प्रसिद्धि (भाइरालिटी) कसरी चाँडै नै शोषण र बेवास्तामा बदलिन सक्छ भन्ने यथार्थका वास्तविक पात्र बनेका छन्, सचिन परियार । सरल गाउँले जीवनमा रमाइरहेका उनी एकाएक सामाजिक सञ्जालमा सबैका प्रिय ‘बाल कलाकार’ बने । मधुर उनको लवजलाई धेरैले टिकटकमा लिप सिङ्क गर्ने माध्यम बनाए । क्रमशः उनी सबैबाट बेवास्ताका पात्र बने र, कलिलो उमेरमा १८ पुस २०८१ मा सधैँका लागि अस्ताए ।
यस यात्रामा शोषक मिडिया प्रवृत्ति, पारिवारिक बेमेल, जिम्मेवार अभिभावकत्वको अभाव र बालअधिकार संरक्षणमा रहेको प्रणालीगत कमजोरी छताछुल्ल भएको छ । सचिनको जीवनका विभिन्न पक्षलाई विश्लेषण गर्दै उनको असामयिक निधन र त्यसले उजागर गरेको नेपाली समाजको चरित्रबारे चर्चा हुन थालेको छ:
गुमनामबाट एकाएक चर्चामा
सन् २०२० तिर कोभिड महामारीले विश्व नै आक्रान्त बनेको थियो । त्यही समयमा गुल्मीको अर्घाखाँची पार्कमा रमाइरहेका सचिनको सानो भिडिओ टिकटकमा भाइरल भयो । हेर्दा सामान्य क्षण भए पनि त्यसले उनलाई एकाएक चर्चामा पुर्यायो । उनको अनौठो बोल्ने शैली, हाउभाउ र मोहक व्यक्तित्वले आम सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान खिच्न सफल भयो ।
धेरैले रुचाएपछि भिडिओ भाइरल बन्यो । त्यसपछि उनी युट्युबरको आँखामा परे । विभिन्न युट्युबर र अनलाइन मिडियाले उनका विभिन्न पक्षलाई कथाका रूपमा बाहिर ल्याए । अझ भनौँ उनको चाखलाग्दो शैली र लोकप्रियतालाई आफ्नो फाइदाको लागि उपयोग गर्न थाले । यहीँबाट मनोरञ्जन क्षेत्रमा सचिनको यात्रा सुरु भयो ।
सफलताको भ्रम
अचानक आएको प्रसिद्धिले केही क्षणिक फाइदा नदिएको पनि होइन । सचिनलाई उनको गाउँबाट काठमाडौं ल्याइयो र विभिन्न गीत रेकर्ड गराइयो । उनलाई एउटा बोर्डिङ स्कुलमा भर्ना पनि गरियो । छोटो समयमा सचिनको परिवारले अल्पकालीन रूपमा भए पनि स्तर उठेको अनुभव गर्न पायो । विभिन्न व्यक्तिहरूको सहयोगमा सचिनले राजेश हमालजस्ता चर्चित कलाकारहरूसँग सहकार्य गरे । ‘इन्द्रेणी’ र ‘मेरी बास्सै’ जस्ता लोकप्रिय कार्यक्रमका प्रस्तुति र अभिनयमा देखा परे । त्यही बेला सचिनले गाएको ‘ओठ खोलेर’ बोलको गीत केही समयमै करोड क्लबमा पुग्यो ।
यसबाट बाहिरी रूपमा सफलताको झलक देखिए पनि पर्दा पछाडि अर्कै यथार्थ लुकेको थियो । सचिन परियार सुरुवातमा जसरी विभिन्न मिडियाका युट्युब भिडिओमा देखिए, त्यसलाई दर्शकले बडो चासोका साथ हेरे । उनको अनौठो व्यक्तित्वले सबैलाई मन्त्रमुग्ध बनायो । सचिनले म्युजिक भिडिओ र दोहोरी कार्यक्रममा उपस्थिति जनाउन थाले । उनले राजु परियार र बीमाकुमारी दुरा जस्ता प्रसिद्ध गायक गायिकाका गीतमा पनि अभिनय गरे ।
नेपाल टेलिभिजनबाट प्रसारित दोहोरी च्याम्पियनमा पनि सचिन सहभागी बने । तर यी उपलब्धिहरू उनका लागि अवसर र सकारात्मक वातावरणका सूचक थिएनन् । थिए त केवल उनको प्रतिभा र निर्दोपनलाई व्यावसायिक फाइदाका लागि शोषण गर्ने उपकरण ।
प्रसिद्धिको आवरण भित्र शोषण र बेवास्ताको दुःखद कथा लुकेको थियो । सचिनलाई उनका बुबा र विभिन्न युट्युबरहरूले ‘धन कमाउने साधन’ का रूपमा प्रयोग गरे । सचिन आफ्नो व्यक्तिगत आवश्यकता, बालापन र इच्छालाई बेवास्ता गर्दै जसले जसरी प्रयोग गर्न चाहे त्यसरी नै प्रयोग हुन पुगे ।
गुल्मीबाट काठमाडौँ आएपछि सचिन काठमाडौँकै एक बोर्डिङ स्कुलमा भर्ना भए । तर, त्यहाँ उनको अध्ययनले निरन्तरता पाउन सकिरहेको थिएन । उनलाई प्रायः सुटिङ र प्रस्तुतीकरणको नामबाट कक्षाबाट बाहिर लैजाने गर्न थालियो । उनी लामो समयसम्म अनुपस्थित भएपछि विद्यालयबाट निष्कासित नै भए । यसले उनलाई स्वस्थ शैक्षिक वातावरणबाट पनि वञ्चित गर्यो । उनलाई प्रायः लामो समयसम्म सुटिङ गर्न लगाइन्थ्यो । थकित हुँदा उनलाई बिउँझाउन पानी छम्किने गरिन्थ्यो पनि भनिन्छ । खासगरी टिकटक लाइभमा गिफ्ट भित्र्याउने आकर्षणका रूपमा पनि उनी प्रयोग भए । उनलाई न त विश्रामको समय दिइयो, न सामान्य चञ्चल बालापनको स्वाभाविक हकदार नै बन्न दिइयो ।
सचिनको नाममा सङ्कलन गरिएको रकम पनि दुरुपयोग गरिएको आरोप लाग्दै आएको छ । उनका बुबा तेजेन्द्र परियार र केही थान युट्युबरले उक्त रकम गलत तरिकाले प्रयोग गरेको बताइन्छ । यद्यपि युट्युबर त्यो आरोप तेजेन्द्र परियारतर्फ तेर्छ्याउँछन् भने तेजेन्द्र त्यसरी नै युट्युबरतर्फ फर्काउँछन् । एक पटक उपचारका लागि सङ्कलित ११ लाख ६७ हजार ४१६ रुपैयाँमध्ये केवल तीन लाख ५७ हजार ८२४ रुपैयाँ मात्र उनका लागि खर्चिएको थियो ।
स्टेज पर्फमेन्सको निरन्तर दबाब र स्थिरताको अभावले सचिनको मानसिक र भावनात्मक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दै गयो । उनलाई न बाल्यकालको सरल खुसी दिइयो, न त उनले आवश्यक भावनात्मक सुरक्षा नै पाउन सके ।
सचिनको दुखद कथाको एउटा महत्त्वपूर्ण कारण उनको परिवारको बेमेल र अभिभावकीय कमजोरी पनि हो । गाउँमा लुगा सिलाएर जीवनयापन धानिरहेका तेजेन्द्रले छोराको सफलता नजिकबाट नियाली रहेका थिए । त्यसैमा साथ दिन उनी पनि सँगसँगै काठमाडौं आए । काठमाडौंमै बस्ने भनेपछि उनलाई केही दाताले लुगा सिलाउने मसिन पनि उपलब्ध गराइदिए । तर, त्यसलाई बेवास्ता गर्दै तेजेन्द्र छोरासँगै रहन थाले ।
विभिन्न कार्यक्रम, अन्तर्वार्ता आदिमा सँगै लैजाने उनको दिनचर्या बन्न थाल्यो । यतिसम्म कि तेजेन्द्र सचिनका म्युजिक भिडिओमा पनि देखिन थालिसकेका थिए । तर, समय सधैँ उस्तै रहेन ।
उनका बाबुआमाको सम्बन्धविच्छेद र पछि भएका दोस्रो विवाहले सचिनको जीवनलाई अझ चोटिल बनायो । सचिनकी आमा पनि उनलाई सानै उमेरमा छोडेर गइन् र दोस्रो विवाह गरिन् । यसले उनलाई आमाको ममता र साथबाट वञ्चित गर्यो । समय समयमा उनकी आमा पनि अन्तर्वार्तामा देखिन्थिन् । तर, कसैले उस्काएर हो वा सचिन आफैँले हो, उनी जन्म दिने आमालाई नकारात्मक रूपमा लिन्थे । टिकटकमा उनले बोलेको, “मलाई जन्माउने ममी, तपाईँ जहाँ हुनुहुन्छ, त्यही बसेर खानुस् । मेरो विषयमा मिडियामा आएर नबोल्दिनु होला ममी ।” यो क्लिप पनि टिकटकमा खुबै भाइरल भयो । त्यस्तै अर्को एक अन्तर्वार्तामा उनले भनेका थिए, “मुद्दा होइन, मुत्दिन्छु मैले मुखमा । चिन्दै चिन्दैन भनेपछि के भन्ने ?”
सचिनका बुबा तेजेन्द्र परियारले पनि दोस्रो विवाह गरे र कथित रूपमा आफ्नो छोराको भलाइभन्दा आफ्नो व्यक्तिगत फाइदामा लागे । उनीमाथि छोराको भाइरालिटी र त्यसबाट आर्जित पैसा आफ्नै स्वार्थका लागि प्रयोग गरेको आरोप लाग्ने गरेको छ । खासगरी विभिन्न किसिमका भिडिओ शुट गर्न उनले ठुलो रकम खर्च गरेको भन्ने गरिन्छ । रेस्टुरेन्ट, दोहोरी साँझ खोल्न पनि सो रकम दुरुपयोग भएको आरोप छ ।
“छ हजार डलर आउँदैछ एकदम ढुक्क,” तेजेन्द्रले एक अन्तर्वार्ताका क्रममा भनेका छन् । अन्तर्वार्ता लिने व्यक्तिले सोधे, “यो त ठुलो रकम हो नि त ।”
“यो जाबो के ठुलो कुरा भयो र ? छ हजार डलर भनेको कति होर, त्यही ६/७ लाख त हो नि । कति ठुलो होर ?” तेजेन्द्रले जवाफ फर्काएका छन् ।
अचम्मित हुँदै अन्तर्वार्ता लिने व्यक्तिले भने, “६/७ लाखलाई पनि जाबो भन्नुहुन्छ यार ।” “डलर भन्दा नेपाल नै किनिदिन्छ कि क्या हो भन्दा होलान् । म त खेलाइरहेको मान्छे त्यति त नर्मल लाग्छ । सचिनको खातामा आएपछि त्यो (पैसा) मैले चलाउने हो । मेरो खातामा नआएपछि कसकोमा आउँछ,” बारको अगाडि उभिएर तेजेन्द्रले अन्तर्वार्तामा भनेका थिए ।
त्यस्तै उनले अर्को एक प्रसङ्गमा १०/१२ लाख रुपैयाँ सामान्य लाग्छ भन्ने अभिव्यक्ति दिएका थिए । ‘आफ्नै निजी गाडीमा यात्रा गर्छु, सार्वजनिक गाडी खासै चढ्दैँन’ जस्ता धनको अहम् देखाउने भनाइ उनी राखिरहेका हुन्थे । टिकटकमा तेजेन्द्रका यी र यस्तै भनाइ धेरैले मिमको रूपमा पनि प्रयोग गरे । रमाइलो वा मनोरञ्जन जे जस्तो सन्दर्भमा भने पनि अन्तर्वार्ताका क्रममा क्यामेरा अघि तेजेन्द्रले बोल्ने भनाइले उनलाई र सचिनको जीवनलाई धेरै प्रभावित पार्यो ।
सचिनलाई सहयोग गरेको भन्दै रेडिटमा एक प्रयोगकर्ताले चार महिना अघि लेखेका थिए, “मासिक तलब २० हजार । भाडा, पढाइ, तरकारी, चामल सबैमा १० हजारभन्दा बढी खर्च हुन्थ्यो । त्यही पैसाबाट पनि धेरै मन मारेर पाँच हजार सचिनलाई सहयोग गरेको थिएँ । अहिले त्यो ‘कलौटे’ (तेजेन्द्र)ले ‘१०० डलर के हो र !’ भनेको, गाडी किन्ने, फिल्म शुटिङ गर्ने, दोहोरी साँझ जाने गरेको देख्दा मेरो पैसाले ‘सोझो मनले दिएको मान्छेको मन रुवाइस्’ भन्छ ।”
सचिनलाई सफलताको उचाइमा पुर्याएर जीवनलीला नै समाप्त पारेको केही दोष इन्टरनेटका सर्वसाधारण प्रयोगकर्तालाई पनि जान्छ । तेजेन्द्र परियारका अनुसार सचिन सुस्त मनस्थितिका थिए । उनलाई जसले जे भन्न लगायो, त्यही भनिदिन्थे । त्यसैको कारण उनी समय समयमा बाटोमा पैसा मागिरहेको अवस्थामा भेटिन्थे । र, भाइरल हुने क्लिपका रूपमा उनी फोनका क्यामेरामा कैद हुन्थे । यस्ता भिडिओ टिकटकमा आउँदा भिडिओ हेर्नेहरू तेजेन्द्रमाथि खनिन्थे । छोरालाई माग्न पठायो भन्ने आरोप लगाउँथे । तर, तेजेन्द्र सधैं यसको प्रतिकार गरिरहेका हुन्थे । सधैँ सम्हाल्न नसकिने भएकाले सचिन आफ्नै तरिकाले पार्क वा बाटोमा गई पैसा माग्ने गरेको उनी बताउँथे । तर, यसको यथार्थ तेजेन्द्रलाई नै थाहा छ, सचिन त…!
सचिनलाई उनको प्रसिद्धिमा मार्गनिर्देशन र भावनात्मक सहयोग गर्नेहरूको अभाव रह्यो । उनले अस्थिर पारिवारिक जीवनसँग जुध्नु पर्यो । जुन कुनै पनि बालबालिकाको स्वस्थ रूपमा हुर्किन पाउने वातावरणको ठिक विपरीत हो ।
स्वास्थ्य समस्या र अन्तिम दिन
सचिनको स्वास्थ्य अवस्था बिग्रँदै गयो, र उनको पहिलेकै स्वास्थ्य समस्या तनाव र बेवास्ताका कारण झन् बल्झिँदै गयो । उनी जन्मजात स्वास्थ्य समस्याबाट पीडित थिए, जसमा थर्ड भेन्ट्रिकुलर सिस्ट पनि एक थियो ।
सचिनलाई डायबिटिज इन्सिपिडस रोग पनि थियो । उनलाई विभिन्न रोगहरूको उपचारका लागि बारम्बार अस्पताल भर्ना गरियो । निमोनिया र मल्टिपल अर्गन डिसफङ्क्सन जस्ता स्वास्थ्य समस्याहरू पनि उनमा देखा परेका थिए । यस समयमा पनि तेजेन्द्र परियारलाई सचिनको उपचारका लागि रकम आवश्यक परेको थियो । उनी विभिन्न व्यक्तिहरूलाई पहिलेकै शैलीले अन्तर्वार्ता दिँदै सहयोगको याचना गर्न थाले । तर, तेजेन्द्रले गरेको याचना दर्शकलाई फिक्का लाग्यो । ‘सधैँ यसरी नै पैसा माग्छ अनि रमाइलोमा उडाउँछ’ भन्ने भाष्य सिर्जना भइसकेको थियो । त्यसैले तेजेन्द्रले गरेको चित्कारलाई इन्टरनेट प्रयोगकर्ताले गम्भीरतापूर्वक लिएनन् ।
सचिन बिरामी नै छन् कि छैनन्, उनलाई गरिएको सहयोग वास्तवमै उनीसँग पुग्छ कि पुग्दैन भन्ने द्विविधा पनि उत्तिकै रह्यो । धेरैले त्यस्ता पोस्टमा तेजेन्द्रलाई गाली गर्नेदेखि श्रद्धाञ्जली दिनसम्म भ्याए । रुँदा ‘कलौटेले गोहीको आँशु झार्यो’ भन्ने समाजले छोराको शोकमा मन दह्रो बनाउँदा ‘कलौटे निर्दयी भयो’ भन्नसम्म भ्याए ।
त्रिवि शिक्षण अस्पतालको विज्ञप्ति अनुसार सचिनलाई १३ पुस २०८१ मा अकस्मात् ज्वरो, सास फेर्न गाह्रो हुने, बेहोसी र चेतनाको अभावको समस्या देखिएपछि भर्ना गरिएको थयो । उनले पहिले पनि त्यहीँ उपचार गराउँदै आएका थिए । जीवन रक्षाका सकेसम्मका उपाय अपनाए पनि १८ पुस २०८१ बिहान १०:४९ बजे उनले संसार छाडे ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मेडिकल रिपोर्टमा सचिनलाई निमोनिया, मल्टिपल अर्गन डिसफङसन र गम्भीर सङ्क्रमणका कारण भएको शोकले गम्भीर रक्त विकार उत्पन्न गराएको उल्लेख छ ।
सामाजिक सञ्जाल र भाइरल संस्कृतिको अन्धकार पाटो
सचिनको कथा सामाजिक सञ्जाल र भाइरल प्रवृत्तिको नकारात्मक पक्षको सबैलाई चेतावनीमूलक सन्देश हो । यसले मनोरञ्जन र लाभका लागि संवेदनशील व्यक्तिको शोषण गर्ने खतरालाई उजागर गरेको छ । सचिनप्रति चासो सधैँ उस्तै रहे पनि उनको लोकप्रियता जति छिटो बढेको थियो, उति नै छिटो घट्यो पनि ।
उनलाई नकारात्मक रूपमा चित्रण गर्न थालेपछि उनी म्युजिक भिडिओ वा पहिले जस्तो कार्यक्रमबाट टाढिँदै गए । स्वास्थ्य समस्याका कारण त्यसैलाई निरन्तरता दिन पनि समस्या भयो । उनको भलाइप्रतिको चासो पनि हराउँदै गयो । उनी ‘लाभदायक’ नरहेपछि सबैले बेवास्ता गर्दै गए । यद्यपि यही बिचमा केही युट्युबरले विवाद समेत सिर्जना गरेर भ्युजको खेती नगरेका होइनन् ।
युट्युबर र मिडिया संस्थाहरूले भाइरल कन्टेन्ट निर्माणमा ध्यान केन्द्रित गरे । तर सचिनको सुरक्षा र भलाइ सुनिश्चित गर्ने जिम्मेवारी कसैले देखाएनन् । हुन त यसका पछाडि सचिनकै बुबा जिम्मेवार रहेको आरोप ती युट्युबरहरू लगाउँछन् । युट्युबर तथा सामाजिक अभियन्ताले सहयोग गरे पनि त्यसलाई व्यवस्थापन गर्ने जिम्मेवारीमा रहेका तेजेन्द्र कमजोर देखिएपछि यस्तो अवस्था सिर्जना भएको बताइन्छ ।
लाइक, भ्युज र शेयरको खोजीले प्रायः भाइरल प्रसिद्धिले इथिक्स (नैतिकता) र मानव मूल्यलाई ओझेलमा पार्यो । यो विश्वव्यापी रूपमा देखिने समस्या पनि हो । सचिनभन्दा पहिले अस्ताएका भेलु बाजे, छुप्पि डन यसका उदाहरण हुन् । हाम्रै छिमेकी राष्ट्र भारतमा पनि धेरैले भाइरल कन्टेन्टका रूपमा आफूलाई प्रयोग गर्न थालेपछि एक वृद्धले आत्महत्याको बाटो रोजेका थिए ।
सामाजिक सञ्जालले दिएको चर्चा
सचिनको छोटो जीवनमा मिडिया (सामाजिक सञ्जाल) ले जटिल भूमिका खेलेको छ । उनको प्रतिभालाई उजागर गरे पनि यो उनको शोषणमा पनि उत्तिकै जिम्मेवार ठहरिएको छ । अधिकांश युट्युबर भ्युज बटुल्न र डलर थाप्न प्रेरित भए । सचिनले अनुभव गरेको समस्यालाई केही मिडियाले अगाडि ल्याए पनि ती कहिल्यै प्राथमिकताका विषयमा बनेनन् ।
मिडियाहरू सचिन जस्ता बालबालिकाका लागि आवश्यक संवेदनशीलता प्रदर्शन गर्न असफल भए । प्रसिद्धिको दबाबबाट उनलाई जोगाउनुपर्ने आवश्यकतालाई बेवास्ता गरियो । सचिनलाई कन्टेन्ट प्रोडक्सनको एउटा ‘वस्तु’ का रूपमा प्रस्तुत गरियो । केही युट्युबरले सचिनको नाममा सङ्कलित कोषको व्यवस्थापनबारे तथ्यको सत्यापन नगरी सनसनी एङ्गल खिचिरहे ।
सामाजिक सञ्जालमा आक्रोश र श्रद्धाञ्जली
सचिनको मृत्युले धेरैलाई दुःखी तुल्याएको छ र आम प्रयोगकर्ता माझ आक्रोश पनि फैलिएको छ । धेरैले सचिनको मृत्युका कारणहरूको विरोध गर्दै दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा श्रद्धाञ्जलीका सन्देशहरूको बाढी आएको छ, जहाँ मानिसहरूले सचिनको जीवनप्रति गरिएको व्यवहार र लापर्बाहीप्रति आक्रोश पोखेका छन् ।
सचिनलाई शोषण गर्ने व्यक्ति चाहे परिवार होस् वा मिडिया, उनीहरूलाई जवाफदेही बनाउने माग सामाजिक सञ्जालमा उठिरहेको छ । यस घटनाले बालबालिकाको सुरक्षा राज्य, समाज र आम नागरिकको दायित्व भएको विषय सोच्न बाध्य बनाएको छ । सचिनको जस्तो व्यथा भविष्यमा अरू बालबालिकाले भोग्नु नपरोस् ।
सामाजिक सञ्जाल एक्समा मात्रिका मुलुहाङ राई लेख्छन्, “आमा बुबा लगायतका भ्युजवाल मिडिया पत्रकारहरू एकसाथ लागेर सचिन परियारको पनि प्युठानी भेलु बाजेकै जस्तो हालत बनाइदिए । हर्ताकर्ता हुँदा खुन पसिना चुसे, अन्त्यमा उपचारका लागि आर्थिक अभावले मृत्युको शय्यामा पुग्न बाध्य भए !”
त्यस्तै सागर दा नामक एक्स प्रयोगकर्ता लेख्छन्, “के छ हजुर भनेर सञ्जालमा चर्चित बालक सचिन परियारको उपचारको क्रममा दुखद निधन भएछ ! एउटा राम्रो अभिभावकको अभावमा अबोध बालक को ज्यान गुम्यो !”
“परिवारको सही संरक्षण पाएको भए आज सचिनले सबै नेपालीको माया अनि सहयोगका साथ एउटा रमाइलो जीवन बाँचिरहेका हुन्थे ! यस्तो परिवार कसैलाई नपरोस् ! हार्दिक श्रद्धाञ्जली सचिन परियार,” एक्समा नारायण जलन लेख्छन् ।
कलाकार शिव परियार र रिता थापा मगरले पनि सचिनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् र बालबालिकाको सुरक्षाका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यो घटना पारिवारिक विवाद र सामाजिक सञ्जालमा भाइरल भएको प्रवृत्तिको परिणाम भएको बताउँदै यस्ता संवेदनशील विषयमा सजग हुन आग्रह गरेका छन् ।
अन्य भाइरल सेन्सेसनहरूको दुरावस्था
सचिनको कथा अन्य भाइरल व्यक्ति जस्तै ‘भेलु बाजे’ (मिनबहादुर बुढा मगर), सँग पनि मेल खान्छ । भेलु बाजे पनि आफ्नो अनौठो बोलीका कारण भाइरल बने । उनी पनि सचिनको जस्तै अभिनय र गायनमा तानिए । यसमा उनको व्यक्तिगत हित नभई सामाजिक सञ्जालमा भ्युज र डलर छाप्ने होड देखियो ।
टिकटकमा लाइभ बसाउने निहुँमा रक्सी खुवाएर लत्त्याउने गरेको आरोप केही टिकटकरलाई लाग्ने गरेको छ । डाक्टरले बन्देज लगाउँदा पनि उनलाई निरन्तर रक्सी खुवाइन्थ्यो । र, टिकटकमा लाइभ बसाइन्थ्यो । त्यसले स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनी २१ बैशाख २०८१ मा सधैँका लागि अस्ताए ।
सचिन र भेलु बाजे दुवैका कथा (व्यथा)ले भाइरल प्रसिद्धि कति चाँडै आउँछ र जान्छ भन्ने देखाएको छ । जब लोकप्रियता हराउँछ, ती व्यक्तिहरू झन् कमजोर र जटिल अवस्थामा धकेलिन पुग्छन् ।
सचिनको दुःखद घटनाले बालबालिकाका लागि विशेषगरी सार्वजनिक जीवनमा आएका बालबालिकाका लागि कडा कानुनी संरचना र सुरक्षाका उपायहरूको आवश्यकता औँल्याएको छ । बाल सुरक्षा एजेन्सी, मिडिया र आम मानिसहरूले यस्ता बालबालिकाको हितलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने देखाएको छ । मिडियाले संवेदनशील व्यक्तिको भलाइलाई प्राथमिकतामा राख्ने नैतिक अभ्यास अपनाउनुपर्छ । तथ्यको पुष्टि गर्नु, कमजोर व्यक्तिहरूप्रति उचित व्यवहार सुनिश्चित गर्नु र सनसनीलाई प्राथमिकता नदिनु आजको महत्त्वपूर्ण आवश्यकता पनि हो ।
भाइरल प्रसिद्धिका सम्भावित खतराहरूबारे जनचेतना बढाउन आवश्यक छ । पछिल्लो समय टिकटकमा केही हजार भ्युज आउनासाथ स्वघोषित भाइरल भन्ने प्रवृत्ति छ । यस्तोमा परिवार र समुदायलाई बालबालिकाका अधिकार जोगाउने उपायबारे शिक्षित गर्नु पनि पर्छ ।
समाजले कमजोर बालबालिका र सार्वजनिक व्यक्तित्वप्रति राख्ने धारणा र व्यवहारमा प्रणालीगत परिवर्तनको आवश्यकता छ । गरिबी, सामाजिक असमानता, शिक्षाको अभाव र स्रोतहरूको पहुँच जस्ता समस्याहरूलाई सम्बोधन गर्नुपर्छ । यसका लागि नीतिगत सुधार, बाल संरक्षण ऐनहरूको सुदृढीकरण र समाजका सबै तहमा सचेतना अभियान अनिवार्य छ ।