केटा र केटीको सामाजिक सञ्जालमा नै चिनजान भयो । उनीहरू त्यहीँ प्रेम सम्बन्धमा जोडिए । सामाजिक सञ्जालमा नै उनीहरूले पहिलो एनिभर्सरी पनि मनाए । उनीहरू ‘डिप लभ’ मा भएजस्तै व्यवहार गर्न थाले । तर दोस्रो एनिभर्सरीपछि भौतिक रूपमा नै एक अर्कासँग भेट्ने निर्णय गरे । तर भेट्दा उनीहरूले सामाजिक सञ्जालमा भन्दा एकअर्कालाई फरक पाए । त्यसपछि केटीले केटालाई ‘ब्रेकअप’ दिइन् ।
सबै कुरा यत्तिमै रोकिएन । केटीका साथीहरू तथा अरू असम्बन्धित व्यक्तिले पनि केटालाई गाली बर्साउन थाले । जब कि उनीहरूलाई वास्तविकता के हो भन्ने थाहा नै थिएन । उनीहरू वास्तविकता जान्न पनि चाहँदैनथे । केटा अलि अन्तर्मुखी स्वभावको भएकाले सहेर नै बसे । तर त्यसले उनलाई मानसिक तनाव नै उत्पन्न गरायो र उनी डिप्रेसनमा पुगे ।
०००
कक्षा १० मा अध्ययनरत एक बालिका दिनरात मोबाइल गेमिङमा बिताउँछिन् । परिवारकै एक्लो सन्तान उनमा अझ बाजी राखेर गेम खेल्ने बानी छ । रातभर गेम खेलेर उनको निद्रा र पढाइ दुवै बिग्रिएको छ ।
उनको भविष्य, करिअर के हुन्छ ? अन्यौलता सिर्जना भइरहेको छ । गेमलाई लिएर एकदमै ‘अब्सेस्ड’ भएपनि उनलाई परामर्शका लागि ल्याइएको छ । तर उनी अझै पनि राति गेम खेल्ने र नसुत्ने हुँदा दिउँसो परामर्शका लागि जाँदा निद्रामा झुमिरहेकी हुन्छिन् ।
०००
त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयकी प्राध्यापक र नेसनल इन्स्टिच्युट अफ साइको-एजुकेसन काउन्सेलिङकी मुख्य परामर्शदाता डा. गङ्गा पाठककहाँ सामाजिक सञ्जालका कारण समस्यामा परेका यस्ता कयौँ व्यक्तिहरू पुग्ने गर्छन् ।
अचेल स्वास्थ्य समस्या भएमा गुगल सर्च गर्ने चलन पनि छ । गुगल नै डाक्टर । गुगल नै थेरापिस्ट । एक १८ वर्षीय किशोर आफूलाई एन्जाइटी भएको भन्दै डा. पाठकको संस्थामा परामर्शका लागि आए । “कति समयदेखि यस्तो भयो ? के भइरहेको छ ?” भनेर सोध्दा युवकले आफूलाई ‘जीएडी’ भएको जवाफ फर्काए । साइकोलोजीको टर्मिनोलोजीको बारेमा युवकलाई थाहा भएको देखेर डा. पाठकले उत्सुकताका साथ “जीएडी भनेको के हो नि ?” भन्दै युवकलाई सोधिन् । युवकले जवाफ दिए, “जनरल एन्जाइटी डिसअर्डर ।”
त्यसपछि डा.पाठकले “गुगलबाट थाहा पाएको हो ?” भन्दै सोधिन् । जवाफमा युवकले भने, “गुगलमा हेरेको मेरो त ७५% मिल्यो । मलाई जीएडी भएछ ।”
उनले फेरि सोधिन्, “गुगलले त त्यसको उपचार पनि भन्दियो होला नि त बाबु ?” युवकले भने “सीबीटी गर्नुपर्छ भन्यो । टेक्निक फलो गरेको हुँदै भएन ।”
गुगलमा लक्षणहरू राख्दा एन्जाइटी भएको भनेपछि किशोरलाई झनै यसले समस्यामा पारेको उनी बताउँछिन् । क्षणभरमै पनि एन्जाइटी भइदिन सक्छ ।
गुगलमा भेटिएका केही कुराहरू मिल्ने भएपनि त्यो सबै नमिल्ने उनी बताउँछिन् । गुगलमा केही लक्षण राख्यो भने अनेकौँ रोग लागेको हुनसक्ने जवाफ देखाउँछ । व्यक्तिमा कुन तहको लक्षण छ, कस्तो अवस्थामा छ भन्ने कुरा एउटा थेरापिस्टले हेर्ने गर्छन् । गुगलमा देखिने कुरा ‘युनिभर्सल इन्फरमेसन’ हो । तर व्यक्ति अनुसार उपचार विधि फरक-फरक पर्न जान्छ । त्यसैले व्यक्ति विशेषलाई काम नलाग्ने उनी बताउँछिन् ।
पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग अत्यधिक बढेको छ । अझ पछिल्लो पुस्ताले सबैभन्दा धेरै चलाउने प्लेटफर्म पर्छ, इन्स्टाग्राम । गोपनीयता कायम गर्न स्न्यापच्याटजस्ता एप समेत चलाइरहेका हुन्छन् । यस्तै एपका कारण कानुनी उल्झनमा फसेका घटनाहरू पनि छन् ।
समग्रमा पछिल्लो पुस्ताको सञ्चार भनेकै सामाजिक सञ्जाल भइसकेको छ । भौतिक रूपमा भेटेर एक-अर्कासँग कुराकानी गर्नुभन्दा पनि हरेक काम कुरा अनलाइनबाटै भइरहेका हुन्छन् । मनोचिकित्सक डा. पाठकका अनुसार साथीहरू कोसँग के कुरा भयो, कसको रोमान्टिक सम्बन्ध कोसँग छ ? कसको ब्रेकअप भयो ? कसले गाँजा खान्छ ? कसलाई फोन गरेर यस्तो चिज मगाउन सकिन्छ ? जस्ता कुराहरू सामाजिक सञ्जालबाटै हुने गरेका छन् ।
सामाजिक सञ्जालमा दैनिकी, जीवनशैली लगायत सबै कुराहरू शेयर गरिरहेका हुन्छन् । जसकारण अरूको लाइक, फलोअर, सब्सक्राइबर, कमेन्ट, भ्युज आदि देखेर आफू भने कम भ्यालुको मानिस जस्तो सोच्ने किसिमका नकारात्मक भावनाको विकास हुने गरेको डा. पाठक सुनाउँछिन् ।
सामाजिक सञ्जालबाट मेसेज आदानप्रदान हुन्छ । एउटाले गरेको मेसेज सयौँ जनालाई एकैपटक फर्वार्ड गर्न सकिन्छ । एउटै कुरा सयौँ जनासम्म पुगेपछि एउटा बलियो नेटवर्क बन्छ । उनीहरू सबैजना त्यही मेसेजमा भएको विचारलाई पछ्याउँछन् र त्यो विचार साझा विचार बनिदिन्छ । सबैको एकै किसिमको साझा विचार निर्माण हुनुलाई ‘मास साइकोलोजी’ भनिने उनी बताउँछिन् ।
नकारात्मक कुरा हावासरी फैलिँदा सामाजिक सञ्जालमा वास्तविक घटना तोडमोड भएर अफवाहमा परिणत हुन्छन् । अर्थको अनर्थ हुने क्रम बढ्दै जान्छ । यसमा कोही फरक धारणा राख्ने व्यक्ति छ भने पनि उसको केही लाग्दैन । डा. पाठकका अनुसार फरक धारणा राख्नेहरू आफू एक्लिने डरले आफ्ना विचार लुकाएर त्यही धेरैले विश्वास गरेको विचारलाई समर्थन गर्न थाल्छन् । तर, त्यसले कस्तो परिणाम देखाइरहेको हुन्छ भन्ने बारेमा सोच्ने गरिएको हुँदैन ।
“आमनिर्वाचनको समयमा एउटा व्यक्तिलाई भोट हाल्छु भनेर तयारी भएर गइरहेको हुन्छ । तर अरू सबैले कुनै अर्को पार्टीलाई भोट हाल्दैछ भने उसको पनि भोट हाल्ने बेलामा एक्कासि मुड परिवर्तन हुन्छ र पहिले सोचेको भन्दा अर्कैलाई भोट हालेर बाहिरिन्छ । यसरी मास साइकोलोजीले सोच्ने तरिकालाई नै बदलिदिन सक्छ,” उनी भन्छिन्, “मलाई कुनै आन्दोलनमा रुचि थिएन । तर २०४६ सालको जनआन्दोलनमा सबैजना जुलुसमा जाँदा म पनि ९ महिनाको बच्चा लिएर जुलुसमा श्रीमानसँगै पुगेको थिएँ । सबैजना जुलुसमा गएको कारण मचाहिँ किन नजाने भनेर मलाई त्यहाँको भीडले खिचेर लगेको थियो ।”
मास साइकोलोजीले मानिसलाई तत्कालै उसको सोचाइ बदलिदिन सक्छ । यो एकदमै शक्तिशाली हुने भएकाले सोसल मिडियामा कुन बेला कस्तो आँधी निम्त्याउन सक्छ अनुमान पनि लगाउन नसक्ने उनी बताउँछिन् ।
सामाजिक सञ्जालमा आइरहेका सामग्री ठीक छ, छैन सोच्दै नसोची मानिसहरू तिनका पछाडि कुदिरहेको उनको विश्लेषण छ । भन्छिन्- “ज्ञानी, राम्रै व्यवहार भएको बच्चा पनि सामाजिक सञ्जालमा देखेका कुराको प्रभावमा आएर गलत बाटो रोज्ने हुनसक्छन् । उनीहरूले जति गलत व्यवहारहरू सामाजिक सञ्जालबाट सिक्छन् । उनीहरूको मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पर्दै जान्छ ।”
मानसिक स्वास्थ्यमा नकारात्मक असर
डा. पाठकका अनुसार हामीले मोबाइल हातमा समाउँदा हरेक औँलाको टुप्पोले मोबाइलको छेउमा छोइरहेका हुन्छौँ । हातका औँलाका विभिन्न पोइन्टहरू हाम्रो दिमागसँग जोडिएका हुन्छन् । मोबाइल स्याटलाइटसँग सम्बन्धित हुन्छ । स्याटलाइटमा इलेक्ट्रोड्स छ । यस्तै हाम्रो दिमागमा पनि प्राकृतिक रूपमा इलेक्ट्रोड्स पाइन्छ ।
मोबाइल चलाउँदा दिमागमा प्राकृतिक रूपमा भएको इलेक्ट्रोड्सलाई मोबाइलमा रहेको इलेक्ट्रोड्सले असर गर्छ । यो एकदमै शक्तिशाली हुने भएकाले हाम्रो दिमागमा सप्लाई हुने रसायनहरू असन्तुलित हुन जान्छन् ।
पढ्ने उमेरका बालबालिकाले एक घण्टाभन्दा बढी मोबाइल चलाउँदा उनीहरूमा लर्निङ ड्राउजी सिन्ड्रोम (एलडीएस) हुनसक्छ । यो त्यस्तो सिन्ड्रोम हो, जसमा बालबालिका सबै काम गर्न सक्रिय भएपनि पढ्न नसक्ने हुन्छ । धेरै मोबाइल चलाउँदा ब्रेनको पोजिटिभ हर्मोनहरू डोपामाइन हर्मोन सेरोटोनिन हर्मोनलाई डाउन गरिदिन्छ ।
जसकारण इन्डोमर्फिक जस्ता नेगेटिभ हर्मोनहरु बढ्छन् । सामाजिक सञ्जालको प्रयोगले हाम्रो ध्यान दिनसक्ने क्षमतालाई विनाश गरिदिन्छ । जसकारण हामीलाई रिस हुने, चिडचिडापन हुने, अधैर्य हुने, अशान्त हुने जस्ता समस्याहरू निम्तिन्छन् । भित्रभित्रै छट्पटिने, रेस्टलेस हुने क्रम बढ्दै जाँदा एन्जाइटी, डिप्रेसन हुन्छ ।
धेरै सामाजिक सञ्जाल चलाउँदा ‘ओसीडी’ पनि हुन्छ । इन्टरनेट नभएको समयमा एउटै कुरालाई स्क्रोल गरेर त्यही कुरा कयौँ पटक दोहोर्याएर हेरिरहनु भनेको ओसीडीको लक्षण देखिनु हो । यस्तै सामाजिक सञ्जालका कारण सोसल आइसोलेसन बढ्दै गएको र युवाहरू पारिवारिक अन्तर्क्रिया र भेटघाटबाट विस्तारै टाढिँदै गएको उनी बताउँछिन् । सामाजिक सञ्जालमा नै भुल्दै समाजबाट दूरी बढाउँदै जाँदा उनीहरू सामाजिक दायित्वबाट पनि टाढा रहन्छन् ।
पछिल्लो समयमा सामाजिक सञ्जालको लतका कारण मानिसहरूलाई प्यारालाइज गरिसकेको उनी बताउँछिन् । “मोबाइलका कारण उनीहरूमा सही र गलत छुट्याउन सक्ने विवेक नाश हुँदै गइरहेको हुन्छ । आफूले कुनै कुरा गर्दा निम्तिन सक्ने परिणामको बारेमा सोच्न नसक्दा सामाजिक सञ्जालमा जथाभावी मानिसहरूलाई कुरै नबुझी गाली गर्ने, सुन्न पनि नसकिने खालका अपशब्द प्रयोग गर्ने क्रम बढेका छन् । तर्क लगाएर कुनैपनि विषय सोच्न सक्ने क्षमता हराइसकेको छ। अरूले जे गर्यो त्यही देखेर त्यही विचारलाई पछ्याउने क्रम बढेको छ ।”
रातभरि नसुती ग्याम्ब्लिङ गर्ने, पोर्न हेर्ने, सामाजिक सञ्जालबाटै प्रेम सम्बन्ध सुरु हुने, त्यहीँ झगडा गर्ने र त्यहीँ सम्बन्ध टुट्ने क्रम निकै बढेको उनको अनुभव छ ।
मनोचिकित्सक डा. पाठकले परामर्श सेवा दिएको ३६ वर्ष पुगिसकेको छ । पहिला कुराकानी गरेर परामर्श दिइन्थ्यो । तर पछिल्लो पुस्तामा भने सुनेर बस्न सक्ने धैर्यता हराउँदै गएको उनले बताइन् । जसकारण उनले परामर्श गर्ने तरिकालाई नै परिवर्तन गरेर रचनात्मक काम गर्नतर्फ प्रेरित गरेकी छिन् ।
सामाजिक सञ्जालको लतमा परेको कसरी थाहा पाउने ?
मोबाइलबिना एकैछिन बस्न गाह्रो लाग्छ, अन्त कतै ध्यान जाँदैन भने तपाईंलाई मोबाइलको लत लागिसकेको छ भनेर बुझ्न सक्नुहुन्छ । यस्तै, सामाजिक सञ्जालमा कस्ता एप र साइटको प्रयोग बढी गरिन्छ भन्ने कुराले पनि तपाईंले कुन प्लेटफर्मको बढी लत लागेको छ भन्ने थाहा हुन्छ ।
धेरै सामाजिक सञ्जाल नि:शुल्क चलाउन पाइन्छ । तर एउटै साइटमा पटक पटक जान मन लाग्छ भने त्यो साइटसँग ‘अब्सेसन’ भएको थाहा पाउन सकिन्छ ।
रातको समयमा सामाजिक सञ्जाल चलाउने बानी छ भने यसले धेरै असर गरिसक्यो भन्ने बुझ्नुपर्ने उनी बताउँछिन् । यस्तै दिनमा मात्र चलाउने र रातमा चलाइँदैन भने यसको असर केही कम छ भन्ने बुझ्नुपर्छ । स्क्रिन टाइम कति छ भन्ने कुराले पनि कति ‘अब्सेस्ड’ छ भन्ने कुरा निर्धारण गर्छ ।
अझ मोबाइल गेम खेल्ने व्यक्तिहरू निकै एग्रेसिभ हुन्छन् । उनीहरू गेम खेल्दा हल्लाखल्ला गर्ने, कराउने गर्छन् । त्यसैले अभिभावकले रातको समयमा आफ्ना बच्चा कराउँछन् कि कराउँदैन भनेर ख्याल राख्नुपर्छ । यस्ता लक्षण महसुस गरेमा यसलाई रोक्न समयमा नै सोच्नुपर्ने हुन्छ ।
सामाजिक सञ्जाल वा गेमिङमा नै हराउने, अरू कुनै काम गर्न मन नगर्ने, ध्यान नदिने, अरूले कुराकानी गररहेको बेलामा इरिटेड हुने, रिसाइहाल्ने, चिच्याउने गर्न थालेमा भने त्यस्तो बेलामा मनोचिकित्सकलाई देखाउनुपर्छ भनेर बुझ्नुपर्छ ।
मनोचिकित्सकले स्क्रिनिङ टेस्ट गरेपछि उनीहरू कस्तो किसिमको लतमा फसेका छन् भन्ने थाहा हुन्छ । सुरुवाती लक्षणमा नै मनोचिकित्सकको सहयोग लिई काउन्सेलिङ गरेर नै पुरानै अवस्थामा फर्कन सकिन्छ । तर एक्स्ट्रिममा पुगेपछि औषधि नै खानुपर्ने हुन्छ ।
सामाजिक सञ्जालका कारण विभिन्न मानसिक समस्या भोगेर आत्महत्याको बाटो रोज्ने घटना पनि धेरै बढिरहेको उनी बताउँछिन् । आफूभित्र गुम्सिएका कुराहरू सहजै बाहिर अरूसँग नसाट्ने भएकाले यसको दर बढिरहेका छन् । नेपाली समाजमा अभिभावकले छोराछोरीको भावना सुन्ने, एक अर्काका कुरा साटासाट गर्ने बानी नभएकाले पनि यस्ता घटना बढ्ने गरेको उनको भनाइ छ ।
आफ्ना कुरा अन्त कतै खुलेर नभन्ने भएकाले मन भित्रै गुम्सिएर आत्महत्याका बाटो रोज्ने गरेका छन् । उनि भन्छिन्, “आत्महत्या गरिसक्दा पनि के कारणले भयो भन्ने खुलेको हुँदैन । परिवारका अन्य कुनै सदस्यलाई डिप्रेसन भएर आएका छन् भने अर्को कुनै सदस्यले डिप्रेसनका कारण ज्यान नै लिइसकेको थाहा हुन्छ ।”
कतिपय बालबालिका अभिभावकलाई आफूमाथि भएको समस्या भन्न नसकेर मनोपरामर्शका लागि आफैँ पनि पुग्ने गर्छन् । “आफ्नो समस्या आफैँ समाधान गर्छु भन्दै अभिभावक बिना आउने गर्छन् । तर १८ वर्षमुनिका बालबालिकालाई परिवारको अनुमतिबिना काउन्सेलिङ गर्न मिल्दैन । सामान्य केस छ भने हामी सहयोग पनि गर्दिन्छौँ । क्रिटिकल केस छ भने केही समय काउन्सेलिङ गरेर उनीहरूको मन जितेर अभिभावकसम्म पुग्छौँ ।”
समस्या अन्त्यका लागि के गर्नुपर्ला ?
सामाजिक सञ्जाल नियमनका लागि सबैभन्दा पहिला उपयुक्त नीति नियम नै बनाउनुपर्ने र त्यसपछि सामाजिक जागरूकता बढाउनुपर्नेमा डा. पाठकको जोड छ । “स्कुल-स्कुल, कलेज-कलेजमा गएर सचेतना बढाउनुपर्ने आवश्यकता देखिएको छ ।”
अभिभावकले बालबालिकालाई धेरै समयसम्म अनावश्यक साइटमा समय बिताउनबाट रोक्न आवश्यक रहेको उनी बताउँछिन् । “मोबाइल छुँदै नछुने होइन । यसको सही सदुपयोग गर्नतर्फ प्रेरित गर्नुपर्छ । रचनात्मक कामका लागि सामाजिक सञ्जालको प्रयोग गर्न थाल्यो भने त्यहीतर्फ ध्यान बढ्न थाल्छ ।”
उनी अगाडि थप्छिन्, “आमा र बच्चाबीच नै होमवर्क नसिध्याई मोबाइल चलाउन नदिने भनेर झगडा परिरहेको हुन्छ । अनि बच्चाको ध्यान चाँहि होमवर्कमा भन्दा पनि मोबाइल कुन बेलामा चलाउन पाइन्छ भन्नेमा हुन्छ ।”
यस्ता समस्याबाट समाधान हुन कति समयमात्र सामाजिक सञ्जाल चलाउने भनेर राष्ट्रले नै मोनिटरिङ गरेमा मात्र प्रभावकारी हुने उनको निष्कर्ष छ । तर, कुनै साइट हेर्न नहुने वा नकारात्मक प्रभाव पारिरहेको छ भनेर जानकारी गराएमा त्यसमा झनै मानिसहरूको चासो बढ्ने गरेको उनी बताउँछिन् ।
घरमा सामाजिक सञ्जालको प्रयोगमा नियन्त्रण गर्नुपरेमा त्यस्ता नियम बालबालिकालाई मात्र लाद्न नहुनेमा उनी जोड दिन्छिन् । सबै सदस्यले कति समयसम्म मोबाइल चलाउने भनेर नियम बनाएर पालना गर्नुपर्छ । “कुनै कामका लागि बानी बसाउनेगरी ‘ब्रेन’लाई ‘ट्रेन’ गर्नुपरेमा ‘मिलिटरी स्केज्युल’ चाहिन्छ । यति बजे उठ्नु पर्छ भने ट्याक्क त्यति बजे उठ्नुपर्छ । टेबलमा बसेर खानुपर्छ भने तोकिएको समयमा टेबलमै बसेर खानुपर्छ । कति बजे फर्केर आउनुपर्छ भन्यो त्यही टाइममा आउनुपर्छ । मोबाइल जुन समयदेखि नचलाउने भन्यो त्यही समयमा सबै जनाले बन्द गर्नुपर्छ ।”
सामाजिक सञ्जालले निम्त्याएको नकारात्मक कुराहरूबाट टाढा राख्न अन्तर्राष्ट्रिय स्तरमा विभिन्न अभ्यास पनि भइरहेको उनले सुनाइन् । “डेनमार्कमा २१ वर्षभन्दा कम उमेरका व्यक्तिले सामाजिक सञ्जाल चलाउने समयलाई कम गरेमा बोनस दिएर प्रोत्साहन गरिन्छ । उनीहरूले थप पाँच जनालाई यसबारे जानकारी गराएमा थप बोनस पाउँछन् । बोनसको भौचर देखाएर उनीहरूले आर्टका लागि चाहिने स्टेसनरी, पेन्टिङ लगायतका कुराहरू किन्न पाउँछन् । त्यस्तै, अष्ट्रेलियामा कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल चलाउन नै नपाउने कानुन ल्याइएकाे छ ।”