close

आधिकारिक रूपमै नेपाल भित्रिँदै टेस्ला, गाडीको मूल्य अहिलेभन्दा ४० प्रतिशतसम्म सस्तो पर्ने

टेकपाना टेकपाना

पुस १९, २०८१ १७:२०

आधिकारिक रूपमै नेपाल भित्रिँदै टेस्ला, गाडीको मूल्य अहिलेभन्दा ४० प्रतिशतसम्म सस्तो पर्ने

काठमाडौं । टेस्लाका विद्युतीय गाडीहरू अब आधिकारिक रूपमा नै नेपाल भित्रिने भएका छन् । ‘टेस्ला नेपाल’ नामक कम्पनीले आधिकारिक विक्रेताको मान्यता पाएसँगै टेस्ला पहिलो पटक औपचारिक तवरमा नेपाल आउने भएको हो । 

सामान्यतया मुख्य बजारहरूमा टेस्ला आफ्नै लगानी सहित उपस्थित हुने भए पनि नयाँ बजारको रूपमा रहेको नेपालमा भने आधिकारिक विक्रेतामार्फत आउँदैछ । यसका लागि अमेरिकाको टेक्ससमा अवस्थित टेस्लाको हेडक्वाटर (एचक्यू) सँग एमओयू भइसकेको टेस्ला नेपाल प्रालिका सीईओ सुरेन्द्र कोइरालाले जानकारी दिए । 

कोभिडपछि विश्व बजारमा टेस्लाका ईभीको  बिक्री अपेक्षित रूपमा हुन सकेन । खासगरी चिनियाँ ईभी निर्माताहरू उसका लागि कडा प्रतिस्पर्धीको रूपमा अगाडि आए । त्यसपछि टेस्लाले केही सीमित बजारका लागि निश्चित मापदण्ड पूरा गर्ने विश्वसनीय साझेदारसँग सहकार्य गर्ने बाटो खोलेको थियो । 

टेस्ला ईभी निस प्रोडक्ट भएकाले त्यस सम्बन्धी सम्पूर्ण सेवा आफैँ नियन्त्रण गर्ने योजनामा अगाडि बढेको टेस्लाले कोभिडपछि सो नीति परिवर्तन गर्‍यो । त्यसपश्चात् मात्रै नेपालमा आधिकारिक विक्रेताको बाटो खुलेको हो । आफूहरू चार वर्षभन्दा लामो समयदेखि यसका लागि प्रयासरत रहेको कोइरालाले बताए । टेस्ला नेपालमा हाइड्रोपावर डेभलपर उमेश कसजु अध्यक्ष छन् । जसमा पूर्व बैंकर, हाइड्रो तथा अटो क्षेत्रमा काम गरेका लगानीकर्ताहरूको समूह प्रवर्धकको रूपमा रहेको छ । 

एचक्यूसँग भएका तीन ओटा छुट्‍टाछुट्‍टै सम्झौतामा टेस्लाको स्ट्यान्डर्डमा रहेर सहकार्य गर्ने, लगानी सुनिश्चितता, सर्भिस र कस्टमर एक्सपिरियन्स लगायता प्रतिबद्धता रहेका छन् । “टेस्लाको आफ्नै एसओपी (स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर) पनि छ, त्यो मिट भए नभएको यकिन गर्न समय समयमा ड्यु डेलिजेन्स पनि हुनेछ,” कोइरालाले भने ।

उनका अनुसार एचक्यू सँगसँगै टेस्ला सिङ्गापुर र हङ्गकङ्गसँग पनि फङ्सनल एग्रिमेन्ट भएको छ । नेपालबाट सबैभन्दा नजिक रहेका ती कार्यालयले ग्राहक सेवा, कस्टमर एक्सपिरियन्स सेन्टर, चार्जर, शोरुम तथा सर्भिस सेन्टरका लागि आवश्यक  क्षेत्रफल, उपलब्ध सुविधा र ब्रान्डिङ लगायतका विषयमा निगरानी गर्नेछन् । 

कम्पनीले काठमाडौं उपत्यकामा तत्कालका लागि दुई ओटा शोरुम तथा कस्टमर एक्सपिरियन्स सेन्टर स्थापना गर्नेछ । जसअनुसार बालुवाटारको शोरुम तय भइसकेको छ भन झम्सिखेल क्षेत्रका लागि आवश्यक तयार अगाडि बढाइएको उल्लेख छ । 

त्यस्तै एकान्त कुनामा झन्डै ३ रोपनी क्षेत्रफलमा सर्भिस सेन्टरको निर्माण कार्य सुरु भएको कम्पनीले जनाएको छ । त्यस नजिकै एकसाथ पाँच ओटा गाडी चार्ज गर्न मिल्ने गरी सुपर चार्जर नेटवर्क समेत बन्नेछ । टेस्लाका ती सुपर चार्जरमार्फत एक घण्टामै ८० प्रतिशतभन्दा बढी चार्ज गर्न सकिने बताइएको छ । चार्जिङ नेटवर्क क्रमशः उपत्यका बाहिर समेत विस्तार गर्ने योजना कम्पनीले अगाडि सारेको छ । 

कोइरालाका अनुसार अहिले काठमाडौं, पोखरा, चितवन, बुटवल-भैरहवा, विराटनगर र झापा गरी ६ क्लस्टर पहिचान भएका छन्  । टेस्लासँग भएको १० वर्षे सम्झौता अन्तर्गत ती सबै क्लस्टरहरूमा शोरुम तथा कस्टमर एक्सिपिरियन्स सेन्टर, सर्भिस सेन्टर र चार्जिङ नेटवर्क रहने उनले बताए । 

टेस्ला नेपाल प्रालिका सर्भिस सेन्टर सर्टिफाइड कोलिसन सेन्टरको रूपमा समेत रहनेछन् । जहाँ स्टक्चरल ड्यामेज (दुर्घटनाबाट गाडीमा हुने ठुलो क्षति) समेत मर्मत गर्न सकिनेछ ।

एसिया क्षेत्रमा हाल टेस्लाको फ्याक्ट्री चीनमा मात्रै छ । सोझै चीन वा हङ्गकङ्गबाट टेस्ला गाडीहरू नेपाल भित्रिने बताइएको छ । सीईओ कोइरालाका अनुसार टेस्ला नेपाल यतिखेर गाडीहरू भित्र्याउन एलसी खोल्ने प्रक्रियामा छ । “टेस्लाको एचक्यूसँग शोरुम, सर्भिस र चार्जिङको डिजाइन अप्रुभल नलिई एलसी खोल्न नपाउने सर्त थियो,”उनले भने, “आवश्यक अप्रुभल पूरा भएसँगै अब गाडी आयातको प्रक्रिया अगाडि बढेको छ । आउँदो फेब्रुअरीको अन्त्यसम्म गाडीहरू नेपाल भित्रिनेछन् ।”

उनका अनुसार सुरुवाति चरणमा टेस्ला मोडेल ३, मोडेल वाई र मोडेल एक्स गरी तीन मोडेलका ५० युनिट ईभी नेपाल आउनेछन् । जुन अहिले नेपाली बजारमा रहेको भन्दा निकै सस्तो हुने अपेक्षा गरिएको छ । 

मोटामोटी रूपमा अहिलेभन्दा करिब आधासम्म सस्तो मूल्यमा टेस्लाका ईभीहरू नेपाली बजारमा उपलब्ध हुने कम्पनीको दाबी छ । “यसअघि हङ्गकङ्गमा सबै स्थानीय कर लागेपछिका टेस्ला ईभी किनेर नेपाली बजारमा आइरहेका थिए,” सीईओ कोइरालाले भने, “अब आधिकारिक बिक्रेताको रूपमा हामीले म्यानुफ्याक्चरिङ प्राइसमै ती गाडीहरू ल्याउन पाउनेछौँ । यसको अर्थ अहिलेभन्दा ४० प्रतिशतसम्म सस्तो मूल्यमा टेस्लाका ईभीहरू नेपाली बजारमा उपलब्ध हुनेछन्  ।”

यसअघि नेपालमा कसरी आइरहेका थिए टेस्ला ईभी ?

अहिलेसम्म अरेत इन्टरनेसनल प्रालिले नेपालमा टेस्ला ईभी भित्र्याउने र विक्री वितरणको काम गर्दै आएको छ । आफूलाई नेपालका लागि टेस्लाको पहिलो बिक्रता बताउने उक्त कम्पनीले ‘आधिकारिक’ दाबी भने गरेको छैन । टेकपानाले यस विषयमा बुझ्न खोज्दा कम्पनीका एक प्रतिनिधिले आफूहरू आयातकर्ता मात्रै भएको र आधिकारिक विक्रेता नभएको जवाफ दिए । 

अब टेस्ला नेपाल नामक कम्पनीले आधिकारिक विक्रेताको मान्यता पाएसँगै अरेतले टेस्ला ईभी नभित्र्याउने र विक्री वितरण समेत नगर्ने उनको भनाई  थियो । नरोकेको खण्डमा आफूहरू कानुनी प्रक्रियामा जाने टेस्ला नेपालले जनाएको छ । “हाम्रा गाडी आइपुग्दासम्म उहाँहरूका गतिविधि बन्द हुने अपेक्षा छ,” कम्पनीका एक प्रतिनिधिले भने, “गाडी आइपुग्दा टेस्लाले आफ्नो मुख्य वेबसाइटमा पनि आधिकारिक विक्रेताको जानकारी समावेश गर्ने कुरा पनि भइरहेको छ । उहाँहरूले ल्याएका टेस्ला ईभीहरू महँगो पर्ने भएकाले सम्भवतः आफैँ बन्द हुनेछ ।”

टेस्लाले आफ्ना प्रिमियम गाडीको डिस्ट्रिब्युटर नेपालमा दिँदैन भन्ने बुझाई रहेकाले अरेत इन्टरनेसनलले व्यक्तिगत तवरमा टेस्ला ईभी नेपाल भित्र्याइरहेको छ । आधिकारिक बिक्रेता नहुँदा ३० प्रतिशत जरिबाना उसले सन् २०२० देखि ती ईभी नेपाल ल्याइरहेको बताएको छ ।

यसअघि आधिकारिक बिक्रेता नभएकैले नेपालमा टेस्लाको सर्भिस सेन्टरदेखि चार्जिङ नेटवर्क तयार हुन सकेका छैनन् । अब भने सर्भिस सेन्टर स्थापना गर्न टेस्ला नेपालले २ जना टेस्ला सर्टिफाइड इन्जिनियर मलेसियाबाट ल्याउँदैछ । टेस्लाका गाडी मर्मत गर्न निश्चित मापदण्ड र तालिम पुरा गरेका इन्जिनियर मात्रै सर्टिफाइड हुने गर्छन् । नेपालबाटै तालिमका लागि इन्जिनियरलाई चीन वा जर्मनी पठाउने विषयमा समेत तयारी रहेको टेस्ला नेपाले जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस १९, २०८१ १७:२०