काठमाडौं । बेलायत एआई टुलहरूको प्रयोग गरेर बालबालिकाको अश्लील तस्विर बनाउने कार्य विरुद्ध कानुन ल्याउने पहिलो देश बनेको छ । गत शनिबार बेलायती सरकारले एआई टुलहरूको प्रयोग गरेर अपमानजनक तस्विर निर्माण गर्नु र वितरण गर्नु गैर कानुनी हुने कुरा तय गरेको हो ।
यस्ता कार्य गर्नेलाई पाँच वर्षसम्म कैद सजाय हुन सक्ने जनाइएको छ । “एआई टुलहरूको प्रयोग गरेर बालबालिकाको वास्तविक तस्विर ‘नग्न’ बनाएर यौन दुर्व्यवहार गर्ने, नग्न तस्विरमा बालबालिकाको अनुहार राख्ने काम भइरहेका छन्,” सरकारले भनेको छ । एआई प्रयोग गरेर बाल यौन दुर्व्यवहार गर्न सिकाउने यौन दुराचारी "म्यानुअल" राख्नुलाई पनि अपराध मानिने र तीन वर्षसम्म कैद हुन सक्ने उल्लेख छ ।
नयाँ कानुनले बालबालिकाहरूलाई फसाउन सल्लाह दिने वा यौन दुर्व्यवहारका सामग्रीहरू वेबसाइटमार्फत प्रसारण गर्ने यौन दुराचारीहरूलाई पनि अपराधी मान्नेछ । यस्ता काम गर्नेलाई १० वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।
किशोर किशोरीलाई गलत कुरामा फसाउने प्रवृत्ति र बाल यौन दुर्व्यवहारका सामग्री अनलाइनमा बढ्दै गएको बताइएको छ । जसलाई पछिल्लो समय एआईले थप बढावा दिएको छ । यसको प्रयोग गरेर बालबालिकालाई धम्क्याउने समेतका काम भएका छन् ।
बेलायतकी गृह सचिव यिभेड कुपर भन्छिन्, “यो सबैभन्दा घिनलाग्दो काम हो । अरू देशले यसलाई रोक्न अहिलेसम्म केही गरेका छैनन् । तर सबैले यसलाई नियन्त्रणको प्रयास गर्नु हुनेछ भन्ने आशा छ ।”
कुपरले बीबीसीसँगको कुराकानीमा बेलायतमा प्रत्येक वर्ष पाँच लाखभन्दा बढी बालबालिका यौन दुर्व्यवहारमा पर्ने गरेको बताएकी छिन् । पछिल्लो समय यस सङ्ख्यालाई बढाउन अनलाइनले थप भूमिका खेलेको उनको भनाइ थियो ।
अनलाइन दुर्व्यवहार विरुद्ध काम गर्दै आएको बेलायतको गैरनाफामुखी संस्था इन्टरनेट वाच फाउन्डेसन (आईडब्लूएफ) ले एआईको प्रयोगबाट बालबालिकाको दुर्व्यवहार गर्ने काम बढेको भन्दै चेतावनी दिएको थियो ।
सन् २०२४ मा ३० दिनको समयमा एउटा डार्क साइटमा ३ हजार ५१२ ओटा बाल यौन दुर्व्यवहारका तस्विर एआईको प्रयोगबाट बनाइएको आईडब्लूएफले विश्लेषण गरेको थियो । हरेक वर्ष १० प्रतिशतका दरले यस्ता तस्विर बनाउने क्रम बढ्दै गरेको यसले पत्ता लगाएको थियो ।