close

अप्ठेरोमा साथ दिएकोमा प्रयोगकर्तालाई वर्ल्डलिंकको धन्यवाद, कुनाकाप्चासम्म सेवा पुराउने बाचा*

टेकपाना टेकपाना

मंसिर १८, २०८१ १३:३०

अप्ठेरोमा साथ दिएकोमा प्रयोगकर्तालाई वर्ल्डलिंकको धन्यवाद, कुनाकाप्चासम्म सेवा पुराउने बाचा*

काठमाडौं । देशकै ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले कानुनी लडाइँको अप्ठेरो समयमा समेत साथ दिएको भन्दै ग्राहक तथा प्रयोगकर्ताको नाममा कृतज्ञता व्यक्त गरेको छ । २५ वर्षे नेटवर्क र इन्टरनेट सेवा सम्बन्धी लाइसेन्स नवीकरण गरेपछि मङ्गलबार एक सूचना जारी गर्दै कम्पनीले यस्तो सन्देश जारी गरेको हो ।

कम्पनीले यही १३ मङ्सिरका दिन आफ्ना दुवै लाइसेन्सको नवीकरण प्राप्त गरिसकेको छ । विगत लामो समयदेखि मर्मत सम्भार शुल्क सम्बन्धी मुद्दामा गएको वर्ल्डलिंकले त्यसलाई आफ्नो संवैधानिक हक उपयोगको रूपमा बुझिदिन अनुरोध गरेको छ । सर्वोच्च अदालतले सो मुद्दामा वर्ल्डलिंकको विपक्षमा फैसला सुनाएपछि सोको सम्मान गर्दै उसले आफ्नो कानुनी दायित्व पुरा गरिसकेको छ ।

जस अनुरूप गएको ३० कात्तिकमा उसले रोयल्टी र ग्रामीण दूरसञ्चार कोष बक्यौता बापत दुई अर्ब १५ करोड रुपैयाँ बुझाएको थियो । यो लामो कानुनी प्रक्रियाका दौरान समेत संस्थालाई भरोसा दिलाएकोमा कम्पनीले ग्राहकप्रति आभार समेत व्यक्त गरेको छ । "यस प्रक्रियामा प्रत्यक्ष-अप्रत्यक्ष सघाउनु हुने, चासो राख्ने, र सहयोग गर्ने सम्पूर्ण जनलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं," कम्पनीले भनेको छ । "संस्थाले तिर्नुपर्ने भनि तोकिएको रकमका लागि तुरुन्तै ऋण उपलब्ध गराइदिनु हुने बैंकहरू प्रति हामी कृतज्ञ छौं ।"

विशेषतः संस्था अन्तर्गत देशभर फैलिएको इन्टरनेट प्रविधिको सञ्जाल मार्फत सूचना र सञ्चार क्षेत्रसँग जोडिने र आफ्नो सेवा तथा गुणस्तरीय प्रतिबद्धतालाई विश्वास गर्दै यो अप्ठेरो समयमा समेत आड र भरोसा प्रदान गर्ने सम्पूर्ण ग्राहक, प्रयोगकर्ताहरू र कर्मचारी साथीलाई उसले धन्यवाद व्यक्त गरेको छ ।

यसैबीच ग्राहकको चाहना अनुरूप आफ्ना सेवाहरू अझै अत्याधुनिक, अझै भरोसा योग्य र ग्राहकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले नेपालका हरेक कुना काप्चामा आफ्नो सञ्जाल विस्तार गर्ने समेत बताएको छ ।

(*समाचारको शीर्षक परिवर्तन गरिएको छ ।)

पछिल्लो अध्यावधिक: मंसिर १८, २०८१ १६:३७