close

के बालेनले रविको पक्षमा आन्दोलनमा सहभागी हुन आह्वान गरेका हुन् ?

टेकपाना टेकपाना

कात्तिक ६, २०८१ १८:४३

के बालेनले रविको पक्षमा आन्दोलनमा सहभागी हुन आह्वान गरेका हुन् ?

 

काठमाडौं । सामाजिक सञ्जालमा अहिले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को फोटोसहितका पोस्टहरू भाइरल भइरहेका छन् । ती पोस्टमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा आन्दोलनमा उपस्थित हुन आह्वान गरेको भनिएको छ । 

रास्वपा सभापति लामिछाने शुक्रबार सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका थिए । काठमाडौंमा पक्राउ परेका लामिछानेलाई सोही रात जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो । त्यसपछि रास्वपा समर्थकहरू आन्दोलित छन् ।

रास्वपाले यो ‘शान्तिपूर्ण आन्दोलन’मा सहभागी हुन नागरिकलाई आह्वान गरिरहेको छ‍ । यही समयमा काठमाडौं मेयर बालेनले लामिछानेको पक्षमा पोस्ट गरेको चर्चा भइरहेको छ । एक लाख आठ हजार बढी फलोअर भएको ‘मिम नेपाल’ (Meme Nepal) नामको पेजबाट फोटो पोस्ट भएको देखिन्छ । सो पोस्टमा भनिएको छ, “रविको पक्षमा उभिए बालेन शाह आन्दोलनमा सहभागी सबैलाई उपस्थित हुन आग्रह हेर्नुहोस् भिडिओ सहित ।”

उक्त लिङ्कमा एउटा थर्ड पार्टी लिङ्क राखिएको छ । यस लिङ्कको बारेमा एकैछिनमा चर्चा गरौंला त्यसभन्दा पहिले तल राखिएको अर्को क्याप्सनको चर्चा गरौं । त्यसमा बीएमडब्लूको तथ्य भन्दै अङ्ग्रेजी शब्दहरू राखिएको छ । यस्तो पोस्ट बढी रिच पाउने उद्देश्यले राखिएको हुन्छ । त्यसभन्दा तल अगाडि बालेन र पछाडि भीड लागेको फोटो राखिएको छ । फोटोमा बालेनले एक पर्चा समातेको देखाइएको छ, जसमा लेखिएको छ, “रिहाइ गर भ्रष्ट सरकार ।”

यही फोटो गुगलमा रिभर्स इमेज सर्च गरी हेर्दा भेटिंदैन । तर, अगाडि देखिएको बालेनको त्यही फोटो भने भेटिन्छ । उक्त फोटो बालेनले स्थानीय निर्वाचनमा भोट दिने समयमा खिचेको देखिन्छ । फोटो हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

यसमा बालेनले मतपत्र दोब्य्राएर मतपेटिकामा हाल्न तयार भएको प्रष्ट देखिन्छ । त्यही मतपत्र ‘रिहाइ गर भ्रष्ट सरकार’ टेक्स्ट राखी उक्त फोटोको ब्याकग्राउन्ड हटाएर भीड देखिएको फोटोको अघि राखिएको देख्न सकिन्छ । यी तथ्यबाट यो फोटो एडिट गराएर तयार पारिएको प्रष्ट हुन्छ । यही पोस्टलाई विश्वास गरेर अन्य केही सामाजिक सञ्जालका पेजहरूले सोही फोटो र क्याप्सन पोस्ट गरेका छन् । त्यस्तै बालेनले लामिछाने पक्राउ परिसकेपछि उनको विषयमा कतै पनि सार्वजनिक अभिव्यक्ति दिएको देखिंदैन । 

अब त्यसमा भएको लिङ्कको कुरा गरौं । उक्त लिङ्क विज्ञापनसँग सम्बन्धित छ । जति प्रयोगकर्तालाई उक्त लिङ्कमा क्लिक गराउन सक्यो लिङ्क तयार पार्ने व्यक्तिलाई त्यति नै रिवार्ड प्राप्त हुन्छ । त्यही लोभमा सर्वसाधारणलाई झुक्याएर लिङ्कमा क्लिक गराउन उक्त पेजका सञ्चालकले भ्रामक पोस्ट राखेको देखिन्छ । यस पेजबाट अपलोड भएका अन्य पोस्टमा पनि सोही किसिमका लिङ्क राखिएको देख्न सकिन्छ । उक्त लिङ्कमा क्लिक गर्दा अधिकांश समय नेपालमा प्रतिबन्ध भएको अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म ‘वनएक्स’ बेटको प्रचार भएको पाइएको छ । 

यो समाचार तयार पार्दासम्म सो पोस्टमा २५ हजार बढी लाइक, १७०० बढी कमेन्ट र ११०० बढी शेयर भएको देखिन्छ । त्यसमा लाइक, कमेन्ट र शेयर गर्ने अधिकांशले उक्त पेजले फैलाएको भ्रमलाई विश्वास गरेको विश्लेषण गर्न सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०८१ १८:४३