close

अब सामान्य फोनबाटै अन्तरिक्षमा भिडिओ कल गर्न सकिने !

टेकपाना टेकपाना

माघ १७, २०८१ २२:३५

अब सामान्य फोनबाटै अन्तरिक्षमा भिडिओ कल गर्न सकिने !

काठमाडौं । बेलायती दूरसञ्चार कम्पनी भोडाफोनले विश्वकै पहिलो स्याटलाइट भिडिओ कल सफलतापूर्वक सम्पन्न गरेको छ । सामान्य स्मार्टफोन प्रयोग गरेर स्याटलाइटमार्फत कम्पनीले सफलतापूर्वक भिडिओ कल गरेको हो । 

भोडाफोनको प्रविधिले विशेष स्याटलाइट हार्डवेयरबिना नै फोरजी र फाइभजी फोनहरूमा मोबाइल ब्रोडब्यान्ड सेवा प्रदान गर्न सक्छ । स्पेसएक्सको प्रतिस्पर्धी कम्पनी एएसटी स्पेसमोबाइलका स्याटलाइटहरू प्रयोग गरेर यो सेवा सञ्चालन गरिने जनाइएको छ । सन् २०२५ को अन्त्यसम्म युरोपमा यो सेवा सुरु हुने अपेक्षा छ । 

टेक्सासमा आधारित एएसटी स्पेसमोबाइलले अमेरिकी दूरसञ्चार कम्पनीहरू एटी एन्ड टी र भेराइजनसँग सम्झौता गरिसकेको छ । यस सम्झौताले अमेरिकाभर स्मार्टफोनलाई सिधै स्याटलाइटसँग जोड्ने सेवा प्रदान गर्नेछ । कम्पनीले केही महिनाभित्र एटी एन्ड टीका लागि अमेरिकी नेटवर्क परीक्षण गर्न अनुमतिसमेत लिइसकेको छ । तर, यो सेवा अमेरिकाभन्दा पहिले युरोपमा सुरु हुने सम्भावना रहेको बताइएको छ । 

गत वर्ष स्पेसएक्सले आफ्नै स्टारलिङ्क स्याटलाइटमार्फत दुई अमेरिकी कर्मचारीबीच अनमोडिफाइड मोबाइल फोन प्रयोग गरी भिडिओ कल गरिसकेको थियो । भोडाफोनले भने आफ्नो परीक्षण पहिला मोबाइल नेटवर्क नभएको दुर्गम स्थानबाट गरेको जनाएको छ । ‍

भोडाफोनको परीक्षण अन्तर्गत एक इन्जिनियर (र उनको कुकुर) ले वेल्सको एक दुर्गम पहाडी क्षेत्रबाट भोडाफोनकी सीईओ मार्गेरिटा डेला भालेलाई कल गरेका हुन् । कम्पनीका अनुसार यो क्षेत्र पहिले कहिल्यै मोबाइल नेटवर्क नभएको ठाउँ हो । ४५ सेकेन्ड लामो कल राम्रैसँग भइरहेको देखिए पनि भिडिओको गुणस्तरमा भने केही समस्या देखिएको थियो । साथै, भिडिओ आउन केही ढिलाइ देखिएको थियो । 

भोडाफोनले यो सेवा उपलब्ध गराउन एएसटी स्पेसमोबाइलसँग साझेदारी गरेको छ । हालसम्म कम्पनीले पाँच ओटा लो-अर्थ-अर्बिट स्याटलाइट 'ब्लुबर्ड' प्रक्षेपण गरिसकेको छ । जसले स्पेस-टु-ल्याण्ड गेटवे मार्फत भोडाफोनको मोबाइल नेटवर्कसँग सिधै जडान गर्छ । यो प्रविधिलाई भोडाफोनको हालको मोबाइल नेटवर्कको वैकल्पिक प्रविधिको रूपमा हेरिएको छ । जसले पहाडी क्षेत्र, समुद्री क्षेत्र लगायत अन्य दुर्गम स्थानहरूमा सम्पर्क गर्न सेवा उपलब्ध गराउनेछ । सन् २०२६ भित्र यो सेवा युरोपभर उपलब्ध हुनेछ । 

एएसटी स्पेसमोबाइल प्रविधिले सामान्य फोरजी/फाइभजी संकेतहरू प्रयोग गर्छ । यसका लागि विशेष स्याटलाइट हार्डवेयर आवश्यक पर्दैन ।

अन्य लो-अर्थ-अर्बिट स्याटलाइट प्रणालीहरूले हालसम्म टेक्स्ट मेसेजिङ सेवा मात्र प्रदान गरेका छन् । तर भोडाफोनको सेवा भिडिओ कल तथा अन्य मोबाइल सुविधाहरू पनि उपलब्ध गराउनेछ । जसमा १२० एमबीपीएस सम्मको गतिको इन्टरनेट उपलब्ध हुनेछ । 

एप्पलका केही आईफोन र गुगल पिक्सेल फोनहरूमा विशेष मोडेम भएका कारण सीमित स्याटलाइट जडान सुविधा उपलब्ध छ । तर ती प्रायः आपतकालीन सन्देश, लोकेसन शेयरिङ र एसएमएसमा सीमित छन् । 

भोडाफोनकी सीईओ मार्गेरिटा डेला भालेले मानिस जुनसुकै कुनामा भएपनि एक अर्कासँग जोडिराख्ने उद्देश्य भएको बताउँछिन् । “भोडाफोनको उद्देश्य जहाँसुकै भए पनि सबैलाई एक अर्कासँग जोड्नु हो । हामी ग्राहकहरूलाई उत्कृष्ट नेटवर्क प्रदान गर्दैछौं र तिनीहरूलाई पहिलो पटक मोबाइल सञ्चार पहुँच उपलब्ध गराउँदैछौं ।”

उनले थपिन्, “यस सेवाले डिजिटल विभाजन अन्त्य गर्न मद्दत गर्नेछ, जसले गर्दा युरोपभरका नागरिकहरू परिवार, साथीभाइसँग सम्पर्कमा रहन, काम गर्न तथा आपतकालीन अवस्थामा ग्रामीण क्षेत्रलाई अन्य क्षेत्रसँग जोड्न सक्षम हुनेछ ।” 

हालसम्म यस सेवाको मूल्य कति पर्छ भन्नेबारे कुनै जानकारी दिइएको छैन ।

पछिल्लो अध्यावधिक: माघ १७, २०८१ २२:४६