काठमाडौं । सस्तो स्मार्टफोन खोजी रहेकाहरूलाई लक्षित गर्दै टेक्नोले स्मार्ट गो वन बजारमा ल्याएको छ । ‘फोनको सुपर स्टार’ ट्यागलाइनसहित कम्पनीले हालै यो फोन नेपाली बजारमा भित्र्याएको हो ।
सस्तो मोडेल भए पनि कम्पनीले यस फोनमा १२० हर्जको रिफ्रेश रेट र ८ जीबीसम्मको र्याम दिएको छ । यस फोनको मुख्य विशेषतामा एआई नोइज क्यान्सिलेसन रहेको छ । जसले होहल्ला भएको ठाउँमा कुराकानी गर्दा पनि स्पष्ट आवाज सुन्न सहयोग गर्ने कम्पनीको दाबी छ ।
यस फोनमा ६.६७ इन्चको ७२०*१६०० एचडी रेजोलुसनको डिस्प्ले पाउन सकिन्छ । जसमा ब्राइटनेस ४८० निट्स रहेको छ । जम्मा १८९ ग्राम तौल रहेको यो फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।
क्यामेरामा एआई क्याम, ब्युटी मोड, पोट्रेट, टाइमल्याप्स, पानोरमा, प्रो मोड, एआर शट जस्ता फिचर समावेश छन् । एन्ड्रोइड १४ मा आधारित यो फोनमा ५,००० एमएएच क्षमताको ब्याट्री दिइएको छ ।
जसलाई चार्ज गर्न २५ वाटको फास्ट चार्जिङ उपलब्ध गराइएको छ । यसमा प्रोसेसर भने युनिसक टी ६१५ प्रयोग गरिएको छ । कम्पनीको दाबी अनुसार यो फोनलाई चार वर्षसम्म बिना ल्याग चलाउन सकिन्छ ।
नेपालमा यो फोन ३+६४, ४+६४ र ४+१२८ जीबी भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसलाई क्रमश: ११ हजार ९९०, १२ हजार ६९० र १३ हजार ९९० रुपैयाँ पर्ने बताइएको छ ।