काठमाडौं । नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच अन्तर-आबद्धता कायम गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
“राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र नागरिक एपबीच अन्तर-आबद्धता कायम गर्न स्वीकृति प्रदान गर्ने,” निर्णयमा लेखिएको छ । यो प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना अधिकारी शिवराज सेढाईका अनुसार यसमा मुख्यतः तीन विषय समेटिएका छन् । यसअन्तर्गत नागरिक एपमा प्रयोगकर्ता दर्ता गर्दा राष्ट्रिय परिचयपत्रको आधारमा दर्ता गर्नुपर्ने, नागरिक एपमा प्रयोगकर्ताले आफ्नो नाम, ठेगाना, लिङ्ग र राष्ट्रिय परिचयपत्र नम्बरजस्ता विवरण हेर्न सक्ने र कुनै पनि सेवाका लागि नागरिक एपबाट आवेदन दिने क्रममा राष्ट्रिय परिचयपत्रको भेरिफाइड डेटा प्रयोग गर्न सकिने छ ।
यससँगै अबको केही समयमा नागरिक एपमा राष्ट्रिय परिचयपत्रको विकल्प देखिने बताइएको छ ।