यहाँ क्लिक गरेर जल तथा मौसम विज्ञान विभागको वेबसाइटबाट लिन सकिन्छ । 

मौसम पूर्वानुमानको क्षेत्रमा नेपाल कस्तो अवस्थामा छ ?

मौसमविद् पौडेल महाशाखामा आएको १५ वर्षभन्दा बढी भइसकेको छ । उनका अनुसार सुरुवाती समयमा कार्यालयमा पर्याप्त प्रविधि थिएनन् । अहिले हरेक १० मिनेटमा नयाँ स्याटलाइट तस्वीर आइपुग्छ । त्यसमा हरेक समय मौसम पहिचान गर्न सकिन्छ । तर, सुरुवातमा यसरी मौसम हेर्न मिल्ने सुविधा थिएन । 

“त्यतिबेला बिहान एक पटक र त्यसको १२ घण्टापछि अर्को स्याटलाइट तस्वीर, त्यो पनि ब्ल्याक एन्ड ह्वाइटमा आउँथ्यो,” पौडेल भन्छन्, “त्यही तस्वीरको भरमा मौसम पूर्वानुमान गर्नुपर्ने हुन्थ्यो । प्रविधिको अभाव, तत्कालै स्याटलाइट तस्वीरको प्राप्त नहुनुले मौसम पूर्वानुमान मिल्न मुस्किल हुन्थ्यो ।” 

एसब्यान्ड राडार, रेडियोसोन्डेस, अपर एयर डेटा, न्युमेरिकल वेदर प्रेडिक्सन, वेदर क्यामेरा, वेदर स्टेसन र स्याटलाइट जस्ता प्रविधि उपलब्ध हुन थालेपछि मौसम पूर्वानुमान मिल्ने गरेको उनको अनुभव छ । त्यसका साथै यस काममा प्रयोग हुने वेबसाइट स्तरीय र इन्टर्‍याक्टिभ भएकाले पनि सटीक मौसम पूर्वानुमान गर्न सकिएको हो । 

“काम गर्ने तौर तरिकामा पनि फरकपन आएको छ,” उनी भन्छन्, “अहिले मोबाइलमै पनि संसारभरको मौसम पूर्वानुमानको डेटा पाउन सकिन्छ । यसमा प्रयोग हुने वेबसाइट ओपन सोर्समा आधारित छन्, जसले पनि पहुँच पाउन सक्छन् । यसले गर्दा सहज भएको छ ।”

यी र यस्तै प्रविधिको प्रयोगले वैज्ञानिक तौरतरिकाबाट तथ्याङ्क सङ्कलन गरिने भएकाले मौसम पूर्वानुमान मिल्ने गरेको उनी सुनाउँछन् । उनी अगाडि भन्छन्, “यस बिचमा क्षमता विकास, जनशक्ति थप्ने, तालिम दिने, दक्ष जनशक्ति उत्पादन गर्ने काम भइरहेको छ ।” महाशाखाले पछिल्ला वर्षहरूमा विदेशबाट विज्ञ बोलाएर नेपालमा तालिम पनि सञ्चालन गर्ने गरेको छ ।  

यसरी महाशाखाले सटीकताका साथ सतर्कता अपनाउन अनुरोध गरेको भए पनि अन्य सरकारी निकायबिच समन्व र सक्रियताको भने अभाव देखियो । परिणामस्वरूप धादिङको झ्याप्ले खोलामा आएको पहिरोले गर्दा एकै ठाउँमा कैयौं यात्रुले ज्यान गुमाए । मौसम पूर्वानुमानको जानकारी पछ्याएर शुक्रबारदेखि केही दिन यातायात ठप्प गरेको भए जनधनको क्षति हुनबाट जोगिने विश्लेषण गरिएको छ ।

मौसम पूर्वाधारमा केकस्ता प्रविधि प्रयोग हुन्छन् ?

एस ब्यान्ड राडार (S Band radar) 

महाशाखाले सुर्खेत, पाल्पा र उदयपुर गरी तीन ठाउँमा एस ब्यान्ड राडार राखेको छ । यी फिस्क्ड राडार हुन् । यी राडारबाट मुख्यत: बादल कुन-कुन ठाउँमा लागेको छ, बादल कस्तो खालको छ, बादल कता जाँदैछ, कस्तो प्रकारको बादल हाे भन्ने जस्ता विषयहरूको अध्ययन गरिन्छ ।

वायुमण्डलको तल्लो भागको मौसमी गतिविधिबारे तथ्याङ्क सङ्कलन गर्न यी राडार उपयोगी हुन्छन् । ​यसबाट महाशाखाले मौसमबारे रियल टाइम अब्जरभेसन गर्न सक्छ ।

पहाडै पहाड भएको देशमा अरु प्रकारको राडारभन्दा उपयोगी हुने ठानेरै एस ब्यान्ड राडार जडान गरिएका हुन् । महाशाखाले हालै मात्र दुई नयाँ राडार इन्स्टल गरेको छ ।

रेडियोसोन्डेस (Radiosondes) 

यसलाई ‘वेदर बलुन’को नामले पनि चिनिन्छ । बलुनमा वायुमण्डलको तापक्रम, जलवाष्प, चाप आदि नाप्ने सेन्सर जडान गरिएका हुन्छन् । जसबाट महाशाखाले मौसम सम्बन्धी रिपोर्ट बनाउन डेटा सङ्कलन गर्छ ।

हाल महाशाखाले अपर एयर (Upper Air) अर्थात् वायुमण्डलको माथिल्लो तहको मूल्याङ्कनका लागि बिहान ५:४५ मा नियमित रूपमा यो बलुन उडाउँछ । त्यसबाट वायुमण्डलमा हुने मौसमको अवस्था थाहा पाउन सकिन्छ । त्यसबाट रियल टाइम डेटा प्राप्त हुन्छ ।

त्यो बलुन ३० किलोमिटरमाथि गएर नष्ट हुन्छ । महाशाखाले मौसम पूर्वानुमान गर्न उडाउने यो बलुन निकै खर्चिलो छ । एउटा बलुन उडाउन दैनिक करिब २५ देखि ३० हजार रुपैयाँ लाग्छ । यसरी दैनिक रूपमा बलुन उडाउन थालेको तीन वर्ष भएको छ ।

यसबाट महाशाखालाई चाहिने तथ्याङ्क प्राप्त हुन्छ । त्यो बलुन कहाँ कहाँ गयो भन्ने कुरा भने जीपीएस सिस्टमबाट थाहा पाइन्छ । यो काठमाडौं उपत्यकाबाट बाहिर पनि पुग्न सक्छ । सुरुमा यो आकाशतिर जान्छ । पछि हावाको कारण विभिन्न दिशा लिन थाल्छ । 

बिहानको समयमा जवाई जहाजहरू कम उड्छन् । चराहरू पनि कम उड्छन् । त्यही भएर ‘वेदर बलुन’ बिहान उडाउने गरिएको पौडेल सुनाउँछन् । तर प्राय: मौसमी घटनाहरू दिउँसो हुने हुँदा मौसम सम्बन्धी रिपोर्ट बनाउन डेटा भने पर्याप्त नपाइने उनको भनाई छ । यसकारण महाशाखाले आगामी दिनमा रेडियोसोन्डेस बिहान/साँझ गरी दुई पटक उडाउने योजना बनाएको छ । महाशाखाले यो प्रविधि विगत चार वर्षदेखि प्रयोग गर्दै आएको छ ।

यो प्रविधि खर्चिलो हुने भए पनि सटीक मौसम तथ्याङ्क प्राप्त गर्न विकसित देशमा दैनिक दुई ओटा बलुन उडाउने गरिन्छ । पौडेलकका अनुसार कतिपय देशले बलुनको साटो जहाज नै पठाउने गर्छन् । “विदेशतिर विशेष जहाज नै पठाउँछन्,” उनी थप्छन्, “जहाजले मौसमको सेन्सर बोकेको हुन्छ । जुन कम्प्युटरमा लिङ्क हुन्छ । तोकिएको उचाइमा पुगेपछि फिर्ता आउँछ । त्यो महँगो हुन्छ । विकसित देशमा यसका लागि लगानी पनि बढी छुट्याइएको हुन्छ ।”

न्युमेरिकल वेदर प्रेडिक्सन (Numerical Weather Prediction-NWP) 

मौसम पूर्वानुमान गर्ने विभिन्न विधिमध्ये एनडब्लूपी पनि एक हो । महाशाखाले यसमा वेदर रिसर्च एन्ड फोरकास्टिङ (डब्लूआरएफ) मोडेल प्रयोग गरेर त्यसको आधारमा मौसम सम्बन्धी तीन दिने पूर्वानुमान गर्ने गरेको छ । यसका लागि हावा, पानी र बादलको अवस्था आदिको डेटा चाहिने गर्छ । 

वेदर क्यामेरा (Weather Camera)

अलि विकट र संवेदशील ठाउँमा यस प्रकारका क्यामेरा राखिएका हुन्छन् । यस्ता क्यामेरा दिन र रात दुवै समयमा चलिरहेका हुन्छन् । रातको समयमा यसले इन्फ्रारेडमा भिडिओ तथा तस्वीर खिच्ने गर्छ ।

महाशाखासँग दुर्गम स्थानमा रहेका एयरपोर्टसँगै अन्य ३५ भन्दा बढी क्षेत्रमा यस्ता वेदर क्यामेरा स्टेसन छन् । तिनको डेटा सिधै महाशाखाको डेटाबेसमा आउने गर्छ । यस प्रकारका क्यामेराबाट काठमाडौंमा रहेर पनि महाशाखाले प्रत्यक्ष रूपमा तत्‌तत् ठाउँको मौसम अध्ययन गर्न सक्छ ।

वेदर स्टेसन (Weather Station)

विभिन्न ठाउँको मौसम सम्बन्धी जानकारी प्राप्त गर्न त्यहाँ स्थानीय रूपमा मापन गर्नु पर्ने हुन्छ । यसका लागि थुप्रै ठाउँमा वेदर स्टेसन बनाइएका छन् । महाशाखासँग अटोमेटिक र म्यानुअल गरी दुई प्रकारका स्टेसन छन् । वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसन (डब्लूएमओ) को मापदण्डका आधारमा महाशाखाले म्यानुअल स्टेसन बनाएको छ । यस प्रकारका स्टेसनमा सबै कुरा मानिसले नै सञ्चालन गर्छन् ।

म्यानुअल वेदर स्टेसनसँगै अथवा यो राख्न नसकिने ठाउँमा अटोमेटिक वेदर स्टेसन राखिन्छ । यस स्टेसनमा मौसम सम्बन्धी सबै कुरा मापन गर्न सक्ने बक्स हुन्छ । जहाँ मौसम सम्बन्धी विभिन्न प्रकारका मापन लिने काम स्वचालित रूपमा हुन्छ । विशेष गरेर मानिसहरूको बसोबास नहुने उच्च हिमाली तथा पहाडी भू-भागमा त्यस्ता प्रकारका स्टेसन राखिएका हुन्छन् । 

तर बेलाबेला यस स्टेसनमा पनि मान्छे जानु पर्ने हुन्छ । कहिल्यै मान्छे जानु नपर्ने भन्ने हुँदैन । त्यस्तै एग्रोमेट स्टेसन, क्लाइमेट स्टेसन आदि गरी यी स्टेसनका पनि विभिन्न प्रकार हुन्छन् । फरक फरक पारामिटरका आधारमा ती स्टेसनको वर्गीकरण गरिएको हुन्छ ।

स्याटलाइट (Satellite)

मौसम पूर्वानुमान गर्न नेपालसँग आफ्नो छुट्टै स्याटलाइट छैन । तर यो काममा स्याटलाइटको भूमिका निकै महत्त्वपूर्ण हुने गर्छ । यही कारण जापान सरकारले नेपाललाई हिमावारी (Himawari) नामक आफ्नो स्याटलाइटमार्फत मौसम पूर्वानुमानमा सहयोग गरिरहेको छ ।

यो स्याटलाइट जापानको आकाशमै बस्ने गर्छ । तर त्यसबाट नेपालको देखिने भागको डेटा महाशाखामा पठाउँछ । त्यही डेटाको आधारमा महाशाखाले मौसम पूर्वानुमान सम्बन्धी काम गर्छ । यो सहयोगमा प्राप्त डेडिकेटेड स्याटलाइट हो । यस बाहेक एफवाईटूई (FY2E) नामक चिनियाँ स्यालेटलाइट पनि नेपालले मौसम पूर्वानुमानका लागि प्रयोग गरिरहेको छ । 

तर विश्वमा थप विभिन्न आधुनिक प्रविधि प्रयोग गरी मौसम पूर्वानुमान गरिन्छ । नेपालको सन्दर्भमा पनि प्रविधिको मालिलामा पहिलेको तुलनामा धेरै सुधार भएको छ । यो महाशाखा २४ घण्टा नै खुला हुने सरकारी कार्यालय हो ।

यस कार्यालयमा प्रविधि, जनशक्ति लगायत अन्य धेरै कुरामा सुधार भएको वरिष्ठ मौसमविद् पौडेल अनुभव गर्छन् । तर मौसम सम्बन्धी गरिएका विभिन्न पूर्वानुमान मिल्न भने प्रविधि र जनशक्तिको विकासमा जोड दिनु पर्ने उनको बुझाइ छ ।

महाशाखाको फरकास्टिङ डिभिजन इन्चार्ज प्रज्ञा मानन्धर भने नेपालमा भएका यी प्रविधिहरू चलाउन सक्ने जनशक्ति पर्याप्त नभएको बताउँछिन् । “थोरै कर्मचारीले चाैबीसै घण्टा कार्यालय चलाउनु पर्छ । भीभीआईपी/भीआईपीहरूले भन्नासाथ त्यसको रिपोर्ट बनाउनुपर्छ,” उनी दु:खेसो गर्छिन्, “गरेको अनुमान मिलेन भने गाली खानु त छँदैछ ।”

पछिल्लो अध्यावधिक: असोज १४, २०८१ २१:४१