close

इन्टरनेटमा बालबालिकालाई कसरी सुरक्षित राख्ने ? यसो भन्छ चाइल्ड सेफ नेट

टेकपाना टेकपाना

मंसिर ९, २०८१ १०:४१

इन्टरनेटमा बालबालिकालाई कसरी सुरक्षित राख्ने ? यसो भन्छ चाइल्ड सेफ नेट

काठमाडौं । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसका सकारात्मक र नकारात्मक पक्षहरू स्पष्ट रूपमा देखिन थालेका छन् । विशेषगरी बालबालिकाको सन्दर्भमा यस्ता पक्षहरू झन् गम्भीर बनेका छन् । परिपक्वता नपुगेका कारण बालबालिका इन्टरनेटमा के गर्ने र के नगर्ने भन्नेबारे प्रायः सचेत हुँदैनन् । यसले गर्दा उनीहरू अनलाइन आक्रमणको सिकार हुने सम्भावना निकै उच्च हुन्छ ।

यसलाई मध्यनजर गर्दै ‘चाइल्ड सेफ नेट’ नामक संस्थाले सचेतनाका काम गर्दै आइरहेको छ । सन् २०१७ देखि यो संस्था निरन्तर अनलाइनमा बालबालिकालाई सुरक्षित राख्ने विषयमा सचेतना कार्यक्रम गर्दै आइरहेको छ ।

पछिल्लो समय यो संस्था टिकटकसँग सहकार्य गरेर डिजिटल सचेतना कार्यक्रम आयोजना गरिरहेको छ । त्यही अन्तर्गत शुक्रबार यस संस्थाले होटल स्क्वायरमा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका ४० विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी एक दिने कार्यशाला आयोजना गरेको छ । 

चाइल्ड सेफ नेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले पछिल्लो समय नेपालमा अनलाइनमा बालयाैन दुर्व्यवहारका घटना बढ्दै गएकाले समयमै सुरक्षित हुने तरिकाबारे सचेत बनाउनु पर्ने बताए ।

“नेपालमा अहिले साइबर ग्रुमिङ, बाल यौन दुर्व्यवहार, बालबालिका बेचबिखन तथा बालविवाहका घटना बढ्दै गएका छन्,” संस्थापक रघुवंशीले भने, “यस्ता घटना न्यूनीकरण सचेतनाबाट मात्र सम्भव छ । त्यसैले हामी विद्यालय, विद्यार्थी र अभिभावकलाई सचेत बनाइरहेका हुन्छौं ।” 

सरकार र सम्बन्धित निकायले पनि नेपालमा बढ्दै गएका साइबरजन्य घटना न्यूनीकरण गर्नका लागि प्रभावकारी रूपमा काम गर्नुपर्ने रघुवंशीले बताए । त्यसका लागि अन्तर्राष्ट्रिय प्लेटफर्मसँग सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । उनले अगाडि भने, “प्रविधि र यसबाट हुनसक्ने घटना सँगसँगै आए । तर, सचेतनामा पछि परियो । इन्टरनेट सुरक्षित ठाउँ हुनुपर्नेमा ठ्याक्कै त्यसको विपरीत हुँदै गइरहेको छ ।”

बालबालिका कसरी अनलाइन यौन दुर्व्यवहार र शोषणमा पर्न सक्छन् ?

साइबर ग्रुमिङ

साइबर ग्रुमिङ भनेको बालबालिकालाई यौन दुर्व्यवहार र शोषणका लागि अनलाइनमा साथी बनेर फकाउने, लोभ देखाउने कार्य हो । 

बालयौन दुर्व्यवहार र शोषण सामग्री

अवैध व्यवसायका लागि समेत प्रयोग हुनसक्ने बालबालिकाका यौनजन्य फोटो, भिडिओ र लेखाई यसमा पर्छन् । 

अनलाइन यौन बदला 

बदलाका लागि प्रेमी/पूर्वप्रेमीद्वारा यौनजन्य फोटो वा भिडिओ बनाएर वा अरूलाई पठाउने कार्य अनलाइन यौन बदलामा पर्छ । 

बाल यौन दुर्व्यवहार र शोषणको प्रत्यक्ष प्रसारण

वेबक्यामको अगाडि बालबालिकालाई यौनजन्य क्रियाकलाप गराई प्रत्यक्ष प्रसारण गराउने कार्य ।

सेक्सटोर्शन

यौनजन्य वा नग्न/ अर्धनग्न फोटो वा भिडिओ प्रयोग गरी यौन, पैसा वा अन्य असुली (ब्ल्याकमेलिङ) गर्ने काम सेक्सटोर्शन हो ।

सेक्सटिङ

मेसेजमा पठाइने यौनजन्य फोटो, भिडिओ, लेखाइ, जुन यौन शोषणका लागि प्रयोग गरिन सक्छ, त्यो नै सेक्सटिङ हो । 

इन्टरनेटमा सुरक्षित रहन के गर्ने ?

  • साना र ठूला अक्षरका साथै अङ्क र चिन्ह समेत राखेर कम्तीमा अठ अक्षर को पासवर्ड बनाउने, जस्तै - Ok#@%@!

  • कसैले अनलाइनमा नग्न वा अर्धनग्न फोटो/भिडिओ वा अश्लील मेसेज पठाएमा वा देखाउन/पठाउन भनेमा आमाबुबा वा विश्वासिलो साथीलाई भन्ने ।

  • अनलाइनमा यौन दुर्व्यवहार र यौन शोषण गर्न खोज्नेलाई ब्लक गर्ने र रिपोर्ट गर्ने ।

  • अपरिचित व्यक्तिलाई एड नगर्ने ।

  • सामाजिक सञ्जालका अकाउन्टमा टु फ्याक्टर अथेन्टिकेसन राख्ने ।

  • पासवर्ड कसैलाई पनि नदिने, मिल्ने साथीलाई पनि नदिने ।

  • आफूलाई नराम्रो र अप्ठ्यारो पार्नसक्ने फोटो र भिडिओ फोन, कम्प्युटर र सामाजिक सञ्जालमा नराख्ने, अरुलाई पनि नपठाउने ।

  • अनलाइनमा भेटिएका मानिसले बाहिर एक्लै भेट्न बोलाएमा नजाने । राम्ररी नचिनेका मानिससँग अनलाइनमा साथी नबन्ने ।

पछिल्लो अध्यावधिक: मंसिर ९, २०८१ ११:७