close

दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

टेकपाना टेकपाना

कात्तिक ५, २०८१ १४:४४

दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

काठमाडौं । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दुई इन्टरनेट सेवा प्रदायकको सेवाको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले लाइफ नेट प्रालि र डेटा कम्युनिकेसन प्रालिको इन्टरनेट (ई-मेल सहित) सेवाको अनुमतिपत्र खारेज गरेको जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार लाइफ नेटले अनुमतिपत्र नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेस नगरेकाले दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) बमोजिम ३० भदौदेखि लाइसेन्स स्वतः रद्द गरिएको हो । यसका साथै यस कम्पनीले तिर्न/बुझाउन बाँकी रकम आजको ३० दिनभित्र बुझाउन र नबुझाए कारबाही प्रक्रिया समेत अघि बढाउने प्राधिकरणले जनाएको छ ।

त्यस्तै डेटा कम्युनिकेसनले अनुमतिपत्रको सर्त बमोजिम सेवा सञ्चालन नगरेकाले दूरसञ्चार ऐन २०५३ को दफा २८ (१) अनुसार २ कात्तिकदेखि लाइसेन्स खारेज गरिएको हो ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ५, २०८१ १६:२१