close

कस्तो छ, रोबोट जस्तो देखिने टेक्नो स्मार्टफोन ?

गणेश सुवेदी गणेश सुवेदी

मंसिर १९, २०८१ ११:३८

कस्तो छ, रोबोट जस्तो देखिने टेक्नो स्मार्टफोन ?

काठमाडौं । नेपाली बजारमा टेक्नो ब्राण्डले ‘टेक्नो स्पार्क ३०’ फोन ल्याएको छ । यो फोन फिचरका साथसाथै डिजाइनका कारण चर्चामा छ । १६ जीबीसम्म र्‍याम बढाउन सकिने फोनमा ६४ मेगापिक्सलको सोनी क्यामेरा राखिएको छ ।

यो आकर्षक डिजाइन र थुप्रै एआई फिचर भएको स्मार्टफोन हो । अन्य स्मार्टफोनभन्दा केही फरक डिजाइनमा आएको यो मोडेल ट्रान्सफर्मर्स थिममा आधारित छ । यसको लुक्स र कलर ‘बम्बलबी’ पात्रबाट प्रेरित छ । यसमा वलपेपर बनाउने, फोटो परिमार्जन गर्ने, टेक्स्टलाई चित्रमा बदल्ने, स्केचलाई चित्रमा बदल्ने जस्ता धेरै एआई फिचर छन् । २२ हजार ९९० रुपैयाँ पर्ने यो फोन मूल्य अनुसार कत्तिको उपयुक्त होला त ?

मैले सुरुवातमै ट्रान्सफर्मर्स थिम्ड डिजाइनको कुरा त भनेँ, तर धेरैलाई यो कुरा थाहा नहुन सक्छ । यो फोन ट्रान्सफर्मर्स फिल्म फ्रेन्चाइजसँगको सहकार्यमा ल्याइएको हो । जहाँ बम्बलबी पात्र फ्रेन्चाइजकै लोकप्रिय हिस्सा हो । युवापुस्तालाई यसबारे राम्ररी जानकारी होला । यदि यो कलर मन परेन भने अर्को स्टेलर श्याडो कलर अप्सनमा पनि फोन उपलब्ध छ । उक्त कलर भेरियन्टको डिजाइन र लुक्स चाहिं अन्य स्मार्टफोन जस्तै सामान्य छ ।

‘टेक्नो स्पार्क ३०’ को फ्रेम र पछाडिको भाग प्लास्टिकले बनेको छ । क्यामेरा बम्प अर्थात् केही माथि उठेको छ । यसमा सोनीको ६४ मेगापिक्सलको मुख्य क्यामेरा र डेप्थ सेन्सर दिइएको छ । साथै क्वाड एलईडी फ्ल्यास लाइट पनि छ । यसको प्रमुख विशेषता भनेको मुख्य क्यामेरामा सोनी आईएमएक्स ६८२ सेन्सर प्रयोग गरिएको छ । 

फोनमा स्टेरियो स्पिकर र ३.५ एमएम ज्याक समेत उपलब्ध छ । माथि डल्बी एटम्स लेखिएको देखिन्छ । अर्थात् कम्पनीले अडियो क्वालिटीमा पनि विशेष ध्यान दिएको देखिन्छ । दुई ओटा सिम सपोर्ट र साइडमा फिङ्गरप्रिन्ट सेन्सर पनि उपलब्ध छ । यो सेन्सर स्तरीय फोन जत्तिकै रेस्पोन्सिभ छ भन्दा फरक नपर्ला । सुरक्षका लागि फेस अनलक, पिन र प्याटर्न विकल्प राख्न कम्पनीले छुटाएको छैन ।

यसमा मोबाइल एन्टि-थेफ्ट फिचर पनि छ । पावर अफ भेरिफिकेसन, अनलक क्याप्चर र थेफ्ट अलर्ट जस्ता सुविधाहरू छन् । अनलक क्याप्चर फिचर अन गरेमा कसैले तपाईंको अनुमति बिना फोन अनलक गर्न खोजेमा उसको फोटो खिचेर फोनले सुरक्षित राख्छ ।

फोनको यूआई पनि विशेष छ । डिफल्ट मा बम्बलबी लुक्सको थिम आउँछ तर तपाईंले यसलाई परिवर्तन गर्न सक्नुहुन्छ । मल्टि-टास्किङका लागि एज प्यानल पनि उपलब्ध छ । यसमा आइफोन को डाइनामिक आइल्याण्ड जस्तै डाइनामिक पोर्ट पनि छ । यसले फोन चार्ज गर्दा, अडिओ रेकर्ड गर्दा वा फेस अनलक गर्दा विशेष अनुभव दिन्छ । नराम्रो कुरा चाहिँ फोनमा धेरै ब्लोटवेयर छन् ।

एन्ड्रोइड १४ मा आधारित फोनमा एचाईओएस १४.५ (HiOS 14.5) यूआई दिइएको छ । यसमा ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज उपलब्ध छ । र्‍यामलाई भर्चुअल रूपमा १६ जीबीसम्म बढाउन सकिन्छ । यसमा माइक्रो एसडी कार्डको सपोर्ट पनि छ, जसले गर्दा तपाईंले छुट्टै मेमोरी कार्ड किनेर राख्न सक्नुहुन्छ । फोनले डुअल ब्यान्ड वाई-फाई र एनएफसी पनि सपोर्ट गर्छ । यत्तिको बजेट फोनमा एनएफसीको फिचर हुनु धेरै राम्रो मानिन्छ । 

फोनमा मिडियाटेक हेलियो जी ९१ चिपसेट छ । यो १२ एनएम प्रविधिमा आधारित अक्टाकोर प्रोसेसर हो । सामान्य काम जस्तै सोसल मिडिया चलाउन, फोटो खिच्न समस्या हुँदैन । तर, धेरै हेभी काम गर्दा फोन अलि तात्छ ।

मैले यसमा पब्जी खेलेर हेरें । गेम स्मुथ नै चल्छ । पब्जी भने एचडी ग्राफिक्स र हाई फ्रेमरेटमा चल्दो रहेछ । यसमा जाइरोस्कोप पनि छ, तर अलि स्मुथ नभएको हो कि जस्तो लाग्यो । यद्यपि यो अनुभव व्यक्तिपिच्छे फरक हुन सक्छ । 

डिस्प्लेको कुरा गर्दा फोनमा ६.७८ इन्चको ९० हर्ज आईपीएस एलसीडी पञ्च होल डिस्प्ले छ । यसको ब्राइटनेस ८०० निट्ससम्म पुग्छ । भित्र प्रयोग गर्दा पर्याप्त छ, तर बाहिर घाममा अलि समस्या हुन सक्छ ।

अब क्यामेराको कुरा गरौं । सोनी आईएमएक्स ६८२ सेन्सर भएको मुख्य क्यामेराले राम्रो फोटो खिच्छ । उज्यालोमा फोटो निकै स्पष्ट आउँछ । जुम गरेर हेर्दा पनि डिटेल्स राम्रोसँग देखिन्छ । तर कम उज्यालोमा एक्स्पोजर कन्ट्रोलमा अझै सुधार गर्न सकिन्थ्यो ।

१३ मेगापिक्सलको सेल्फी क्यामेराले पर्याप्त उज्यालोमा राम्रो फोटो दिन्छ । क्यामेरामा एआईजीसी पोट्रेट, सुपर नाइट, स्लो मोसन, ब्लग लगायतका मोड दिइएको छ ।

फोनमा ५००० एमएएचको क्षमताको ब्याट्री समावेश गरिएको छ । यसलाई चार्ज गर्न १८ वाटको टाइप-सी चार्जर उपलब्ध गराइएको छ । मेरो अनुभवमा फोन सामान्य प्रयोगमा एक-दुई दिन सजिलै चल्यो ।

समग्रमा यस फोनमा उपलब्ध फिचरले मूल्यलाई न्याय गरेको देखिन्छ । यदि २२-२३ हजारको बजेटमा आकर्षक लुक्स, प्रशस्त स्टोरेज र रोचक एआई फिचर भएको फोन खोजिरहनुभएको छ भने यो फोन तपाईंको रोजाइमा पर्न सक्छ । फिचर र अन्य विशेषता तपाईंका लागि उपयुक्त छन् वा छैनन् भन्ने अध्ययन गरेर फोन खरिद गर्दा राम्रो हुन्छ ।

पछिल्लो अध्यावधिक: माघ ३, २०८१ १३:५५