काठमाडौं । अहिले एलन मस्क स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सबाट ठूलो संख्यामा प्रयोगकर्ता निस्किरहेका छन् । विशेषगरी यो शृङ्खला हालै सम्पन्न अमेरिकी राष्ट्रपति चुनावपछि भएको हो । एक्स छाड्नेमा सामान्य प्रयोगकर्तादेखि चर्चित सेलिब्रिटीहरू तथा संघसंस्था समेत छन् ।
यसै महिनामा मात्र बेलायती समाचार प्रकाशन द गार्डियनले आफ्नो एक्स अकाउन्टलाई आर्काइभ गर्ने र अब त्यहाँ पोस्ट नगर्ने निर्णय गरेको छ । यदि तपाईंले पनि आफ्नो सामाजिक सञ्जाल अकाउन्ट एक्स डिलिट गर्ने सोचिरहनु भएको छ भने आज हामी त्यसबारे चर्चा गर्ने छौं:
सुरुमा यो काम स्मार्टफोन एपबाट कसरी गर्नेभन्ने चर्चा गरौं:
आफ्नो एक्स अकाउन्टमा साइन इन गर्नुहोस् ।
प्रोफाइल आइकनमा ट्याप गर्नुहोस् ।
साइड मेनुमा स्क्रोल गर्नुहोस् । र, Settings and Support मा ट्याप गरी Settings and Privacy मा जानुहोस् ।
त्यहाँबाट Your account भित्रको Deactivate your account मा जानुहोस्।
अब Deactivate मा ट्याप गर्नुहोस्।
यसपछि तपाईंले आफ्नो पासवर्ड राख्नुपर्ने हुन्छ । जसै तपाईंले यो चरण पूरा गर्नुहुन्छ, अकाउन्ट डिएक्टिभेट अर्थात् निष्क्रिय हुनेछ । यदि तपाईंले आफ्नो निर्णय परिवर्तन गर्नुभयो भने निष्क्रिय बनाएको ३० दिनभित्र अकाउन्ट पुनः सक्रिय गर्न सक्नुहुन्छ । यहाँ सम्झनुपर्ने कुरा के छ भने अकाउन्ट निष्क्रिय गर्नु भनेको डिलिट गर्नु होइन ।
यदि तपाईंलाई आफ्नो अकाउन्ट स्थायी रूपमा डिलिट गर्नै छ भने ३० दिनसम्म आफ्नो अकाउन्टलाई पुन: एक्टिभेट गर्नुहुन्न । ३० दिन कटेपछि स्वत: तपाईंको अकाउन्ट स्थायी रूपमा डिलिट हुनेछ ।
अब कम्प्युटरबाट यो काम गर्नेबारे चर्चा गरौं:
यदि तपाईं कम्प्युटरको वेब ब्राउजरबाट एक्स चलाउनुहुन्छ भने निम्न प्रक्रिया अपनाउनुहोस्:
ब्राउजरमार्फत आफ्नो एक्स अकाउन्टमा साइन इन गर्नुहोस् ।
बायाँ मेनुमा More हुँदै Settings and privacy मा जानुहोस् ।
Your Account सेक्सन अन्तर्गत Deactivate your account मा क्लिक गर्नुहोस् ।
Deactivate मा क्लिक गर्नुहोस् ।
यसपछि आफ्नो पासवर्ड राख्नुहोस् ।
यसरी तपाईंले स्मार्टफोन एप र वेब ब्राउजर दुवैबाट एक्स अकाउन्ट डिलिट गर्न सक्नुहुन्छ । तर यस बीचमा तपाईंले अकाउन्टमा आफ्ना महत्त्वपूर्ण डेटा छन् भने डाउनलोड गर्न नबिर्सनु होला ।