काठमाडौं । गौरवराज उपाध्यायः नाम एक, परिचय अनेक । उनले सिस्टम एड्मिनिस्ट्रेटर, नेटवर्क एड्मिनिस्ट्रेटर, रेडियो प्रोड्युसर, विकासे कार्यकर्ता, पत्रकार, इभेन्ट अर्गनाइजर, आन्टप्रेनर र कम्युनिटी लिडर जस्ता विभिन्न अनुभव बटुलिसकेका छन् ।
उनकै अग्रसरतामा नेपालको एनपीआईएक्स (इन्टरनेट एक्सचेन्ज), स्यानोग (दक्षिण एसियन नेटवर्क अपरेटर्स ग्रुप), बङ्गलादेशको बीडीआईएक्स (इन्टरनेट एक्सचेन्ज) र फिलिपिन्सको इन्टरनेट एक्सचेन्ज, मोजाम्बिक इन्टरनेट एक्सचेन्ज स्थापना भए । अहिले भने उनी विश्व प्रशिद्ध आईटी कम्पनी अमेजनमा कार्यरत छन् ।
लामो समयपछि नेपाल फर्किएका उनी केही समय अघि मर्दी हिमाल ट्रेकमा गएका थिए । माथि हाई क्याम्पमा समेत उच्च गतिको इन्टरनेट देखेर उनी आफैँ अचम्मित भए, “कुनै जमानामा त हामी यो कुरा सोच्नै सक्दैन थ्यौँ ।”
नेपालमा इन्टरनेट विकास र विस्तार गर्ने कार्यमा उनको महत्त्वपूर्ण योगदान छ । अहिले भने उनी विश्व प्रसिद्ध प्रविधि कम्पनी अमेजनमा कार्यरत छन् । अमेजनको ओटीटी प्लेटफर्म प्राइम भिडिओको स्ट्रिमिङ सहज बनाउनु उनको अहिलेको प्रमुख काम हो ।
सन् २०१९ को अन्त्यदेखि अमेजनले ओटीटी प्लेफर्ममार्फत प्रत्यक्ष प्रसारण गर्न थाल्यो । त्यसरी प्रत्यक्ष प्रसारण गरिएका कार्यक्रम कुनै पनि टेलिभिजनमा नआएर सोझै प्राइम भिडिओ एपमा मात्र आउने गर्छन् । कार्यक्रम प्रत्यक्ष प्रसारण हुने भएकाले एकै पटकमा लाखौँ प्रयोगकर्ताले हेर्ने गर्छन् । ती सबै प्रयोगकर्तालाई कार्यक्रम हेर्दा सन्तुष्ट बनाउने जिम्मा गौरव नेतृत्वको टिमको काँधमा छ । गएको चार वर्षदेखि उनी यही जिम्मेवारीमा छन् ।
त्यसो त प्राइम भिडिओमा हेर्नलाई प्रशस्तै कन्टेन्ट छन् । ती हेर्ने दर्शक एकै समयमा ह्वात्तै आउँदैनन् । तर प्रत्यक्ष कार्यक्रममा भने एकै समयमा लाखौँ प्रयोगकर्ताहरू ह्वात्तै आई दिन्छन् । त्यसरी आउँदा प्रसारणमा अवरोध हुन सक्छ । अमेजन प्राइममा आबद्ध भएर आफूले काम गर्न थाले यता नै दुई वर्षभित्रमा मात्रै बेलायत, जर्मनी, इटाली, जापान र ब्राजिलमा इन्टरनेट ट्राफिकको रेकर्ड तोडिएको उनी सुनाउँछन् ।
अहिले अमेरिकाको सिएटलमा बसेर अमेजनको भिडिओ डेलिभरीको हेड अफ स्ट्राटेजी (वर्ल्ड वाइड) को भूमिका निभाइरहेका छन् ।
बाल्यकाल र प्रविधिप्रति आकर्षण
पूर्वको राजधानी विराटनगरमा गौरवले आफ्नो बाल्यकाल बिताए । अरनिको बोर्डिङ स्कुलबाट एसएलसी पास उनी विराटनगरमै छँदा प्रविधिसँग नजिक भइसकेका थिए । विद्यालयमा आयोजित विज्ञान मेलामा उनले साथीसँग मिलेर बनाएको रेडियो ट्रान्समिटरले धेरैको ध्यान खिचेको थियो ।
तर अहिले जस्तो युट्युबमा हेरेर अनलाइनबाट सामान मगाएर बनाउनु जस्तो सजिलो पनि त्यतिखेर थिएन । विराटनगरबाट नेपाल-भारत सीमा नजिकै पर्छ । त्यस बेला सीमा क्षेत्रमा विज्ञान र प्रविधि सम्बन्धी केही पत्रपत्रिका आउँथे । उनी सम्भव भएसम्म त्यस्ता पत्रपत्रिका किन्ने गर्थे । जसमा विभिन्न विद्युतीय सामग्री बनाउने विधि बताइएको हुन्थ्यो । त्यसैका आधारमा गौरवले साथीसँग मिलेर रेडियो ट्रान्समिटर बनाए ।
विराटनगरमै छँदै उनले कम्प्युटर चलाउन पनि सिके । एसएलसीको वार्षिक परीक्षा दिएपछि पाँच/छ महिना छुट्टी हुन्थ्यो । उनले त्यो बिदाको समय सदुपयोग गर्दै कम्प्युटर र टाइपिङ सिके । त्यसताका विराटनगरमा केही स्थानमा मात्र कम्प्युटर सिकाउने ठाउँ थिए ।
अहिले मात्रै होइन, १० कक्षापछि भविष्य खोज्न काठमाडौं प्रवेश गर्ने ट्रेन्ड उहिलेकै हो । सन् १९९३ मा एलएलसी सकेका उनी उपत्यका नछिरी उतै बस्न सक्ने अवस्था थिएन । सन् १९९४ मा गौरव काठमाडौं छिरे ।
सपनाको सहर छिरेपछि सेन्ट जेभियर्समा उनी विज्ञान विषय पढ्न थाले । उपत्यकामा त्यो कलेज छान्नु उनका लागि सुनौलो मौका थियो । किनकि त्यो समय नेपालमा उपलब्ध आधुनिक कम्प्युटरमध्येको केही सो कलेजमा थियो । त्यहीमाथि अमेरिकाबाट आएका एक शिक्षकले कम्प्युटर पढाउँथे । विद्यार्थीहरूको हकमा ती शिक्षक अलि स्वतन्त्र थिए । यसले गर्दा पनि गौरवले कम्प्युटरमा थप समय बिताउन पाए ।
विराटनगरमा हुँदा पत्रिका हेरेर इलेक्ट्रिक सम्बन्धी परियोजना बनाएका उनले काठमाडौंमा भने त्यो काम गर्न पाएनन् । सहजै सामान नपाइने । त्यहीँ माथि आफन्तकोमा बसाइँ ।
बरु उनलाई कम्प्युटरमा गरिने नेटवर्किङतिर मन बस्दै गयो । कलेजमा कम्तीमा २०/२१ कम्प्युटर थिए । तिनलाई जोडेर काम गर्नु कम्ता रमाइलो थिएन । अनि त्यहीँ समय ईमेल पनि आएको थियो । त्यो नयाँ उत्साहले उनको इलेक्ट्रिक तर्फको रुचि हराउँदै गयो । कम्प्युटर तिर नै झुकाव राख्न थाले । यसैबीच इन्टरको पढाइ पूरा भयो ।
फुर्सदको समयमा उनी त्यतिकै बसिरहेका थिए । कसैलाई कम्प्युटर अपरेटर चाहिरहेको खबर उनले सुने । त्यसपछि त के, केही नसोचि उनी काम गर्न गए ।
तर त्यो समयमा धेरै विद्यार्थीको उद्देश्य त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)मा नाम निकाल्नु हुन्थ्यो । तर आईओईमा कम्प्युटर इन्जिनियरिङको कोर्स आइसकेको थिएन ।
कम्प्युटर पढ्न बीएससी कम्प्युटर साइन्सबाहेक अन्य विकल्प थिएन । अथवा इलेक्ट्रिकल, इलेक्ट्रिक्समा जानुपर्ने थियो । फेरि उनले काम गर्न थालेकाले पढाइमा अलि समस्या आयो । स्नातक तहको प्रवेश परीक्षा पनि उनले छुटाए ।
बरु काम सिक्न तर्फ लागे । यसरी भर्खरै आईएससी (प्लसटुसरह) सकेका उनले 'कम्प्युटर अपरेटर'को रूपमा सन् १९९६ मा जागिरे जीवन सुरु गरे । मुख्यत: काम आएर गएकोभन्दा पनि काम गर्दै काम सिक्ने लोभमा उनी 'कम्प्युटर अपरेटर' बनेका थिए । तर त्यत्रो समयसम्म कम्प्युटर चलाए पनि उनले १९९७ को जनवरीमा मात्रै वेब ब्राउजिङको अनुभव लिन पाए ।
त्यसै वर्ष कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) ले ब्लु स्टार होटलमा क्यान इन्फोटेक आयोजना गरेको थियो । त्यहाँ पाँच ओटा कम्प्युटरमा डायलअपको लिजलाइन जोडेर मर्कन्टाइलले आफ्नो बुथ राखेको थियो । गौरवका अनुसार त्यो नै नेपालमा सार्वजनिक रूपमा इन्टरनेट चलाउन दिइएको पहिलो अवसर थियो । त्यहीँ उनले 'याहु डटकम' ब्राउज गरेर इन्टरनेटको पहिलो अनुभव लिए ।
इन्टरनेट आउनुभन्दा पहिला बुलेटिन बोर्ड सिस्टम (बीबीपीएस) नामक एउटा सेवा हुने गर्थ्यो । एउटा सर्भरमा डायल गरेर त्यसमा रहेको मेनुबाट गेमहरू डाउनलोड गर्ने लगायतका सुविधा हुन्थे । गौरव त्यसका नियमित प्रयोगकर्ता थिए । आईएसडी लाइन प्रयोग गर्न सक्नेहरूले विदेशतिरका बीबीएसमा पनि डायल गर्थे । तुलनात्मक रूपमा केही बढी सुविधा भए पनि त्यसका लागि नेपाल टेलिकमको बिल पनि चर्कै आउँथ्यो, मिनेटकै ६०/७० रुपैयाँ ।
त्यसबेला नेपालमा एउटा नेपाल नेट (NepalNet) नामक परियोजना (१९९७/९८) चलिरहेको थियो । क्यानडाको सरकारी एजेन्सीको सहयोगमा उक्त परियोजनाको सञ्चालन इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड - ICIMOD) ले गरेको थियो । यस परियोजनामा उनले छोटो समयका लागि भए पनि काम गर्न भ्याए ।
त्यस बेला नेपालमा जम्मा तीन ओटा मात्रै इन्टरनेट सेवाप्रदायक (आईएसपी) थिए । परियोजना अन्तर्गत तिनै आईएसपी मार्फत नेपाल ३० भन्दा बढी गैरसरकारी संस्था-एनजीओमा डायलअप इन्टरनेट जोड्न अनुदान दिइएको थियो । जसले सुरुवाति समयमा नेपालमा इन्टरनेट सेवाको विस्तारमा राम्रै मद्दत दिएको ठान्छन्, गौरव ।
इन्टरनेटका लागि त्यतिखेर ३३.६ केबीपीएसको गति भएका मोडेम प्रयोग गरिएका थिए । एउटा मोडेमकै १८ हजार रुपैयाँसम्म पर्थ्यो । तर नेपाल टेलिकमको कपर लाइनले त्यति राम्रो सपोर्ट गर्दैन थ्यो ।
धेरैका लागि कम्प्युटर-इन्टरनेट नयाँ विषय थियो । नेपालनेट परियोजनामा काम गर्दा कमाएको पैसा गौरवले नयाँ कम्प्युटर किन्न खर्चिए । मोटरबाइक नकिनेर कम्प्युटर किनेको भन्दै कतिले त उनलाई गाली गर्न पनि भ्याए ।
त्यसो त उनले कमाएको पैसा कम्प्युटर खरिद गर्नका लागि पर्याप्त थिएन । विन्डोज ९५ नेटवर्किङ गर्न जानेका गौरवले त्यसमार्फत धेरैलाई सहयोग पनि गरे । जसमध्येको एउटा कम्पनी उनको काम देखेर किस्ताबन्दीमा कम्प्युटर दिन तयार भयो - सँगसँगै बेलाबेलामा त्यसबापत उनले नेटवर्किङ सम्बन्धी परामर्श दिनुपर्ने सर्त पनि थियो ।
सन् १९९७ तिर नेपालमा युनाइटेड मिसन टु नेपाल (यूएमएन) थियो । त्यहाँ काम गर्ने थुप्रै विदेशी थिए । जसले आफ्नै आन्तरिक आईएसपी सुरु गरेको थियो । एक जना विदेशी आएर सेट-अप गरेको सो आईएसपी कसरी नियमित रूपमा सञ्चालन गर्ने भन्ने थाहा थिएन । यूएमएनमा काम गर्ने एक जनाले गौरवलाई उक्त आईएसपी फिक्स गरिदिन आग्रह गरे । यसरी नेपालनेट परियोजापछि उनी यूएमएनमा जोडिए र आईएसपीभन्दा बाहिर इन्टरनेटको एउटा गतिलो नेटवर्क तयार पारे । त्यहाँ काम गर्दाकै बखत हो, गौरवले एनपीआईएक्सको आवश्यकता महसुस गरे ।
यसको प्रसङ्ग पनि रोचक छ । त्यतिखेर उनी अफिसमा यूएमएनको इन्टरनेट चलाउँथे, यूएमएनको इन्टरनेट मर्कन्टाइलको नेटवर्कमा अनि घरमा वर्ल्डलिंकको इन्टरनेट थियो । राजीब सुब्बाले काठमाडौं पोस्टमा एक पृष्ठको 'साइबर पोस्ट' निकाल्थे । त्यसमा गौरव पनि नियमित रूपमा लेख्ने गर्थे । अनि सुब्बाको ईमेल सीसीएसएल अर्को आईएसपीमा थियो । कहिलेकाहीँ अट्याचमेन्ट पठाउँदा पाँच दश मिनेटसम्म लाग्ने गर्थ्यो ।
वास्तवमा थापाथलीस्थित यूएमएनको कार्यालयबाट उनले एउटा ईमेल पठाउँदा मर्कन्टाइल हुँदै सिङ्गापुर जान्थ्यो । वर्ल्डलिंकको डाउनलिंक हवाईमा थियो । जसले गर्दा सिङ्गापुरबाट त्यो ईमेल हवाई जान्थ्यो । त्यहाँबाट माथि आकासमा रहेको स्याटलाइटमा गएर एकान्तकुना नजिकै रहेको स्याटलाइट रिसिभर भएर फर्किन्थ्यो । यूएमएन कार्यालयमा रहेको ईमेल गौरवले आफ्नो घरबाट एक्सेस गर्दा पनि त्यही बाटो भएर जानु पर्ने हुन्थ्यो । यसरी निकै सुस्त ईमेलको झन्झट खेपेका उनले एनपीआईएक्सको परिकल्पना गरे । तर कसरी गर्ने, उनलाई पनि थाहा थिएन ।
सन् २००१ सम्म आइपुग्दा वायरलेस प्रविधिबाट १ एमबीपीएससम्म लिंक स्पिड दिने अवधारणा फाट्टफुट्ट देखा पर्दै थियो । तर इन्टरनेट स्पिड सबै स्याटलाइटमै निर्भर थियो । यस्तोमा ६४ केबीपीएस ब्यान्डविथ पाउनु भनेको त्यतिखेरका लागि निकै ठुलो विषय थियो । सम्भवतः त्यतिखेर वर्ल्डलिंकको कूल ब्यान्डविथ १.५ देखि २ एमबीपीएसभन्दा बढी थिएन । मर्कन्टाइलको पनि सोही हाराहारी थियो ।
नेपालमा इन्टरनेट चलाउनेहरूको जमात एकदमै सानो थियो । प्रत्येक मङ्गलबार-बुधबार प्रायः जसो इन्टरनेट प्रयोगकर्तासँग भेट्न सकिने अवस्था थियो । कान्तिपथको निर्वाचन आयोग अघिल्तिर मर्कन्टाइलका संस्थापक तथा सञ्चालक सञ्जीवराज भण्डारीले एउटा साइबर क्याफे खोलेका थिए । त्यहाँ आउने सबैलाई चिया पनि खुवाउँथे । त्यहीँबाट गौरवले इन्टरनेट क्षेत्रका व्यक्तिहरूसँग राम्रो सम्बन्ध र सम्पर्क बनाएका थिए ।
त्यसै क्रममा भारतको पीसी क्वेस्टको नेपाली संस्करण पनि निस्किने भयो । गौरव त्यसको एडिटर बने । विशेषगरी यसमा उनले सूचना प्रविधिसँग सम्बन्धित विभिन्न विषयका लेखहरू छाप्थे । सँगसँगै कम्प्युटर एसोसिएसन नेपाल (क्यान) सँग पनि जोडिए । आईटी तथा इन्टरनेटको कामसँगै उनी रेडियो सगरमाथामा कार्यक्रम प्रोड्युसर, अनि हिमाल खबर र त्यस अन्तर्गतका नेपाली टाइम्स, वेब म्यागेजिनमा पूर्णकालीन पत्रकारको रूपमा समेत सक्रिय थिए ।
सन् २००१/०२ तिर नेपालमा सिस्को नेटवर्किङ प्रोग्राम भित्र्याउने काम पनि गौरवले नै गरे । यसको सुरुवात प्राइम कलेज, केसीएम र आईओईमा सिस्को नेटवर्किङ एकेडेमिक प्रोग्राम अध्यापनबाट भएको थियो । यसका लागि उनी यूएनडीपीको जागिरे बने । यसै क्रममा नेपालमा यूएनडीपीको फण्डिङमा आईसीटी फर डेभलपमेन्ट परियोजना सुरु भयो ।
गौरव कम्युनिटी (समुदाय) र कन्ट्याक्ट (सम्पर्क) जहिले पनि निकै महत्त्वपूर्ण हुने ठान्छन् । सन् २००२ मा उनी एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रममा गए, त्यो थियो, बैंककमा भएको एसिया प्यासिफिक रिजनल इन्टरनेट कन्फ्रेन्स अन अपरेसनल टेक्नोलोजिज - एप्रिकट (APRICOT) । बैंकक पुगेपछि यूएनमा काम गरिरहेका उनका लागि बाँकी विश्वको ढोका खुले झैँ भयो । त्यहीँ उनले वास्तवमै राउटिङ कसरी हुँदो रहेछ र इन्टरनेट एक्स्चेन्ज कसरी गर्ने भन्ने कुरा थाहा पाए । त्यसै वर्षको मे महिनामा एउटा प्रतिस्पर्धामा विजेता बनेका गौरवले अमेरिकाको वासिङ्टन डीसी जाने मौका पाए ।
यी कार्यक्रमबाट फर्किएपछि प्रिजेन्टेसन बनाएर उनी आईएसपीहरू कहाँ गए र एनपीएनएक्स बनाउने बारे छलफल थाले । त्यहाँबाट सबै निजी आईएसपी एक मत भएपछि सबै मिलेर नेपाल टेलिकम गए । यसरी अन्ततः नेपालमा पहिलो इन्टरनेट एक्स्चेन्ज स्थापना भयो ।
इन्टरनेट एक्स्चेन्जको काम भनेको अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग नगरी स्थानीय रूपमा नै इन्टरनेट ट्राफिक आदानप्रदान गर्नु र त्यसलाई सरल बनाउनु हो । यसका लागि स्थानीय आईएसपीबीचमा डेटा शेयर गर्ने गरिन्छ । गौरवका अनुसार त्यसबेला (२००१) मा कहिलेकाहीँ मात्र नेपालमा एक एमबीपीएससम्म इन्टरनेट प्राप्त हुन्थ्यो । धेरै जसो भने ६४ केबीपीएसको ब्यान्डविथ प्रचलनमा थियो । खैर, उनकै सक्रियतामा मार्च २००२ मा एनपीआईएक्सको स्थापना भयो । जुलाई २००४ मा एनपीआईएक्सको उच्चतम (ब्यान्डविथ) ग्राफ २.४ एमबीपीएससम्म पुग्थ्यो, त्यतिखेरका लागि जुन निकै उत्साहजनक विषय थियो । त्यस्तो ग्राफ २०२४ मा आइपुग्दा ५० जीबीपीएस छ ।
एप्रिकटमा प्रविधि क्षेत्रका मानिसहरूको ठुलो जमघट देखेर फर्किएका गौरवले स्थानीय स्तरमै सोही प्रकारको कार्यक्रम आयोजना गर्ने विषयमा सोच्न थाले । “यत्तिका मान्छेहरूलाई एप्रिकटमा लैजान सम्भव हुँदैन । यसका लागि त्यस्तै कार्यक्रम यहीँ गर्नुपर्छ भन्ने लाग्यो,” उनी सम्झिन्छन् । त्यतिखेर क्यानमा उनी सचिव थिए, जहाँ उनकै अग्रसरतामा आईटी कन्फ्रेन्स हुने गर्थ्यो । तर त्यसको खासै औचित्य नदेखेका उनले आईटी कन्फ्रेन्सलाई नै सानोग (साउथ एसिया नेटवर्क अपरेटर्स ग्रुप) बनाई दिए ।
यसरी सन् २००३ जनवरीमा उनले सानोग स्थापना गरे । सामान्य रूपमा बुझ्दा सानोग दक्षिण एसियाली क्षेत्रका आईएसपी, इन्जिनियर र प्रविधि विज्ञहरूको एक व्यावसायिक समूह हो । दक्षिण एसियाली क्षेत्रभित्र इन्टरनेट नेटवर्किङ प्रविधि, प्रणाली र अभ्यासहरू सुधार गर्नु सानोगको उद्देश्य रहेको छ । अहिलेसम्म सक्रिय भए पनि अध्यक्ष भएर उनले ११ वर्षसम्म (२००३-१४) सम्म सानोगमा योगदान दिए ।
सन् २००२ मा उनी प्याकेट क्लियरिङ हाउस (पीसीएच) नामक संस्थामा काम गर्न थाले । जहाँबाट गौरवले आफूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र सामुदायिक कार्यहरूमा संलग्न हुने अवसर पाए । एनपीआईएक्समार्फत उनले गरेको कामबाट प्रभावित पीसीएचले अन्य देशहरूमा समेत इन्टरनेट एक्सचेन्ज स्थापनामा सहयोग गर्न अनुरोध गर्यो । यस क्रममा बङ्गलादेश, फिलिन्स, मोजाम्बिक लगायतका देशमा इन्टरनेट एक्स्चेन्ज स्थापना गर्न उनले महत्त्वपूर्ण योगदान दिए । दक्षिण एसिया क्षेत्रमा इन्टरनेटको विकास र विस्तार गर्न यो निकै महत्त्वपूर्ण काम थियो ।
जागिरे जीवन र सामाजिक कामका लागि दौडिरहने उनले एकदिन सोचे - अब त केही व्यावसायिक काम पनि गर्नु पर्छ । घुमेर मात्र पुग्दैन भन्ने सोचेर उनले केही साथीहरूसँग मिलेर उनले शास्त्र नेटवर्क सोलुसन्स नामक कम्पनी खोले । यो आईपी सम्बन्धी सेवा तथा परामर्श दिने कम्पनी थियो ।
आफ्नै कम्पनी स्थापना गरे पनि सामाजिक काममा उनी रोकिएनन् । एनरेन (NREN), वर्ल्ड समिट अन इन्फर्मेसन सोसाइटी (डब्लुएसआईएस) सँगको सहकार्यमा विभिन्न काम पनि गरे । वायरलेस इन्टरनेटको क्षेत्रमा काम गर्ने मान्छेको खोजी गर्दै एकदिन महावीर पुन गौरवलाई भेट्न आइपुगे । त्यसपछि उनले पुनसँग मिलेर पोखराको उत्तरी भेगमा पर्ने खोप्रा, मोरे, राम्चे लगायतका कयौँ स्थानमा वायरलेस इन्टरनेट पुर्याउन महत्त्वपूर्ण भूमिका खेले ।
खासमा गौरवले यति काम गरेका छन्, कि त्यसमा एउटा किताबै बन्न सक्छ । यो छोटो लेख त उनका कामको सारांश मात्रै हो । यसमा छुटाउनै नहुने वाई-फाईको फ्रिक्वेन्सी ब्यान्डको सन्दर्भ पनि एक हो । अहिले हामी निस्फिक्री वाई-फाई चलाइरहेका छौँ ।
सन् २००८ अघि भने नेपालमा वाई-फाई चलाउन लाइसेन्स लिनु पर्ने हुन्थ्यो । यसले गर्दा नेपालमा इन्टरनेटको विस्तार सोचेजस्तो भइरहेको थिएन । २.४ र ५.२ गिगाहर्ज फ्रिक्वेन्सीमा चल्ने उपकरण विदेशबाट मगाउन पाइँदैन थ्यो । महावीर पुनको नेतृत्वमा गौरव लगायत संसदीय समितिसम्म पुगे । उक्त प्रयासले अन्ततः वाई-फाई ब्यान्डको फ्रिक्वेन्सी नेपालमा निःशुल्क हुने भयो ।
विदेशतिर उनले इन्टरनेटमा भइरहेको क्रान्तिकारी परिवर्तन देखिरहेका थिए । यसले गर्दा बाँच्नका निम्ति आफ्नो काम गरे पनि समुदायका लागि निःस्वार्थ काम गर्नुपर्छ भन्ने मान्यता उनको थियो । सम्भवत: त्यस्तै कामको अनुभव र अन्तर्राष्ट्रिय रूपमा फैलिएको सम्बन्धले नै हुनु पर्छ, उनी डीएनएस रुट साइनिङ सेरेमोनीका लागि ट्रस्टेड कम्युनिटी रिप्रिजेन्टिभ (टीसीआर) को १४ सदस्यीय समितिमा छनोट भए । यो त्यस्तो समिति हो, जसले इन्टरनेटको सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्छ । यसका लागि विश्वभरका देशहरूबाट योग्य व्यक्तिलाई छान्ने गरिन्छ ।
इन्टरनेट सम्बन्धी काम गर्दा उनको भूमिका त्यतिमै रोकिएन । एसिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर इन्टरनेट एक्स्चेन्ज स्पेसल इन्ट्रेस्ट ग्रुप (APNIC IX SIG) को सहअध्यक्ष, एसिया प्यासिफिक इन्टरनेट एसोसियसन (APIA) को बोर्ड र एपिनिक एक्जिक्युटिभ काउन्सिलमा (APNIC EC) समेत उनी चुनिए ।
यो समयसम्म आइपुग्दा उनले सिस्टम एड्मिनको काम पूर्ण रूपमा छाडिसकेका थिए । नेटवर्क एड्मिनको काम पनि करिब करिब छाडिसकेका थिए । अथवा भनौँ, उनी नेतृत्वदायी भूमिकामा स्थापित भइसकेका थिए ।
यति लामो समयसम्म काम गर्दा उनको एउटा करियर सेटअप भइसकेको थियो । तर औपचारिक पढाइमा भने उनले प्रगति गर्न सकिरहेका थिएनन् । केही कोर्सहरूमा डिप्लोमा भने गरेका थिए । तर उता काम सिक्दै गएकाले उनी इन्टरनेट प्रविधिको क्षेत्रमा भने निकै अघि पुगिसकेका थिए । एउटा पहिचान बनाइसकेका थिए ।
औपचारिक शिक्षामा पुनरागमन
सन् २००९ ताका उनी इन्टरनेट सेवाप्रदायकहरूको कन्फ्रेन्समा भाग लिन लस ऐन्जलस गए । त्यो समयमा उनी एउटा कम्पनीका लागि अनुसन्धानको काममा सहयोग गर्थे । त्यसो हुनाले उनले अन्तर्राष्ट्रिय रूपमा आफ्नो नेटवर्क बनाएका थिए । त्यही अवसरमा उनले एक जना साथीलाई अलि गतिलो काम चाहियो भनेर सुनाए । लगत्तै उनलाई सिङ्गापुर जाने विकल्प खुल्यो ।
नेपालमा राम्रै काम गरिरहेका उनले देश छाड्नुको कारण पनि छ । नेपालमा उनले साथीहरूसँग मिलेर शास्त्र नेटवर्क सोलुसन्स खोलेका थिए । तर देशको नीतिगत समस्याका कारण निराश उनीहरू कम्पनी चलाउन नसक्ने स्थितिमा पुगिसकेका थिए ।
कि त कम्पनी बन्द गर्ने अथवा जसोतसो चलाउने अन्तिम विकल्प थियो । जसोतसो चलाउन पनि गौरव सहितका सह-संस्थापकहरू आफैँले काम गर्नुको विकल्प थिएन । त्यही सिलसिलामा उनी सिङ्गापुर पुगे ।
त्यहाँ उनले स्नातक तहको विज्ञापन खुलेको देखे । कलेजमा उनले कुरा गरे । कलेजले उनको आईएससी र डिप्लोमा कोर्सलाई मान्यता दिने भयो । त्यसपछि उनले डेढ वर्ष जतिमा स्नातक सक्ने गरी साँझको समयमा पढ्न थाले । यसरी उनले अक्सफोर्ड ब्रुक्स युनिभर्सिटीबाट बीएससी (अन्स) नेटवर्क कम्प्युटिङ पनि सके ।
त्यहाँ पढ्न गाह्रो भए पनि आफूले गरिरहेको कामसँग सम्बन्धित विषय भएकाले त्यति साह्रो अप्ठ्यारो पनि नभएको उनी सुनाउँछन् । स्नातक गरी रहँदासम्म उनमा औपचारिक शिक्षाप्रतिको मोह फर्किसकेको थियो । उत्तीर्ण हुना साथ उनले थप उच्च शिक्षा पनि हासिल गर्ने निधो गरे । अनि लगत्तै बेलायतको ओपन युनिभर्सिटीमा भर्ना भएर स्नातकोत्तरमा टेक्नोलोजिकल म्यानेजमेन्ट पढ्न थाले ।
स्नातक नेटवर्कसँग नै सम्बन्धित थियो । तर स्नातकोत्तर भने गाह्रो भएको उनी बताउँछन् । तर कडा मेहेनेत गरेकाले तीन वर्षे कोर्स आधा सिङ्गापुरमा र आधा अमेरिकामा सके । यसरी लामो समयपछि औपचारिक पढाइमा फर्किनुको कारण भने उनी पढाइप्रतिको आफ्नो रुचिलाई ठान्छन् ।
अमेरिका प्रस्थान
सिङ्गापुरमा हुँदा उनी लाइमलाइट नेटवर्क्स नामक कम्पनीको वरिष्ठ निर्देशकको भूमिकामा कार्यरत थिए । एसिया प्यासिफिक क्षेत्रमा नेटवर्क डेभलप, नेटवर्क म्यानेजमेन्ट, आर्किटेक्ट आदि कार्यमा उनी संलग्न थिए । सोही कम्पनीबाट सरुवा मिलेपछि सन् २०१५ मा उनी अमेरिका हानिए ।
सम्झँदा उनी आफ्नो अमेरिका यात्रालाई त्यति अप्ठ्यारो मान्दैनन्, जति सिङ्गापुर जाँदा थियो । किनकि उनी सिङ्गापुरबाट अमेरिका कम्पनीका कारण गइरहेका थिए । यसले गर्दा आवश्यक बन्दोबस्तको सम्पूर्ण जिम्मा कम्पनीले लिएको थियो ।
अमेजनको जागिर
अमेरिकामै हुँदाको बखत सन् २०१८ मा उनलाई अमेजनमा काम गर्ने अवसर जुर्यो । त्यो सुनौलो अवसर उनले गुमाउन चाहेनन् । उनी अमेजनमा जोडिए ।
त्यहाँ अमेजन वेब सर्भिसेस (एडब्लूएस) मा एज इन्टरकनेक्सनको प्रिन्सिपलको रूपमा उनी जोडिएका थिए । जुन प्रबन्धकीय नभएर नेतृत्वदायी भूमिका थियो । अमेजन उनले त्यसअघि काम गरिरहेको भन्दा दशौँ गुणा ठुलो कम्पनी थियो । तर काम भने उनले विगतमा गर्दै आएको जस्तै । तीन वर्षसम्म काम गरेपछि भने उनलाई नयाँ काम गर्न पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो ।
यसैबीच सन् २०१९ को अन्त्यतिर अमेजनले बेलायतभित्र इङ्लिस प्रिमियर लिग (ईपीएल) को प्रत्यक्ष प्रसारण गर्ने अधिकार पायो । त्यसपछि आफ्नो ओटीटी प्लेफर्ममा अझ अरू कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने अधिकार पनि ग्रहण गर्दै गयो । जुन गौरवका लागि अवसर बनिदियो । अनि आन्तरिक रूपमा सरुवा भएर प्राइम भिडिओमा आए । त्यसयता उनी वर्ल्ड वाइड भिडिओ डेलिभरीको स्ट्राटेजी प्रमुखको भूमिकामा छन् ।
उनले अमेजनमा जोडिएर काम गर्न थालेको पनि अहिले करिब सात वर्ष हुन लागेको छ । तर इन्टरनेटको कम्युनिटीमा काम गर्न भने छाडिसकेका छैनन् । यद्यपि पछिल्लो समय आफैँ स्थापना गरेका संस्थाहरूमा उनी नेतृत्वदायी भूमिका भने छैनन् । क्रमशः: नव पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै उनले नेपथ्यबाट सहयोग गरिरहेका छन् ।
सन् १९९५ मा सुरु भएको गौरवको प्राविधिक यात्रा आज अमेजनसम्म आइपुग्नु आफैँमा गौरवशाली छ । उनी ‘सहयोगले विकास सम्भव छ’ भन्ने सोच राख्ने व्यक्ति हुन् । अझ इन्टरनेटको काममा त विभिन्न पक्षले एकैठाउँमा आएर सँगसँगै काम गर्नु पर्छ भन्ने उनको धारणा छ ।
अहिले इन्टरनेटको गति बढाउने काममा सुस्तता आएको र अन्य थप जटिलता पनि थपिँदै गएको उनी सुनाउँछन् । अहिले केही क्षण मात्रै इन्टरनेट डाउन भए कुनै छुट नपाइने उनी बताउँछन् । तर त्यस्तो अवस्था आउन नदिन एक्लैले नहुने, समूह र सङ्गठन चाहिने उनको बुझाइ छ ।
त्यस्तै ‘कन्टेन्ट’ स्थानीय भए पनि ‘सिस्टम’ विश्वव्यापी हुनु पर्ने धारणा राख्छन्, उनी । त्यसो त हो, उनले दुई दशकअघि कम्प्युटर अपरेटरको रूपमा काम गर्दा झेलेका चुनौती अवश्य पनि भिन्नै थिए । तर उनले झेल्नु पर्ने र झेलिरहेका चुनौती अहिले अर्कै छन् । तर समाधान गर्ने सोच भने उही छ । अहिले भने उनलाई गम्न मन लाग्दो हो- नेपालमा अमेजनलाई कहिले र कसरी भित्र्याउन सकिएला ? किनकि उनी अमेजन प्राइमको नेतृत्वदायी भूमिकामा पुगे पनि नेपालमा भने सहज किसिमले सो प्लेटफर्म उपलब्ध छैन ।