close

बागमती प्रदेशका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, सार्वजनिक यातायातमा जीपीएस

टेकपाना टेकपाना

असार २, २०८२ १३:४९

बागमती प्रदेशका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, सार्वजनिक यातायातमा जीपीएस

काठमाडौँ । बागमती प्रदेशका सम्पूर्ण सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने भएको छ । आइतबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सभामा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सवारी साधनको पहिचान र सुरक्षा सुनिश्चित गर्न यस किसिमको योजना अघि सारिएका हुन् ।

“राइड शेयरिङ सेवालाई कानुनी दायरामा ल्याई नियमन, गुणस्तर र सुरक्षाको मापदण्ड स्थापित गरिनेछ बागमती ई-ड्राइभिङ लाइसेन्स पोर्टलमा गरिएको सुरुवातलाई प्रभावकारी बनाई डिजिटल सेवामा पहुँच वृद्धि गरिनेछ,” बजेट वक्तव्यमा भनिएको छ । त्यस्तै प्रदेशभित्र वातावरणमैत्री सवारी साधनलाई प्रोत्साहन गर्दै पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा क्रमशः रूपान्तरण गर्दै लैजाने र विद्युतीय सवारी साधनको दर्ता प्रक्रिया समेत सरलीकरण गर्नका लागि मापदण्डलाई समय सापेक्ष बनाइने बताइएको छ ।

सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउन जीपीएस ट्रयाकिङ प्रणाली जडान गर्ने, नगद रहित भुक्तानी प्रणाली लागु गरी स्मार्ट यातायात सेवाको रूपमा सञ्चालन गर्ने जस्ता कार्यक्रमहरू पनि बजेटमा समेटिएका छन् । बजेट वक्तव्य अनुसार यातायात सेवालाई सहज र प्रभावकारी बनाउन यातायात व्यवस्था कार्यालयका सम्पूर्ण सेवालाई डिजिटल प्रविधिमा रूपान्तरण गरिनेछ ।

सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न अनलाइन प्रणालीको प्रभावकारी कार्यान्वयन गरिने, सवारी चालक अनुमतिपत्र, सवारी दर्ता र प्रदूषण परीक्षण प्रमाणपत्रलाई एकीकृत गरी क्यूआर कोड मार्फत नियमन र प्रमाणीकरणको व्यवस्था मिलाइएको आर्थिक मामिला मन्त्रीले बताएका छन् । जसका लागि ५ करोड रुपैयाँ बजेट छुट्याइएको छ । 

 

पछिल्लो अध्यावधिक: असार २, २०८२ १३:४९