काठमाडौँ । साइबर अपराधको आरोपमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि सञ्चारकर्मी दिलभूषण पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा रिट निवेदन दिएका छन् । आइतबार निषेधाज्ञा निवेदन दर्ता गराउँदै उनले आफूलाई पक्राउ नगर्न आदेशको माग गरेका छन् ।
गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाइएको निवेदनमा सुनुवाइका लागि सोमबार न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासमा पेशी तोकिएको छ ।
पाठकले सञ्चालन गर्दै आएको युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नताबारे एक रिपोर्ट सार्वजनिक गरिएको थियो ।
उक्त सामग्रीमा देउवा पुत्रले व्यापारी शाहिल अग्रवाल र दीपक भट्टसँग मिलेर नक्सालस्थित हिल्टन होटल खरिद गरेको दाबी गरिएको छ । रिपोर्ट ‘कपोलकल्पित, भ्रामक र चरित्रहत्या गर्ने उद्देश्यले तयार पारिएको’ भन्दै साइबर अपराध अन्तर्गत उजुरी परेको हो ।
उक्त उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाउन काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको हो । यता पाठक भने सो समाचार सार्वजनिक भएयता सार्वजनिक रूपमा देखिएका छैनन् ।