काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका कृष्णप्रसाद अधिकारी, चितवनका रूपक शर्मा पौडेल र सप्तरीका लक्ष्मण यादव रहेका छन् । साइबर ब्युरोको टोलीले शुक्रबार उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
महिलाका गोप्य तस्बिर र भिडिओ अन्यलाई पठाउँथे अधिकारी
रौतहटका ३९ वर्षीय कृष्णप्रसाद अधिकारीले फेसबुकमार्फत पीडित महिलासँग संवाद सुरु गरेका थिए । कुराकानीको क्रममा उनले महिलाका गोप्य तस्बिर र भिडिओ मागे । ती सामग्री आफन्त र साथीहरूको मेसेन्जरमा पठाई आफ्नो चरित्रहत्या गरेको भन्दै पीडित महिलाले प्रहरी कार्यालयमा उजुरी दिइन् । यसपछि पक्राउ परेका अधिकारीलाई साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ ।
अश्लील शब्द प्रयोग गरेर ह्वाट्सएप ग्रुपमा महिलाको फोटो शेयर गर्ने पौडेल
पक्राउ पर्नेमध्ये अर्का व्यक्ति हुन्, चितवनका ३७ वर्षीय रूपक शर्मा पौडेल । सामाजिक सञ्जालमार्फत चिनजान भई प्रेम सम्बन्धमा पुगेपछि पौडेल र पीडित महिलाबीच गोप्य तस्बिर आदानप्रदान भएका थिए । पीडित महिलाका अनुसार आरोपी पौडेलले अश्लील शब्दहरू लेखी पीडितको सम्पर्क नम्बरसहित विभिन्न ह्वाट्सएप ग्रुपमा ती फोटो पोस्ट गरेका थिए । यस घटनापछि पीडित महिलाले उजुरी दिइन् । पक्राउ परेका पौडेलमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
यादवको सामाजिक सञ्जालमार्फत अपराध
तेस्रो आरोपी सप्तरीका २४ वर्षीय लक्ष्मण यादव (जगदिशप्रसाद यादव) हुन् । फेसबुकमार्फत चिनजान भई निकट सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा रेकर्ड गरिएका भिडिओ आफन्तलाई पठाएको थाहा पाएपछि महिलाले उजुरी दिएकी थिइन् । ब्युरोले प्राविधिक विश्लेषण गर्दै यादवको संलग्नता पुष्टि भएपछि कतारबाट नेपाल फर्किंदा विमानस्थलबाट उनलाई नियन्त्रणमा लिइएको हो । यादवलाई आइतबार अदालतमा पेस गरिने ब्युरोले जनाएको छ ।