close

अनलिमिटेड डेटाका लागि एनसेलले ल्यायो सापटी सुविधा, कति लाग्छ सेवाशुल्क ?

टेकपाना टेकपाना

पुस ४, २०८१ १८:५९

अनलिमिटेड डेटाका लागि एनसेलले ल्यायो सापटी सुविधा, कति लाग्छ सेवाशुल्क ?

काठमाडौं । एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्ने भएका छन् । कम्पनीले एक दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी सुविधा ल्याएको हो ।

यो सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स रु ५ भन्दा कम भएका प्रिपेड ग्राहकले एक दिन अर्थात् २४ घन्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्छन् । कम्पनीले यो सुविधा १ पुसबाट दिन थालेको हो ।

अनलिमिटेड डेटाको शुल्क कर सहित रु ५० रहेको छ । ग्राहकले यो डेटा सापटी लिएपछि २४ घन्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको भरपूर फाइदा उठाउन सक्ने कम्पनीको भनाइ छ ।

अनलिमिटेड डेटा सापटी लिन ग्राहकले *९९८८*४# डायल गर्नुपर्छ । सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिन्छ । 

कर सहितको सेवा शुल्क रु २.४८ र एक दिने अनलिमिटेड डेटाको रु ५० गरी ब्यालेन्स रिचार्ज गर्दा कुल रु ५२.४८ काटिन्छ । सिम लिएर सेवा लिन थालेको कम्तीमा ३० दिन भएका ग्राहकले यो डेटा सापटी लिन सक्छन् । 

अनलाइनबाटै हाल जारी नेपाल प्रिमियर लिगका खेलहरु हेर्न लगायत इन्टरनेट सेवाको फाइदा लिन यो सुविधा धेरै उपयोगी हुने विश्वास एनसेलले लिएको छ । एनसेलले यो अनलिमिटेड डेटा बाहेक रु ४० ब्यालेन्स सापटी, तीन दिने १ जीबी डेटा सापटी, तीन दिन समयसीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी सुविधामार्फत प्रदान गर्दै आएको छ । 

पछिल्लो अध्यावधिक: पुस ५, २०८१ ८:२१