काठमाडौं । एप्पलको एआई प्रणाली फेरि विवादमा परेको छ । लगातार गल्ती गर्दै आएको एआईले यसपटक टेनिस खेलाडी राफायल नाडालबारे हुँदै नभएको कुरा लेख्दै गलत सूचना फैलायो । एआईले नाडाल समलिंगी भएको सूचना पठाएपछि प्रयोगकर्तामाझ भ्रम सिर्जना भयो ।
यसअघि पनि एप्पलको एआईले टेनिस च्याम्पियन ल्यूक लिटलरले खेल सुरु हुनुअघि नै जितेको नोटिफिकेसन पठाएको थियो । त्यस्तै तीन साता पहिले युनाइटेड हेल्थकेयरका सीईओ ब्रायन थम्पसनको हत्याको आरोप लागेका लुइगी मान्जिओनले आत्महत्या गरेको भनेर झुटो नोटिफिकेसन पठाइएको थियो ।
यस्ता बारम्बार भएका गल्तीले एप्पलप्रति प्रयोगकर्ताको विश्वासमा गम्भीर असर पुगेको विश्लेषण गरिएको छ ।
आफ्नो प्रतिष्ठामाथि आँच पुगेपछि एप्पलले माफी माग्दै समस्या समाधान गर्न सफ्टवेयर अपडेट ल्याउने प्रतिबद्धता जनाएको छ । “हामी प्रयोगकर्ताको प्रतिक्रियाका आधारमा एआई सुधार गर्न गम्भीर छौं,” एप्पलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एप्पलको एआई सुविधा पहिलो पटक अक्टोबर २०२४ मा सार्वजनिक भएको थियो । यसले नोटिफिकेसनलाई संक्षेपमा प्रस्तुत गर्ने कम्पनीको भनाइ छ । तर, लगातारको गलत सूचनाले यो सुविधा विवादित बनेको छ । विज्ञहरूले एआई प्रणाली अझ परिपक्व नभएसम्म यसलाई समाचार क्षेत्रमा प्रयोग नगर्न सुझाव दिएका छन् ।