काठमाडौं । मेटाले थर्ड पार्टी तथ्य-जाँच प्रणाली हटाउने र कन्टेन्ट मोडेरेसेसन (सामग्री निगरानी) नीति खुकुलो पार्ने निर्णय गरेको छ । कम्पनीको यो कदमलाई लिएर प्रयोगकर्ता गुगलमा फेसबुक, इन्स्टाग्राम र थ्रेड्स कसरी डिलिट गर्ने भन्ने विषय अत्यधिक खोज्न थालेका छन् ।
मेटाको यस निर्णयप्रति आक्रोशित केही प्रयोगकर्ताले मेटाका सीईओ मार्क जुकरबर्गलाई ट्रम्प प्रशासनसँग नजिक हुने प्रयास गरेको आरोप लगाएका छन् । यसले कम्पनीका सामाजिक सञ्जाल प्लेटफर्मलाई गलत सूचना र ध्रुवीकरणयुक्त अभिव्यक्तिको थलो बनाउने खतरा बढाएको भन्दै मानिसहरू आक्रोशित छन् । साथै जुकरबर्गले कम्पनीका तेस्रो-पक्ष तथ्य-जाँचकर्ताहरूलाई ‘राजनीतिक रूपमा धेरै पक्षपाती’ भन्दै आफ्नो ‘स्वतन्त्र अभिव्यक्ति’को दृष्टिकोणसँग मेल नखाएको भन्ने अभिव्यक्ति दिएपछि उनी थप आलोचनाको केन्द्रमा परेका हुन् ।
यसैलाई लिएर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पनि फेसबुक, इन्स्टाग्राम र थ्रेड्स डिलिट गर्ने तरिका सिकाइरहेका छन् । यसै पनि पछिल्लो समय टिकटककै लहलहैमा लागेको भन्दै मेटाका एल्गोरिदमप्रति मानिसहरू असन्तुष्ट छन् । त्यसैले तपाईं पनि मेटाका एल्गोरिदमबाट दिक्क हुनुहुन्छ र आफ्ना डेटालाई मेटाका विज्ञापनदाता र एआईबाट जोगाउन चाहनुहुन्छ भने अकाउन्ट डिलिट गर्न सक्नुहुन्छ ।
फेसबुकमा भएका तपाईंका सबै डेटा कसरी डाउनलोड गर्ने ?
यदि तपाईं फेसबुक अकाउन्ट डिलिट गर्न चाहनु हुन्छ भने आफ्ना व्यक्तिगत जानकारी डाउनलोड गर्नुपर्ने हुन्छ । विशेषगरी तपाईंले अपलोड गरेका फोटो, एक्टिभ सेसन, च्याट हिस्ट्री, आईपी एड्रेस, फेसियल रिकग्निसन डेटा र तपाईंले क्लिक गरेका विज्ञापनको डेटा डाउनलोड गर्न सक्नुहुन्छ । त्यसका लागि ब्राउजर वा मोबाइल एपमै गएर यसरी आफ्नो डेटा डाउनलोड गर्न सक्नुहुन्छ ।
सबैभन्दा पहिले कम्प्युटरको ब्राउजरमा फेसबुक लगइन गर्नुहोस् । (फोनमा फेसबुक एप खोलेर डाउनलोड गर्न सकिन्छ)
अनि दायाँपट्टि गरेको प्रोफाइलको आइकनमा क्लिक गर्नुहोस् ।
यति गरिसकेपछि सेटिङ एन्ड प्राइभेसीको अप्सन छानेर सेटिङमा जानुहोस् ।
स्क्रोल गर्दै तल गएपछि बायाँपट्टि योर इन्फरमेसन (Your Information) भन्ने अप्सनमा जानुहोस् । र, डाउनलोड योर इन्फरमेसन (Download your Information) मा क्लिक गर्नुहोस् ।
यति गरिसकेपछि तपाई अकाउन्ट सेन्टरमा पुग्नुहुन्छ । अनि कन्टिन्यु (Continue) को बटनमा ट्याप गर्नुहोस् ।
त्यसको केही समयपछि ‘डाउनलोड अर ट्रान्सफर इन्फरमेसन’ (Download or Transfer Information) भन्ने बटनमा ट्याप गर्नुहोस् ।
यति गरेपछि आफूले चाहेको डेटा छान्न सक्नुहुन्छ । यति छानिसकेपछि ‘नेक्स्ट’को बटनमा क्लिक गर्नुहोस् ।
अनि कति जानकारी डाउनलोड गर्न खोज्नुभएको हो, त्यति छान्नुहोस् । र, फेरि नेक्स्ट (Next) को बटनमा ट्याप गर्नुहोस् ।
यति भएपछि तपाईं उक्त जानकारी डिभाइसमै डाउनलोड गर्न चाहनु हुन्छ कि अन्त कतै डाउनलोड गर्न चाहनुहुन्छ भन्ने अप्सन छान्नुहोस् । र, फेरि नेक्स्ट (Next) को बटनमा ट्याप गर्नुहोस् ।
यति भएपछि तपाईंको डेटा डाउनलोड हुन सुरु हुन्छ । र, अन्तिममा ‘क्लिक रिक्वेस्ट’को बटनमा ट्याप गर्नुहोस् ।
फेसबुक अकाउन्ट कसरी डिलिट गर्ने ?
सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।
त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलसँगैको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् ।
स्क्रोल गर्दै तलपट्टि गएर सेटिङ एन्ड प्राइभेसीको अप्सन छान्नुहोस् ।
अनि सेटिङमा जानुहोस् ।
त्यसपछि ‘सि मोर इन अकाउन्ट सेन्टर’को अप्सन छान्नुहोस् ।
र, पर्सनल डिटेल्सको अप्सनमा गई ‘अकाउन्ट अनरशिप एन्ड कन्ट्रोल’ को अप्सन छान्नुहोस् ।
यति भएपछि ‘डिएक्टिभेसन’ अर ‘डिलिसन’को अप्सनमा जानुहोस् । अनि आफ्नो डिलिट गर्नुपर्ने अकाउन्टमा ट्याप गर्नुहोस् ।
यति गरेपछि डिलिट अकाउन्टको अप्सन छान्नुहोस् । र, अन्तिममा कन्टिन्युको बटन ट्याप गर्नुहोस् । यति गरेपछि फेरि कन्टिन्युको बटन ट्याप गर्नुहोस् । र, कारण दिएर फेरि कन्टिन्युको बटनमा ट्याप गर्नुहोस् । यति भएपछि फेरि अर्को पटक पनि कन्टिन्युको बटन थिच्नुहोस् ।
त्यसपछि तपाईंलाई डिएक्टिभेट गर्ने हो वा अन्य केही गर्ने हो भन्ने अप्सन देखाउँछ । यि सबैलाई छोडेर अन्तिममा रहेको कन्टिन्युको बटनमा ट्याप गर्नुहोस् । र, पासवर्ड राखेर फेरि कन्टिन्युको बटनमा ट्याप गर्नुहोस् ।
यति गरेपछि तपाईंको अकाउन्ट डिलिट हुने प्रक्रिया सुरु हुन्छ । तत्कालै तपाईंको अकाउन्ट फेसबुकबाट हराउँछ । तर, तपाईंले चाहनु भयो भने ३० दिनभित्र लगइन गरेर फिर्ता ल्याउन सक्नुहुन्छ । तर, चाहनु भएन भने तपाईंको अकाउन्ट र डेटा सधैंका लागि फेसबुकबाट हराउँछन् ।
इन्स्टाग्राम अकाउन्ट कसरी डिलिट गर्ने ?
सबैभन्दा पहिले इन्स्टाग्राम एप खोल्नुहोस् ।
त्यसपछि तल दाँयापट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।
अनि माथि दायाँपट्टि रहेको तीन ओटा बारमा ट्याप गर्नुहोस् ।
र, अकाउन्ट सेक्सनमा गई आफ्नो इन्स्टाग्राम अकाउन्ट छान्नुहोस् ।
यति गरेपछि माथि सर्च बारमा ‘डिलिसन’ (Deletion) टाइप गरेर डिएक्टिभेसन अर डिलिसनको अप्सन छान्नुहोस् ।
अनि आफ्नो इन्स्टाग्राम अकाउन्ट छान्नुहोस् ।
त्यसको तलपट्टि डिलिट अकाउन्ट भन्ने अप्सन हुन्छ त्यसैमा ट्याप गरेर कन्टिन्युको बटनमा ट्याप गर्नुहोस् ।
र, कुनै एउटा कारण छानेर अन्तिममा देखिएको कन्टिन्युको बटनमा ट्याप गर्नुहोस् । र, पासवर्ड राखी फेरि कन्टिन्युको बटनमा ट्यपा गर्नुहोस् । यति गरेपछि तपाईंको इन्स्टाग्राम अकाउन्ट डिलिट हुने प्रक्रिया अगाडि बढ्छ ।
थ्रेड्स अकाउन्ट कसरी डिलिट गर्ने ?
यदि तपाईंले थ्रेड्स खोलेको इन्स्टाग्राम अकाउन्ट डिलिट गर्नुभयो भने थ्रेड्स अकाउन्ट पनि स्वतः डिलिट हुन्छ । तर, थ्रेड्स मात्र डिलिट गर्न खोज्नु भएको हो भने तलको प्रक्रिया अपनाउनुहोस्:
ब्राउजरमा गएर (Threads.net) टाइप गरी थ्रेड्समा जानुहोस् ।
त्यसपछि तल बायाँपट्टि देखिएको दुई ओटा लाइनमा क्लिक गरी सेटिङमा जानुहोस् ।