close

बबरमहलमा विद्युत प्राधिकरणले तार भूमिगत गर्दा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

टेकपाना टेकपाना

माघ ४, २०८१ २०:५१

बबरमहलमा विद्युत प्राधिकरणले तार भूमिगत गर्दा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं । बबरमहल क्षेत्रमा विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने क्रममा नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा (एफटीटीएच) पूर्णरूपमा क्षतिग्रस्त भएको छ । यसबाट करिब एक हजार ग्राहकको सेवा अवरुद्ध भएको छ ।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले अवरुद्ध इन्टरनेट सेवा पुनःस्थापनाका लागि सम्बन्धित क्षेत्रका लाइनहरूको मर्मत कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए । उनले प्रभावित ग्राहकहरूलाई मर्मत प्रक्रियामा धैर्य गर्न अनुरोध गरेका छन् ।

विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा होरिजेन्टल डिरेक्सनल ड्रिलिङ (एचडीडी) प्रविधि प्रयोग गरी बिजुलीको तार भूमिगत बिछ्याउने कार्य गर्दै आएको छ ।

यस प्रविधिमा जमिनको सतह नखोलेर सुरुङ तयार गरी तार वा पाइप बिछ्याइन्छ । यसले सहरी संरचनाहरूलाई क्षति पुर्‍याउनबाट जोगाउने विश्वास गरिन्छ । तर, एचडीडी कार्यका क्रममा बिजुलीको पोलमा रहेका अप्टिकल फाइबर, सीसीटीभी क्यामेरा, सडक बत्ति लगायतका संरचना प्रभावित हुने गरेका छन् ।

पछिल्लो अध्यावधिक: माघ ४, २०८१ २१:१५