काठमाडौं । अमेरिकामा आगामी १९ जनवरीदेखि चर्चित सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध हुनसक्ने देखिएको छ । शुक्रबार अमेरिकी प्रतिनिधि सभाका चीनसम्बन्धी समितिका अध्यक्ष र प्रमुख डेमोक्र्याट सदस्यले एप्पल र गुगललाई एप स्टोरबाट टिकटक हटाउन तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
गत हप्ता अमेरिकी संघीय अपिल अदालतले चीनमा रहेको बाइटडान्सलाई अमेरिकामा टिकटक बिक्री गर्न बाध्य पार्ने वा प्रतिबन्धको सामना गर्नुपर्ने कानुनलाई समर्थन गरेको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार समितिका अध्यक्ष रिपब्लिकन प्रतिनिधि जोन मुलनार र समितिका प्रमुख डेमोक्रेटिक सदस्य प्रतिनिधि राजा कृष्णमूर्ति दुवैले छुट्टाछुट्टै रूपमा टिकटकका सीईओ शोउ जी चियोलाई टिकटक बिक्री गर्न आह्वान गरेका छन् ।
यदि बिक्री गर्न आनाकानी गरे डोनाल्ड ट्रम्पले औपचारिक रूपमा सरकारको नेतृत्व गर्नु एक दिनअघि टिकटकमाथि प्रतिबन्ध लाग्नेछ । २० जनवरीमा राष्ट्रपति ट्रम्पले औपचारिक रूपमा चार वर्षका लागि सरकारको नेतृत्व गर्नेछन् ।
अमेरिकामा मात्र टिकटकका १७ करोड बढी प्रयोगकर्ता रहेका छन् । “अमेरिकी कांग्रेसले राष्ट्रिय सुरक्षाको बचाउ गर्न र अमेरिकी टिकटक प्रयोगकर्तालाई चिनियाँ कम्युनिस्ट पार्टीबाट सुरक्षित राख्न निर्णायक कदम चालेको छ । हामी टिकटकलाई तुरुन्तै योग्य सम्पत्ति बिक्री प्रक्रिया अघि बढाउन आग्रह गर्दछौं,” सांसदहरूले लेखेका छन् ।
एप्पल, अल्फाबेट र टिकटकले सञ्चार माध्यमहरूलाई तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । सोमबार बाइटडान्स र टिकटकले अमेरिकी सर्वोच्च अदालतबाट पुनरावलोकन नभएसम्म कानुनलाई अस्थायी रूपमा रोक्न आपतकालीन निवेदन दर्ता गरेका थिए ।
अमेरिकी न्याय विभागका अनुसार यदि १९ जनवरीमा टिकटकमाथि अमेरिकामा प्रतिबन्ध लाग्यो भने एप डाउनलोड गरेका एप्पल वा गुगलका प्रयोगकर्तालाई केही फरक पर्ने छैन । तर, उनीहरूले टिकटकबाट पाउने सपोर्ट भने पाउने छैनन् ।
बिहीबार टिकटकले जवाफमा भने अनुसार यदि अदालतको आदेशबिनै यो कानुन १९ जनवरीदेखि लागू भएमा टिकटकलाई मोबाइल एप स्टोरबाट हट्नेछ । र देशका आधाभन्दा धेरै मानिसहरू यसलाई प्रयोग गर्नै नसक्ने अवस्थामा पुग्नेछन् । पहिल्यै डाउनलोड गरिसकेका प्रयोगकर्ताले पनि सपोर्ट सर्भिस पाएनन् भने यो प्लेटफर्म अमेरिकाभित्र पूर्ण रूपमा प्रयोग गर्न नसकिने अवस्थामा पुग्नेछ ।
बाइटडान्स र टिकटकले भने नवनिर्वाचित राष्ट्रपति ट्रम्पले टिकटकमाथि प्रतिबन्ध रोक्न प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरेका छन् ।
रिपब्लिकन सिनेटर जोस हावलीले एक अन्तर्वार्तामा भने, “मलाई आशा छ कि बाइटडान्सले टिकटक अमेरिकी कम्पनीलाई बेच्नेछ । किनभने यस कानुनमा कुनै अपवादको ठाउँ छैन ।” उनले अगाडि थपे, “कानुन जस्तो छ, त्यस्तै छ । मुख्य समस्या यो हो कि टिकटक चिनियाँ नियन्त्रणमा छ र बेइजिङको निगरानीको अधीनमा छ । यही नै वास्तविक समस्याको जड हो ।”