close

विद्युतीय चुलोमा कुन किन्ने ?

टेकपाना टेकपाना

कात्तिक १०, २०८१ १६:५२

विद्युतीय चुलोमा कुन किन्ने ?

काठमाडौं । पछिल्लो समय खाना पकाउने प्रविधिमा परिवर्तन आएको छ । परम्परागत ग्यास चुलो र विद्युतीय स्टोभको साटो इन्डक्सन र इन्फ्रारेड चुलो जस्ता नयाँ प्रविधि बजारमा आएका छन् । यस्ता चुलोले खाना पकाउने प्रक्रियालाई अझै सरल र सुरक्षित बनाएका छन् भने न्यूनतम ऊर्जा खपतमा ध्यान दिएका छन् ।

उपभोक्ताले पनि व्यस्त दैनिकीका कारण छिटो र सहज खाना पकाउने विकल्पका रूपमा विद्युतीय चुलोलाई प्राथमिकता राख्न थालेका छन् । साथै, वातावरणीय सचेतनाको कारण ऊर्जा बचत र कम प्रदूषणयुक्त उपकरणहरू प्रयोग गर्नतिर उनीहरूको रुचि बढेको छ । यहीकारण कम्पनीहरूले आधुनिक प्रविधिमा आधारित खाना पकाउने चुलोहरू ल्याएका छन् ।

फर्केर हेर्ने हो भने नेपालमा ०७२ सालको भू-कम्पपछि बजारमा विद्युतीय चुलोको माग बढ्दै गएको छ । अर्कोतिर देशमा उत्पादन भइरहेको बिजुलीको बजार र वातावरणको हिसाबले पनि सरकार आफैंले विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्दै आइरहेको छ ।

तर विद्युतीय चुलो प्रयोग गर्दा धेरै विद्युत खपत हुने अथवा महँगो हुने लगायतका धेरै धारणा उपभोक्तामाझ छन् । केही सीमित भाडाका लागि मात्र विद्युतीय चुलो उपयुक्त हुने सोचाइ पनि रहेको छ ।

नेपाली बजारमा बाल्ट्रा, यशुदा, प्रेस्टिज, फिलिप्स, अगेनो, सिजी लगायत ब्राण्डका यस्ता चुलो उपलब्ध छन् । तर उपभोक्ताहरूमा कस्तो प्रकारको विद्युतीय चुलो राम्रो अथवा आफ्नो आवश्यकता अनुसार कुन प्रकारको विद्युतीय चुलो खरिद गर्नु ठीक हुन्छ भन्ने विषयमा अन्यौलता छ ।

बजारमा विशेषगरी दुई प्रकारका विद्युतीय चुलो छन्; इन्डक्सन इन्फ्रारेड । बजारमा अहिले इन्डक्सन र इन्फ्रारेड दुवै चुलोको माग उत्तिकै छ । यी दुई चुलोमध्ये कुन किन्ने भन्ने विषयमा चर्चा गर्दैछाैं:

प्रकार: इन्डक्सन र इन्फ्रारेड दुवै विद्युतीय चुलो हुन् । सुन्दा एकै जस्तो लागे पनि यी दुवै चुलो फरक छन् । इन्डक्सन चुलोमा तामाको तारबाट बनेको कोइल हुन्छ भने इन्फ्रारेड चुलोमा ह्यालोजेन ल्याम्प र रेडियन्ट कोइलद्धारा हिट (तातो) उत्पन्न हुन्छ ।

तापक्रम: इन्डक्सन चुलोले छिट्टै हिट उत्पन्न गर्छ, तर यसको हिट चुलोको बीच भागमा हुन्छ । स्टेनलेस वा फलामको भाडामा चुम्बकीय शक्तिमार्फत यसले ताप प्रदान गर्दछ । यसबाट इन्फ्रारेडकाे तुलनामा चाँडाे खाना पकाउन सकिन्छ । तर यसमा डढ्ने सम्भावना पनि हुन्छ, अथवा बीचमा पाक्ने छेउतिर नपाक्ने पनि हुनसक्छ ।

अर्काेतर्फ इन्फ्रारेड चुलोमा विस्तारै हिट उत्पन्न हुँदै जान्छ भने यसले चुलोको सबैतिर बराबर तापक्रम बाँड्छ । यसले गर्दा यो चुलोमा खाना पकाउदा ग्यास चुलोमा पकाएको जस्तै गरी पाक्छ र विशेष ध्यान दिरहनु पर्दैन ।

इन्डक्सनमा झोल भएका खानेकुरा पकाउन सहज हुन्छ । फ्राइ भएका खाना पकाउन भने केही अप्ठ्यारो हुन्छ । इन्फ्रारेडमा तातो सबैतिरबाट आउने भएकाले खाना राम्रोसँग पाक्छ ।

खाना पकाउने भाडा: सामान्यतया इन्डक्सनमा फलाम अथवा स्टेनलेस स्टिलबाट बनेको भाडा मात्र प्रयोग गर्न मिल्छ भने इन्फ्रारेडमा सबै प्रकारको भाडा प्रयोग गर्न मिल्छ । इन्डक्सनमा खाना पकाउँदा भाडामात्रै तात्छ, तर चुलाेकाे सतह तात्दैन ।

बिजुली खपत: आजकल बजारमा उपलब्ध हुने दुवै किसिमका चुलो करिब २००० वाटसम्मका हुन्छन् । इन्डक्सनमा सिधै भाडामात्रै तताउने भएकाले यसले कम बिजुली खपत गर्छ भने इन्फ्रारेडमा केही बढी बिजुली खर्च हुन्छ ।

सुरक्षा: सुरक्षाको हिसाबले हेर्ने हो भने इन्डक्सन इन्फ्रारेडको तुलनामा केही सुरक्षित मानिन्छ । इन्डक्सन चुलोमा उपयुक्त हुने भाडा नराखेसम्म यो चुलो चल्दैन भने भाडा चुलोबाट हटाएपछि चुलो आफैं बन्द हुन्छ । त्यस्तै इन्फ्रारेड खाना पकाएर चुलो बन्द गरिसकेपछि पनि लामो समयसम्म चुलो तातो भइरहन्छ ।

इन्फ्रारेड चुलो प्रयोग गर्नुहुन्छ भने बच्चाको पहुँच नपुग्ने ठाउँमा राख्नुपर्छ । साथै चाइल्ड सेफ्टी र अन्य सुरक्षा फिचर भएका इन्फ्रारेड चुलो हेरेर खरिद गर्न सक्नुहुन्छ ।

रेडियसन: रेडियसनको हिसाबले हेर्ने हो भने इन्फ्रारेड चुलो बढी उपयुक्त हुनसक्छ । किनभने इन्फ्रारेड चुलोले रेडियसन प्रवाह गर्दैन, जबकि इन्डक्सन चुलोमा चुम्बकीय रेडियसन प्रवाह हुन्छ, जुन स्वास्थ्यका लागि (विशेषगरी मुटुराेगीका लागि) हानिकारक हुनसक्छ । यसैले इन्डक्सन चुलो प्रयोग गर्ने प्रयोगकर्ताले चुलो वरिपरि बस्दा ध्यान दिनुपर्ने हुन्छ ।

सफा: सरसफाइको कुरामा इन्फ्रारेडमा भन्दा इन्डक्सन चुलो सफा गर्न बढी सहज हुन्छ । 

टिकाउ: इन्डक्सन चुलो लगभग पाँच वर्ष र इन्फ्रारेड चुलो लगभग १० वर्ष चल्छ ।

मूल्य : इन्डक्सनको तुलनामा इन्फ्रारेड चुलोको मूल्य थोरै बढी पर्नसक्छ । तर इन्डक्सनमा खाना पकाउने भाडासमेत छुट्टै (फलाम वा स्टेनलेस) किन्नुपर्ने भएकाले समग्रमा इन्डक्सन महँगो पर्न जान्छ ।

यो पनि पढ्नुहोस्:
उपयुक्त चुलो कसरी छान्ने ?

पछिल्लो अध्यावधिक: कात्तिक १०, २०८१ १७:११